शुक्रबार, फागुन १, २०८२

कांग्रेस पदाधिकारी बैठक आजपनि बस्दै, क्रियाशील सदस्यता वितरणको विवाद पेचिलो

मेरोन्यूज २०७८ साउन ९ गते ८:०८

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशनका विषयमा छलफल गर्न पदाधिकारी बैठक आज पनि बोलाएको छ । बैठक बिहान ९ बजे बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्ने छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसअघि हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले क्रियाशील सदस्यताको विवाद तत्काल टुङ्ग्याउन निर्देशन दिएका थिए ।

आसन्न १४औं महधिवेशनका लागि क्रियाशील सदस्यता वितरणको विषय कांग्रेसलाई पेचिलो बनिरहेको छ । क्रियाशील सदस्यता विवरणमा संस्थापन र इतर पक्षबीच मनोमानी भएको भन्दै केही नेता कार्यकर्ता सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना बसेका छन् ।

सभापति देउवाले धर्नामा बसेका कार्यकर्ताको माग सम्वोधन गर्न पनि क्रियाशील सदस्यता छानविन समितिलाई निर्देशन दिएका थिए । उक्त समितिको नेतृत्व रमेश लेखकले गरेका छन् ।

आज बस्ने पदाधिकारी बैठकले महाधिवेशनको मिति हेरफेर नहुने गरी तल्लो तहका अधिवेशनको मिति सार्ने तयारी गरेको छ ।

क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनसमेत नआएकाले तत्लो तहका अधिवेशनको मिति तय गर्ने विषयमा आजको बैठकमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनले भने,‘क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै निर्वाचन समितिलाई सो बुझाउनुपर्ने हुन्छ । सो बुझाएपछि मात्रै तल्लो तहको पार्टीको अधिवेशन सुरु हुने भएकाले पदाधिकारी बैठकले त्यसको अधिवेशन मिति सार्ने विषयमा पनि टुंगो लगाउनेछ ।’

कांग्रेसले तय गरेको कार्यतालिका अनुसार यही साउन १२ गते वडा तहको अधिवेशन गर्नुपर्ने हुन्छ । संस्थापन र इतर पक्षबीच सहमति हुन नसक्दा कांग्रेसले महाधिवेशनमा सहभागि हुने क्रियाशील सदस्यता वितरणको विवाद नै टुङग्याउन नसकेको हो ।

कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदै छ ।

प्रतिक्रिया