कोरोना महामारीका कारण आर्थिक अवस्था नाजुक बनेपछि आत्महत्याकाे प्रयास गर्ने बढे

काभ्रेपलाञ्चोक । डाँडापारि गाउँपालिकाका ४३ वर्षीय बारपाक तामाङ मादक पदार्थको लत बसेपछि दिनहुँ घरायसी झगडा गर्ने गर्थे । गत असार १० गते उनले ४० वर्षीया श्रीमती माइलीलाई समेत मादक पदार्थ सेवन गर्न आग्रह गरे पनि उनले मानिनन् । माइलीको इन्कारी पछि बारपाकले बारीको झार मार्नका लागि तयार पारेर राखेको विषादी खान्छु भन्दै कचौरामा खन्याए । उनकी श्रीमती र छोरीले सो विषादी खोसेर फ्याँकिदिए र उनीहरू आफ्नो काममा लागे तर बारपाकले पुनः विषादी ल्याई पानी पिएझैँ पिए ।
“हामीलाई त लागेकै थिएन उहाँले साँच्चै पिउनुहोला भनेर । त्यही भएर उहाँको कुरालाई गम्भीररूपमा लिएनौँ तर उहाँले पिउनुभएपछि हाम्रो त होसै उड्यो”, माइली भन्छिन्, “निषेधाज्ञाको समय भएकाले तत्काल अस्पताल लान नसक्दा उहाँको अवस्था सख्त भइसकेको थियो ।” उपचारमा ढिलाइ भएका कारण सबै आन्द्रा टाँसिएका थिए ।
चिकित्सकको १५दिनसम्मको अथक प्रयासका कारण बारपाक बाँच्न त सफल भए तर उनको शरीर पहिलेजस्तो सामान्य नहुने चिकित्सकको भनाइ छ । बारपाककी श्रीमती माइलीलाई अब एउटै चिन्ता छ, “तीन छोराछोरीको भविष्य अब कस्तो होला र घर खर्च कसरी चलाउने ?” बारपाकको उपचारका कारण ऋणको बोझ पनि थपिएको उनको गुनासो थियोे ।
उनीजस्तै जिल्लाका विभिन्न अस्पतालमा विष सेवनपछि अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढ्न थालेको छ । बनेपाको शिर मेमोरियल अस्पतालमा विष सेवनका कारण १० दिनदेखि उपचाररत ४६ वर्षीय रामकृष्ण भुजेलका परिवारको गुनासो पनि उस्तै छ । दैनिक ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका भुजेल निषेधाज्ञाका कारण रोजगारी नपाएपछि मानसिकरूपमा विक्षिप्त भए ।
आम्दानीको स्रोत नभएका कारण निरास हुनुभएका श्रीमानले विष सेवन गरेको अम्बिकाले बताइन् । भुजेलले विष सेवन गरेपछि आफ्नो आर्थिक स्थिति झनै नाजुक बनेको उनको भनाइ थियो । दोस्रो लहरको कारोना सङ्क्रमण बढेकाले निषेधाज्ञापछि विष सेवनका बिरामीको सङ्ख्या बढ्न थालेको अस्पतालका प्रमुख अन्जिला बस्नेतले बताइन् ।
उनका अनुसार निषेधाज्ञापूर्व विष सेवनका वार्षिक पाँचदेखि १० बिरामी भर्ना हुने गरेकामा हाल मासिक १५ बिरामी भर्ना भएका छन् । हालै अस्पतालमा विष सेवनपछि उपचाररत तीन बिरामीको मृत्यु भएको प्रमुख बस्नेतले बताइन् । “प्रायः कमजोर मानसिक अवस्था भएका व्यक्तिले नै विष सेवन गर्ने गरेका पाएका छौँ”, उनले भनिनन् ।
मानसिक समस्यालाई अन्य रोगजस्तै जटिलरूपमा नलिएसम्म त्यस्ता घटना नियन्त्रण हुन नसक्ने उनको भनाइ छ । भित्रभित्रै बेखुसी हुने, खान मन नलाग्ने, धेरै सोच्ने, रुन मन लाग्नेलगायत मानसिक समस्या देखिएमा तत्काल मनोपरामर्शदातासँग सल्लाह लिन प्रमुख बस्नेतले सुझाव दिइन् । रासस
















वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया