बुधबार, वैशाख २३, २०८३

मनाङका पहिरो पीडितको समस्या तत्काल समाधान गर्न गृहमन्त्रीको निर्देशन

मेरोन्यूज २०७८ साउन ४ गते १९:०१

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मनाङको चामेमा गएको पहिरोबाट पीडितका समस्या समाधान गर्न सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

Advertisement
NiccNicc

गृहसचिव महेश्वर न्यौपाने, रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक अर्जुन थापा, उपरथी शरदलाल श्रेष्ठ, त्यहाँ काम गरिरहेका प्रमुख सेनानी (इञ्जिनियर) इन्दिवर गुरुङलाई आज मन्त्रालयमा बोलाएर उनले मनाङ पहिरोको समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

मनाङमा आएको पहिरोले मर्स्याङ्दी नदीबाट चामे जाने पुलमा रुख र झरपात अड्काएर नदीको बहाव अर्कोतिर पुर्याएको थियो । त्यसलाई खुलाउने र पहिलाकै अवस्थामा फर्काउने काम गर्न प्राविधिक समिति गठन गर्ने निर्णय पनि बैठकमा भएको छ ।

समितिले त्यो नदीमा अड्किएको झारपात कसरी हटाउने र पूर्ववत् अवस्थाका कसरी पठाउने भन्ने अध्ययन गरेर काम सुरु गर्नेछ । त्यस्तै गृहमन्त्री खाणले बेसीँसहरबाट चामेसम्म खाद्यान्न पुर्याउन नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्नसमेत निर्देशन दिएका छन् ।

‘मनाङबासीले बेसीँसहरसम्म खाद्यान्न पुर्याउने र त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरबाट चामेसम्म पुर्याउन मन्त्रीज्यूबाट निर्देशन भएको छ,’ बैठकमा सहभागी गृहमन्त्रीका नीजि सचिव नरेन्द्र केसीले भने ।

मनाङको पहिरो समस्याबारे पूर्वराज्यमन्त्री तथा मनाङ नेपाली कांग्रेसका सभापति टेकबहादुर गुरुङको नेतृत्वमा कांग्रेसका नेताहरूको टोलीले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो । त्यसपछि मन्त्री खाणले सम्बन्धित क्षेत्रका प्रमुखहरूलाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया