जुम्लाको तिला गाउँपालिका पूर्ण खोप घोषित

जुम्ला । जुम्लाको तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ । गाउँपालिकाको नौवटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।
उनले भने, “तिला गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएका छौँ । पालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो छ । गाउँपालिकाभित्रका बालबालिका खोपबाट वञ्चित हुने छैनन् ।”
पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष योगीले बताए । उनका अनुसार घरघरमा पुगेर ज्येष्ठ नागरिकको र बालबालिकाको स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । भौगोलिक विकटता भएकाले पालिकाभित्र जम्मा पाँचवटा स्वास्थ्य चौकी मात्र रहेका छन् । महिलाहरु घरायसी काममा व्यस्त हुने हुँदा यसअघि बालबालिका खोप लगाउन छुट्ने गरेका थिए । अहिले पालिकामा चारवटा आधारभूत स्वास्थ्य केन्द्र र तीनवटा स्वास्थ्य एकाइ स्थापना हुँदा खोपबाट वञ्चित हुनु नपरेको गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बताइन् ।
“गाउँघरका चिकित्सक मानिने महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका खेलेका छन् । आगामी दिनमा पनि पालिकाका कुनै पनि बालबालिका खोपबाट वञ्चित हुने छैनन्”, बुढाले भनिन् । उनले स्वास्थ्य शाखाका जनशक्तिहरु परिचालन गरेर पूर्ण खोप सुनिश्चितता घोषणा गरेको बताइन् ।
खोप पाउनु नैसर्गिक अधिकार भएकाले जिल्लालाई नै पूर्ण खोप घोषणा गर्ने तयारी भएको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताए । कोरोनाको महामारीका बेला समेत खोप रोकिएको छैन । यहाँको पातारासी गाउँपालिका मात्र पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुन बाँकी रहेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।
यहाँका आठ स्थानीय तहमध्ये छ पालिका यसअघि नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् । तिला र पातारासी गाउँपालिका घोषणा हुन सकेका थिएनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयानुसार वडास्तरदेखि पालिका प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने परिपत्रअनुसार यहाँका सात स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । रासस
















मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया