शनिबार, माघ ५, २०८१

नेपाली सेनामा क्रमभंग गर्ने प्रभुराम शर्मा को हुन् ?

के–के छन् चुनौती ?

दया दुदराज २०७८ साउन १४ गते १७:४०


काठमाडौं । नेपाली सेनाका प्रधानसेनापती पुर्ण चन्द्र थापाले आफ्नो कार्यकालको १ हजार दिन पुगेको अवसरमा २३ जेठमा पत्रकार सम्मेलनमा गर्दै नेतृत्व हस्तान्तरण थालेको घोषणा गरेका थिए । थापाले आफु पछिको नेपाली सेनाको कमाण्ड बालाधिकृत रथी प्रभुराम शर्माले गर्ने बताएका थिए । थापाको सिफारिसमा नै बालाधिकृत रथी शर्मालाई २६ साउनदेखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय सरकारले गरिसकेको छ ।

Advertisement


१२ साउन (मंगलबार) मा बसेको मन्त्रिपरिषद्को बैठकले बालाधिकृत रथी प्रभुराम शर्मालाई २६ साउनदेखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रुपमा नेतृत्व लिँदैछन् । शर्मा नेपाली सेनाको इतिहासमा पहिलो पटक ब्राह्मण समुदायबाट प्रधानसेनापति हुन लागेका हुन् ।


ऐनअनुसार सेनाप्रमुखको तीन वर्षे पदावधि पूरा गरेर प्रधानसेनापति थापा २४ भदौमा अनिवार्य निवृत्त हुनेछन् । आगामी २६ साउनमा प्रधानसेनापति पूर्णचन्द्र थापाबाट औपचारिक रुपमै उनका उत्तराधिकारीमा हस्तान्तरण हुँदैछ । निवृत्त हुनु एक महिनाअघिबाट प्रधानसेनापति बिदामा बस्ने प्रचलन छ । थापा बिदामा बसेपछि प्रभुरामले सेनाको कमाण्ड सम्हाल्ने भएका हुन् ।


को हुन् प्रभुराम शर्मा ?
शर्मा नेपाली सेनाभित्र भलादमी र मिलनसार जर्नेलका रुपमा परिचित छन् । उनको जन्म २०२० पुस २१ मा काठमाडौँमा भएको हो । शर्मा पूरानो गोरख गणबाट सैनिक अधिकृतका रुपमा सेना प्रवेश गरेका थिए । ३७ वर्ष लामो सैनिक सेवामा उनले गुल्म, गण, बाहिनी र पृतनामा काम गरेका छन् । जंगीअड्डामा सैनिक सचिव, भर्ना छनौट, नीति तथा योजना, सह–बलाध्यक्ष, युद्धकार्य, सम्भाररथी, बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालेको अनुभवले उनलाई परिपक्व बनाएको छ । त्यसैगरी, पृतनापतिका रुपमा भने उनले हेटौडमा कमाण्ड सम्हालेका थिए ।

२० बेसिकका सैनिक अधिकृत शर्मा अमेरिकाको नियर इस्ट साउथ एसिया सेन्टर (नेसा) र एसिया प्यासिफिक सेन्टर फर सेक्युरिटी स्टडिज (एपीसीएसएस)ले संचालन गरेको विभिन्न सेमिनार र कोर्समा सहभागी भएका छन् । त्यसका साथै थाइल्याण्ड तथा पाकिस्तानबाट उनले प्रतिरक्षा सम्बन्धी तालिमसमेत हासिल गरेका छन् । उनी बंगलादेशका सैन्य सहचारी समेत थिए  ।

उनि पुर्णचन्द्र थापा जस्ता पब्लिक फिगर त होईनन् तर उनलाइ ‘म्यान इन एक्सन’ टाईपको व्यक्तिका रुपमा मानिन्छ । उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका छन् भने भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) को तालिम र अमेरिकामा पनि सैन्य शिक्षा हासिल गरेका अधिकारी हुन् । उनी सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भइसकेका छन् ।

उनि आफ्ना सहकर्मीहरुसँग घुलमिल हुने र सिपाहीहरुसँग समेत सौहार्दरुपमा प्रस्तुत हुने स्वभावको रहेको एक सैनिक अधिकारीले जानकारी दिए । सरल स्वभाव भएका शर्मा वौद्धिक हिसावले पनि अब्बल मानिन्छ । शर्माले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका क्रममा पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गरेका छन् ।


शर्मा भारतमा भएको नेपाल भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी भएका थिए । उनले सेनापतिमा नियुक्त हुनुभन्दा पहिला नै सेनामा बनाएको टिमले भावि सेनापति शर्माले केही राम्रो काम गर्न सक्छन् भन्ने आशा गर्न सकिन्छ ।


के-के छन् चुनौती ?


