कथा
शर्मिला दिज्यू !

लिखितमा त पहिलो नम्बरमै नाम निस्केछ । अन्तर्वार्तामा के हुने हो भन्ने भयले मलाई बिहान पत्रिकामा नाम देखे पछि नै सताउन थालेको छ । स्नातक पछिको मेरो दुई वर्ष जागिरको खोजी/तयारीमै बितेको छ । सानो बोर्डिङ स्कुलमा शिक्षकको तलबले सधै तत्काल अर्को जागिर खोज भन्थ्यो । लोकसेवाको परिक्षाले योग्य छैनस् भन्थ्यो । यस्तैमा बितेका तनावमय दिनले मलाई थप अध्ययनको लागि उर्जा भरेको त म बिर्सनै सक्दिन । गाँउमा गयो म संगैका साथी कतार, साउदी छिरेर धमाधम घर घडेरी जोड्न लागेको मात्रै सुनाउँथे । म भने पढ्ने र सरकारी जागिर खाने सोचले काठमाण्डौ मै कोच्चिएको थिए ।
बिहान-बेलुकी लोकसेवाको तयारी, दिउसो स्कुल अनि स्नातकोत्तरको पढाई पनि । मलाइ यसैले हुनसम्मको बेर्फुसदी बनाएको थियो । अझ बेला-बेलामा गाँउबाट उपचारको लागि आउने बिरामी छिमेकी, आफन्त, र बिदेश जाने आउने साथीभाई भेटघाट आदिले समय चोरेको चोर्यै हुन्थ्यो । यसबाट पटक्कै उम्कन सकेको थिइन । यता आफ्नो पढाई चौपट, उता स्कुलको पूर्वतयारी अनि कपि चेकिङ लगायतका काम त हुने नै भए । यसरी नै दिन बितिरहेको थियो । यस्तैमा आफुले भर्न मिल्ने जागिरको फर्म जतासुकै भरेको भर्यै थिए ।
अचानक एउटा सरकारी स्वामित्वको संस्थानमा लिखितमा नाम निस्किएको देखेपछि खुसि नहुने को होला ? भगवान पुकारे साथि भाई, पढाउने गुरुहरु सम्झे अनि आफ्नो मेहनत पनि सम्झे । अब चाहि मलाई लिखितमा मात्रै होइन, साँच्चिकैको त्यही कै हाकिम भएजस्तै अनुभव गर्न थाले । आगामि दिनका चित्रहरु कोर्न थाले इत्यादी ।
अन्तर्वार्ता बाँकी नै थियो, तैपनि बधाई तथा शुभ कामनाको ओईरो खाइएकै थियो । अझै अन्तर्वार्ताको लागि केही दिन बाँकी भएकोले पावर लगाउन मिल्ने ठाँउमा आफ्ना कोही चिनेजानको आफन्त, साथिभाई भैदिए कति आनन्द हुदो हो अथवा सम्भावनाको ग्राफ चुलिन्थ्यो की भन्ने अपेक्षाकृती बढ्दै गइरहेको थियो । सामान्य कृषक बुबा आमाको सन्तान त्यसमाथि सबै दाजुदिदी साक्षरमात्र, त्यही अनुसारको परिवेश भएको मान्छे म । टेक्ने र समाउने अथवा धकेल्ने र तान्ने मान्छे हुनेले कसैले आफुलाई उद्धार गरिदेला भनेर सोच्नु पनि तनाव निम्ताउनु रहेछ । आफ्नो परिवेशमा ठुला बडाको साथ कमि रहेको सम्झदा पनि आफु कमजोर महशुस हुने रैछ ।
जाडोको समय थियो, घरबाट ल्याएको गुन्द्रुक, मस्यौरामा ढुसि लाग्न आँटेछ । घाममा सुकाउदै थिए । अचानक पूर्व घरबेटी दिज्यूको याद आयो । हाम्री आमाले पठाएको मस्यौरा खुब मन पराउनु हुन्थ्यो । यसरी उहाँले मन पराएको थाहा पाएर आमाले सधै उहाँको लागि अलग्गै मस्यौराको पोको पठाइदिनुहुन्थ्यो । उहाँको त्यो घरमा बसिन्ज्याल मस्यौरामा ढुसि कहिल्यै लाग्नै पाएन । अैलेका घरबेटी त च्यानल गेट घ्वार्र पारेर निस्कन्छन, त्यसैगरी गेट बन्द गरी बस्छन्, राम्रो संग बाृलचाल पनि हुन्न । खुब सम्झे त्यो पुरानो भाडावाल घरलाई ।
घर अलि पुरानो भयो , भत्काएर नयाँ बनाउनृ भनेपछि सरेको यस्तो घरमा परियो । न पानि राम्रो छ, न छिमेकीको बानि । मनमा अनेक तर्कनाले ठाँउ पाए । अचानक ती घरबेटी त त्यै संथानकी जागिरे भएको बल्ल पो सम्झे । उनलाई भेट्न पाए त भोली नै जागिर पक्का होला की झै भयो । घडी हेरे साढे एक भएको रैछ । यसबेला त उनि अफिसमै होलिन घर फर्कने बेलामा आजै गएर भेटिहाल्छु । कति बेला साढे चार बज्ला भनेर धेरै चोटी घडी हेरे । अनि चार बजे तिर हान्निए आफ्नो पूर्व कोठा अर्थात शर्मिला दिज्यूको घर तिर ।
उनको शान, अफिस निस्कने बेलामा गाडि पुछेर टलक्क पार्दै उभिने ड्राईभर । अफिस ल्याउने पुरयाउने एउटा स्टाण्डवाई गाडि । फेरी फेरी लगाउने पहिरन, ती संग सुहाउने घडी, जुत्ता, साते व्याग र पस्मिना सल आदीका सेट । क्या गजबको ड्रिम लाईफ ।
उनलाई भेटेर मात्रै मैले आफ्नो लागि जागिरमा छिर्नको लागि निश्चिन्तता हुन्छ भन्ने ठाने । त्यतिका वर्ष उनको घरमा डेरावाल भैरहदा कहिल्यै पनि उनले आफ्नो पद खुलाईनन् । हुन त मैले पनि सोधेको थिइन । उनले फलानो अफिसको फलानो शाखामा काम गर्छु भनेको मात्रै याद छ । घरबेटी दाई अर्थात उनका श्रीमानको व्यसाय पनि निकै राम्रो छ । यस्तो महङ्गीमा पनि चारै कुना छोडेर तरकारी लगाउने जग्गा भएको घर । त्यसलाई मलजल गर्न आउने स्थायी माली । भात भान्सामा पनि सघाउ गर्नलाई सहयोगि । दुई जना छोरा छोरी सहित सानो परिवार, सुन्दर परिवार । त्यही सुन्दर परिवार संगको बसाईमा मेरो पनि शैक्षिक पाईलो अगाडि बढ्यो ।
टिङ्ङ टिङ्ङ दुई चोटि डोरबेल बजाएको उनै दिज्यू माथि बरण्डामा देखिइन । सदा झै आफ्नो मुस्कान हेर्दै “अहो ……सुरेश भाई । ल.. ल …आउ ।” एकैछिनमा आएर गेट खुल्यो । म भित्रै डाकिए । घरमा आध्या, ओजश्वी, बिना अनि घरबेटी दाजु सबै रहेछन् । सबैले म त्यहाँ गएको चाख गरे । “ ल अब हाम्रो नयाँ घर रेडी हुदैछ, अब तल आउ भाई अनि फेरी संगै बसौला । …. अँ अब यौटा कोठा हैन । अलि राम्रो जागिर खाने, बिहे गर्ने अनि फल्याटै लिने ।” दिज्यूले जिस्किदै भनिन् ।
मलाई पनि आफ्नो कुरा राख्न सजिलो भयो । मैले “ हो दिज्यू, अब हजुरकै अफिसमै नाम निस्केको छ लिखितमा । कहाँ गएर कसलाई भन्नुपर्ने हो । मेरो भनिदिने मान्छे तपाई मात्रै हो । जागिर भएपछि बिहे त गरौला नि ” भने ।
“ए हो ? ल राम्रो भयो । अफिसमा मैले भन्न सक्ने जतिलाई म भनिदिउँला । तिमी चिन्तै लिनु पर्दैन ।” उनका एक एक बोलीले मलाई धेरै ढाडस र आत्मबल दियो । एकछिनमा खाजा लिएर बिना आईपुगि । सानै देखि उ यहि घरको छाँयामा हुर्केकीले बिना टुहुरी केटि जस्ती कहिल्यै पनि देखिइन । मलाई सधै आफ्नी बैनि हो झै लाग्थ्यो यहाँ रहदा बस्दा । आज दिउँसो देखि क्यै नखाएको म भोक बेसरी लागेको रै छ भन्दै थपि थपि रोटि तरकारी खुवाई उसले । बैनी न हो । उनै दिज्यू लाई पुःन जागिरको लागि भनसुन गरीदिनु भन्ने आग्रह गर्दै म बिदावारी भएँ ।
केहि दिन पछि अन्तर्वार्ताको दिन पनि आयो । लिखितमा नाम निस्केपछि दुई चार मन्दिरको दर्शन, केही ज्योतिषिद्दारा आफ्नो भाग्य परिक्षण पनि गरियो । आमा बुवाको आर्शिवाद, साथिभाईको हौसला, अनि मेरै मेहनत भित्राउने समय आएको थियो । म तोकिएको समयमा औपचारिक रुपमा अन्तर्वार्ताको लागि प्रस्तुत भए । जाने सम्मको जुरीले सोधेका प्रश्नहरुलाई समाधान गरेको थिए ।
पर्सिपल्टै रिजल्ट निस्कियो, तर मेरो नाम निस्किएन । यसपलि साह्रै निराश भए म । एक हिसाबले नाम निस्किएमा अब उर्पान्त नआउने गरी स्कुल बाट अनौपचारिक रुपमा बिदा भैसकेको थिए । यता नामै निस्किएन । ज्यादै निराश भएको त्यो रात मैले जीवनमा साह्रै नराम्रो मान्ने काम गरे, दुई खिल्ली चुरोट पिए । बेलुकी खाना खान मन लागेन, त्यसै सुते । निद्रा त लागे पो । कुरा मात्रै खेले मनभरी । कालो बादललाई पनि सेतो चाँदीको घेराले घेरेको हुन्छ भनेझै आफैले आफैलाई सम्झाए । जे होस मेरो मेहनत पुगेन । अझ बढी अध्धयन गरे भने अवश्य निश्कन्छ । आदि ईत्यादी । उर्जावान विचार मनमा एकाएक पसेर बिहानपख मनलाई शान्त पारे । जिउमा फुर्ती बढ्यो । फेरी रेगुलर दैनिकीमा फर्किए ।
बिहान बिहान लोकसेवाको तयारी कायमै थियो, दिउँसो स्कुल, फेरी साझ देखि अबेर रातसम्म लोक सेवाको तयारीमा तल्लिन हुन थाले ।आजकल मोबाइलमा आएको कलहरु पनि मुस्किलले उठ्थे, कल व्याक गर्ने त चलनै हटाईदिए । अनावश्यक फोन कलले मेरो स्वः अध्ध्यनमा बाधा पुर्याउने भएको आजकल निकै कम मात्रै फेनकल उठाउछु । यस्तैमा बजेको कलले मेरो सारा खुसी फर्काइदिए झै भयो । अन्तर्वार्तामा फालिएको करीब ५ महिना पछि सोहि ठाउबाट फोन आयो । यसपटक स्थायी नियुत्ती लिएको एकजनाले जागिर छोडेपछि वैकल्पिकमा परेका उम्मेदवारको रुपमा मेरो नाम छनोट भएको खबर पाउदा खुसिले उर्फन मात्रै सकिन ।
तुरुन्त घरमा बुवालाई फोन गरेर अव भने जागिर पक्का भएको सुनाए । “ फेरी अन्तिममा केसैमा फाल्दिने काम त हुन्ननी छोरा ?”बुबाको बुझाई ठिकै थियो । “अब नपर्ला बुवा भनेर सम्झाए । ” “ए हो ? ल हाम्रो आशिर्वाद लाग्यो ….सधै यस्तै कुरा सुन्न पाईयोस ” भन्दै बुवाको फोन काटियो । भोलि नै सर्टिफिकेट दाखिला गर्न आउनु भनेका छन् ।
भोलिपल्ट अफिसमा गए । आवश्यक कागजपत्र छोडि नियुक्ति पत्र बुझे । यति भएपछि म ढुक्क भए । पदस्थापन पनि सोही पत्रमा लेखिएको थियो । यस अफिसको केन्द्रिय कार्यालय, व्यवस्थापन शाखा । तत्कालै बाट लागु हुने भनेपछि म पुनः व्यवस्थापन शाखामा हाजिर हुन गए । प्रवन्धक गोकुल सरले “ भोली देखि यस्तो जिन्स पाईन्ट हेैन अफिसको औपचारिक पोसाक लगाएर आउनुहोला भन्दै मेरो कार्यकक्ष देखाउनुभयो । भोलीबाट औपचारिक रुपमा अफिस आउने गरी कोठामा फर्किए ।
यसरी जिन्दगीमा पहिलोपल्ट स्थायी अधिकृतको रुपमा कार्यालय प्रवेश गरे । एकछिन शाखाका सबै जम्मा भएर परिचय आदान प्रदान गरियो । परिचयको अन्तमा एकजना अधबैशे उमेरकी महिलाले हातमा चियाको ट्रे बोकेर आइन् । मेरो नजिकै नजिकै आएर “ सर नमस्कार । अनि हार्दिक बधाई ।” कम्प्युटरको स्क्रिन हटाउदै उनि तर्फ हेरेको म त हेरेको हेर्यै भए । ती महिला अरु कोहि नभएर मेरो पुर्व घरबेटी अर्थात शर्मिला दिज्यू थिइन् । जो “चिया सेलाउला नी ।” भनेर फर्किन ।
ओहो ! जसको ठाँटबाट र शानले गर्दा यो अफिसमा छिर्ने सपना सजाएको थिए । उनि त यहाँ चिया बोकेर पो !
(सुवेदी नेपाल वायु सेवा निगममा कार्यरत छिन् ।)
















Death toll rises to 52 in S. Philippines ferry sinking incident
एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
Abuse of authority is a serious challenge on state’s legitimacy, social justice: President Paudel
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
प्रतिक्रिया