शनिबार, माघ १२, २०८१

झन कचल्टियो एमाले विवाद

के ओली-नेपाल मिल्नै नसक्ने अवस्थामा पुगेका हुन् ?

एमालेका दोस्रो तहका नेता विवाद मिलाउन अनेक प्रयासमा जुट्दै गर्दा केपी ओली र माधव नेपालले एक अर्काप्रति कटाक्ष गर्दै जुहारी गर्न छोडेका छैनन्

मेरोन्यूज २०७८ साउन १६ गते २१:१५

काठमाडौँ । आन्तरिक विवाद रुमलिएको नेकपा एमालेभित्र दुई नेताका आफ्नै टकरावले पार्टी र संगठन ध्वस्त हुने भएको छ । एमाले–माओवादी एकीकरण र त्यसपछि बनेको नेकपामा अलग–अलग समीकरणले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको टकराव बढ्दै जाँदा एमालेको पार्टी र संगठन ध्वस्त हुन लागेको हो ।

Advertisement

‘उहाँहरूको व्यक्तिगत टकरावका कारण संगठन विस्तार र निर्माण दुवै हुन सकेको छैन, संगठन नभएपछि पार्टी नै ध्वस्त हुने अवस्थामा पुगको छ’, एमालेका एक स्थायी कमिटी सदस्यले भने ।

सर्वोच्च अदालतले २३ फागुन २०७७ ले एमाले र माओवादी अलग बनाउँदा नेकपा हुँदैको असरले एमाले गम्भीर संकटमा परेको छ । पछिल्लोपटक केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाएर पार्टी एकता गर्ने प्रस्तावअघि सारे पनि त्यो सम्भावना कमजोर बन्दै गएको छ । नेपाल पक्षका नेतासमेत दोस्रो अध्यक्षमा लिएर जानु पर्नेमा सहमत हुँदै गर्दा नेपालले त्यसलाई अस्वीकार गरेर अध्यक्ष मण्डल निर्माण वा झलनाथ खनाललाई दोस्रो अध्यक्षको रुपमा प्रस्ताव गरे ।

पार्टी एकताकै पक्षमा रहने बताउँदै आएका वरिष्ठ नेता नेपालले ओलीको त्यो प्रस्ताव अस्वीकार गर्नुमा धेरै कारण रहेको एमाले नेताहरु बताउँछन् । अहिलेको अवस्थामा ओलीको प्रस्ताव स्वीकार गरेर गए पनि ओलीले नै संगठनमा पकड जमाउने र आफू निकटलाई पेलेर भित्तामा पुर्याउने छन् भन्ने भय नेपाललाई छ । यसबाट ओलीप्रति नेपाल विश्वस्थ हुन सकेका छैनन् । अहिले ओलीको प्रस्तावमा मात्र होइन एउटा शब्दमा विश्वास गर्ने अवस्थामा नपुगेपछि पछिल्लोपटक पार्टी एकताका जति रटान गरे पनि संवाद हुन नसक्नु यही कारण रहेको हो ।

ओलीको प्रस्तावप्रति विश्वास गर्ने आधार छैन । उनले पदलोलुप देखाउन खोजिरहेका छन् भन्ने नेपालको बुझाई रहेको छ । ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । म चाहिँ जान्न । तर, प्रशासनिक र राजनीतिक अधिकारसहितको अध्यक्ष भएर जानुस्,’ नेपालले आफू निकट नेताहरूसँग भनेका छन्, ’साँचो अर्थमा ओली ‘पावर सेयरिङ’का लागि तयार हुन सक्दैनन् मलाई पटक्कै विश्वास छैन ।’

नेपालको बुझाईंमा ओली राजनीतिक तिकडममा माहिर छन् । स्वार्थ पूरा गर्न ओली जस्तोसुकै सम्झौता गर्न तयार हुन्छन् । तर, स्वार्थ पूरा गरेपछि वास्तै नगर्ने ओलीको पुरानै बानी हो । चार दशक लामो संगतमा नेपालले ओलीबारे बुझेको यो नै हो । र, दोस्रो अध्यक्षको प्रस्ताव पनि ओलीले तत्कालिन स्वार्थ पूरा गर्न अघि सारेका हुन् भन्ने उनको बुझाई रहेको छ ।

अहिले पार्टी एकताको विषय चलिरहेको भए पनि नेपालले पाँच दलीय गठबन्धन छाडेका छैनन् । परिस्थिति मिले छिट्टै सरकारमा सहभागी हुनपर्छ भन्ने दबाबमा छन् । पहिलो चरणमा नेपाल समूहलाई त्यो समूहबाट अलग्याउने ओलीको प्रयास अहिलेको चतुर्याई हुनसक्ने नेपालको बुझाई छ । गठबन्धनबाट अलग्याएर ल्याउन सके पार्टीमा ल्याएर ठेगान लगाउने ओलीको योजना रहेको नेपाल पक्षको विश्लेषण छ ।

एक साताभर नेपाल पक्षले आफू निकटका नेता कार्यकर्ताहरुसँग गरेको छलफलबाट के स्पष्ट हुन्छ भने ओलीले लोभ्याएको लोभमा नेपाल त्यति चाडै लोभिनेवाला छैनन् । स्थायी कमिटी सदस्यहरूको बैठकमा नेपालले आफूहरू लोभिन नहुने बजेट फेल गराएर सरकार असफल बनाउने दिशमा ओली लागेका छन् भनेका थिए । ‘पाँच दलीय गठबन्धनबाट हामीलाई अलग्याएर यो सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाउने, बजेट असफल बनाएर देउवालाई चुनावमा जान बाध्य बनाउने, चुनावमा जाने भएपछि हामीलाई एमालेभित्र टिकट बाँडफाँटको क्रममा बिचल्ली पारिदिने । यही होइन केपीले चाहेको ?’ उनले भनेका थिए ।

नेपालको आशंका वा सम्भावनाका आधारमा भन्दा पनि उनले विगत सम्झेर त्यसो भनेका थिए । ओली शक्तिमा आएपछि नेपाल समूहले खेप्दै आएको सबैभन्दा ठूलो पीडा नै ‘पावर सेयरिङ’ नै हो । ओली पार्टी र सरकारमा रहँदासम्म नेपाल समूहले साच्चिकै पीडाबोध गरेको थियो । वर्तमान संसदमा नेपाल समूहका सांसद कम हुनुको कारण नेपाल समूहका नेता कमजोर भएर नभइँ टिकट नदिएर हो भन्ने विश्लेषण गर्दै आएका छन् । प्रदेश र स्थानीय सरकारमा समेत अवस्था यस्तै छ । एमाले हुँदा मात्र होइन, नेकपा माओवादीसँगको एकतापछि प्रचण्डलाई साथमा लिएर ओलीले नेपाल समूहलाई प्रतिबन्ध नै लगाएका थिए ।

त्यतिबेला ओलीले टिकट बाँडफाँटमा मात्र होइन । राजनीतिक नियुक्तिदेखि संवैधानिक निकायमा समेत नेपाल समूहका एक जनालाई नियुक्ति दिएनन् । त्यसैले ‘पावर सेयरिङ’बारे ओलीको प्रस्ताव नेपालले अस्वीकार गरेका हुन् । नेपाल समूहले लामो समयदेखि पार्टीमा उठाउँदै आएको प्रश्न हो– विधि र पद्धति ।

अध्यक्ष ओलीले पार्टीको विधानविपरीत गतिविधि गरेको भन्दै माओवादीसँग एकता नहुँदैदेखि माधव समूहले विरोध गर्दै आएको थियो । ओलीले दोस्रो अध्यक्ष प्रस्ताव गर्दा पनि नेपालले पार्टी विधानकै कुरा उठाएका छन् । ओलीले अध्यक्ष प्रस्ताव गरेपछि नेपालले हाम्रो पार्टीको विधानले दुई अध्यक्षको व्यवस्था गरेको छैन भनेका थिए । नेपालको बुझाईमा मात्र होइन विधान त ओलीको प्रस्ताव अवैधानिक हो । विधान विपरीत हुने कुनै पनि विषयमा सहमत हुन सकिँदैन भन्दै आएका छन् । पार्टी एक भएर विधान संशोधन गरे बेग्लै कुरा हो । नत्र अवैधानिक गतिविधिका लागि तयार हुन सक्दिन भन्दै आएका छन् ।

आफ्नै समूहबाट अप्ठेरोमा

यतिबेला माधव नेपाल अब निर्णायक मोडमा पुगेका छन् । उनले सोमबारको बैठकमा ‘एक हप्ता’ भनेका थिए । त्यो एक हप्ता पूरा हुँदैछ । ‘पावर सेयरिङ’मा बराबरको अवस्था बन्यो भने एक हुने सम्भावना हुन्छ । त्योभन्दा अरू विकल्प छैन । त्यसका लागि ओलीलाई ‘एक हप्ताको समय’ भनेका थिए । तर ओलीले एक हप्ताअघि शुक्रबारकै अल्टिमेटम दिए । तर, पनि अहिलेसम्म कुनै सम्भावना देखिएको छैन ।

तर शनिबार ओलीले आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात गरेको दाबी गर्दै ओलीले त्यसो गर्न भूमिका खेल्ने, फ्लोर क्रस गर्ने सांसदहरूलाई ठाउँ नभएको बताएका थिए । बाटो बिराएका एमाले नेताहरू जो माधवकुमार नेपालको पक्षमा रहेका छन् । उनीहरूलाई पार्टीमा ठाउँ भएको तर नेपाललाई भने कुनै ठाउँ नभएको ओलीले बताए । ‘माधव नेपाल जस्ता आन्दोलन विरोधीहरूलाई कुनै ठाउँ छैन’ ओलीले भने ।

शनिबार नै माधव नेपालले पनि ओलीलाई लक्षित गर्दै घमण्डी जोकोहीको अन्त्य भएको बताएका थिए । ’तपाईहरूले घमण्ड नपाल्नुहोस्, घमण्डले मै हुँ भन्नेहरूको पनि दुःखद् अन्त्य भएका छन्, यस्ता धेरै इतिहासहरू रहेका छन्,’ आफू पक्षका अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘आफ्नो सिद्धान्त र वामपन्थीको विश्वासमार्फत सही बाटोमा अघि बढ्नुहोस्, जनताको मन जित्ने काम गर्नुहोस् ।’

पछिल्लो समय माधवले पार्टीका सबै निर्णय प्रकृयामा आफ्नो हस्ताक्षर अनिवार्य हुनु पर्ने शर्तअघि सारेका छन् । त्यो बिन्दुबाट एकताका लागि पहल गर्न सकिन्छ भन्ने उनको धारणा हो । तर, ओली त्यसका लागि तयार देखिएनन् ।

बारम्बार माधवबाहेक मात्र एकता गर्ने भन्दै आएका छन् । त्यसैले माधव अब यसरी नै अलमल गरेर नबस्ने मुडमा पुगेका छन् । बुधबार आफ्ना समूहका २२ सांसदले समेत यसरी अलमलमा नबसौँ भनेपछि माधव ‘बोल्ड डिसिजन’को अवस्थामा पुगेका भए पनि तत्कालै सरकारमा नजाने अवस्थमा पुगेका छन् ।

पार्टी एकीकरणको अभियानमा रहेका एमालेका नेपाल दोधारमा रहेका छन् । पार्टी अध्यक्ष ओलीले बराबरी अधिकारसहितको दोस्रो अध्यक्ष प्रस्ताव गरिरहेको तथा शेरबहादुर देउवा नेतृत्वको सत्ताधारी गठबन्धनले मन्त्रीसहित पर्खिरहेका कारण मात्र होइन आफ्नै समूहमा विभाजनमा आउँदा पनि अप्ठेरोमा परेका हुन् । सत्ताधारी गठबन्धनले अझै पनि केही समय पर्खने अवस्था रहेपछि आफ्नै सांसदहरुले सरकारमा जानुपर्ने बताउदै आएका छन् ।

तर एमाले विवाद समाधान समितिको कार्यदलमा रहेका नेताहरुले पार्टी एकतालाई जोगाउन कसरत गरिरहेका छन् । ‘माधव नेपाल निकै अप्ठेरो अवस्थामा हुनहुन्छ, पार्टी एकता कायम राख्ने कि सांसदहरुले भने अनुसार सरकारमा जाने, सरकारमा जाँदा पार्टी विभाजन हुने तथा पार्टी विभाजन नभई सरकारमा जान नसकिने भएकाले पनि उहाँ अप्ठेरोमा पर्नु भएको हो’, उनी निकट स्रोतले भन्यो ।

आफ्नै समुहभित्रका दायाँ बायाँ हात भनिएकै नेताहरुले धोका दिए पनि एक्लै चट्टानी अडानमा रहेका नेपाललाई आफ्नै समूह विभाजित हुँदा अप्ठेरोमा परेको उनी निकट नेताको दाबी छ । सरकारमा जान आफ्नै सांसद र सत्ता गठबन्धनको दलहरूको दबाब छ । पार्टी विवाद कायमै रहेका कारण कार्यदलमा रहेका प्रभावशाली नेताहरुको पनि उनलाई उत्तिकै दबाब रहेको हो । नेपालसहितको एमालेकै २२ सांसदको साथ अहिलेको कांग्रेस नेतृत्वको सरकारलाई दिइएको थियो ।

सत्ताको सहयात्री दल कांग्रेस र माओवादी दुवैले नेपाल समूहलाई सरकारमा आउन बारम्बार आग्रह गरिरहेका छन् । नेपाल समूहका २२ सांसदहरूमध्येको अधिकांशको जोड पनि सरकारमा जानुपर्छ भन्ने रहेको छ । तर नेपाल त्यसरी सरकारमा जाँदा ओलीले कारबाही गरिहाल्छन र सांसदको पद खाईदिन्छन, त्रास रहेका कारण तत्काल सरकारमा जान अप्ठेरो पर्दा तत्कालै सरकारमा नजाने तर नियुक्तिमा भने अधिकतम लाभ लिने उनको उद्देश्य रहेको छ ।

पार्टीभित्र एकता प्रक्रिया चलिरहेको र अझै ओलीका लागि एकतामा नेतृत्व सम्बन्धी तीन बुँदे विकल्पअगाडि सारेका नेपाल नयाँ पार्टी गठनकै प्रक्रियामा छन् । तर, पनि उनको ३ बुँदे विकल्पमा कतै एमालेभित्रै सहमति बन्छ भने किन हत्तारिने भन्नेमा पनि नेपाल छन् ।

नेपालले आफ्नै समूहका भीम रावल र ओली समूहका सुवास नेम्वाङ र विष्णु पौडेल सामु यो बीचमा आफू ओलीलाई अध्यक्ष मानेर एमालेमा नफर्किने बताएको कार्यदलका सदस्यहरुको शनिबार बसेको छलफलमा नेताहरुले बताएका थिए । नेपालले अर्को अध्यक्ष पनि आफू नबन्ने प्रष्ट पारेको भन्दै अब एमालेभित्रको एकता झन कचल्टिएको बताउन थालेका छन् ।

प्रतिक्रिया