मिसन २०३० को भिजन लिएर अगाडी बढेका हालका प्रधानसेनापति थापाको कार्यकालमा केही सवल पक्षहरु भएता पनि उनी विवादमा नतानिएका भने होइनन् । कोरोना भाइरस विरुद्धको खोप खरिदमा हात हालेको नेपाली सेना विवादमा तानिएको थियो । तर नेपाली सेनाले पछि खोप खरिद प्रक्रियाबाट हात झिकेको थियो । साथै तात्कालिन रक्षामन्त्रीसँगको चुलिदो विवादका कारण समेत नेपाली सेना विवादमा तानिएको थियो । सेनासँगको विवादकै कारण तत्कालिन रक्षामन्त्री इश्वर पोखरेललको जिम्मेवारी अन्यत्र सरेको थियो । जसका कारण शर्माका अगाडि बदलिएको परिस्थितीमा राजनीतिक नेतृत्वसंगको सम्बन्ध समधुर बनाएर अगाडि बढाउनुपर्ने चुनौती छ ।

काठमाडौं-तराई् मधेश द्रुतमार्गमा प्रधानसेनापति थापाले आफ्ना नातेदारको दबावमा प्रतिस्पर्धा बिना नै चिनियां कम्पनीलाई ठेक्का दिएको आरोप छ । द्रुतमार्गमा थापाले राम्रो फाइदा लिएको बताइन्छ । यद्यपि यस विषयमा पुष्टि भने भएको छैन । थापाले आफ्नो कार्यकालमा द्रुतमार्ग परियोजना पूरा गर्ने घोषणा गरेपनि खासै उपलब्धी हासिल गर्न सकेनन् । विवादमा रहेको राष्ट्रिय गौरवको परियोजनालाई शर्माले कसरी अगाढी बढाउछन् ? जनचासोको विषय बनेको छ ।

सैनिक संगठनभित्र सुशासनका नाममा सेनापतिले गरेका जथाभावी कारवाहीले सेनाभित्र काम गर्ने वातावरण बिग्रिएको छ । त्यसले सेनाको आन्तरिक एकतामा समेत असर पुग्ने काम भएको सेनाकै केही अधिकारीहरुले बताउदै आएका छन् । सेनाभित्र विग्रिएको काम गर्ने वातावरणलाई शर्माले कसरी नियन्त्रणमा ल्याउँछन् भन्ने विषयप्रति समेत सबैको चासो रहेको छ ।

त्यसका साथै सेनामा यतिबेला धेरैपछि पूरै संगठनको पुर्नसंरचना भएको छ । त्यसमा ठूलो टिमवर्कको आवश्यकता पर्नेछ । जनशक्ति र पूर्वाधार व्यवस्थापन गर्ने मुख्य चुनौती नयां प्रधानसेनापति शर्मालाई छ । तर, पुरानो गोरख गण पृष्ठभूमी भएका शर्मालाई भूपुहरुबाट भने पूरै सहयोग हुने अपेक्षा गरिएको छ । उनलाई अवकासप्राप्त धेरै प्रधानसेनापतिहरुको साथ हुने सेनाका एक जर्नेलले बताए । यसले पनि उनलाई काम गर्न सजिलो हुने देखिन्छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले पदावधि थप्न खोजेको चर्चा चलेपनि अन्तिममा उनले समयभन्दा केही पहिला नै सेनाका बलाधिकृत रथी प्रभुराम शर्माको नाम प्रधानसेनापतिमा सिफारिस गरे । यसले सेनामा एउटा राम्रो परम्पराको सुरुवात समेत भएको छ भने थापामाथि लागेका आरोपसमेत खारेज गरेको छ ।

यसअघि सेनामा शर्मालाई रोक्न अनेक खेल भने नभएका होइनन् । तर, अन्तिममा प्रधानसेनापति थापाले उनलाई नै प्रधानसेनापतिमा सिफारिस गरेर सेनापतिको नियुक्तिलाई विवादरहित बनाए । शर्मा उपरथी हुंदा समेत उनको पदावधि थप गरिएको थियो । त्यो बेला पनि उनलाई रोक्न प्रयास भएका थिए ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया