किन ढिलो भइरहेको छ मन्त्रिपरिषद् विस्तार ?
सरकारमा उपप्रधानमन्त्री नबनाउने दाउमा देउवा देखिएका छन्, तर उनकै पार्टी कांग्रेस देखि माओवादी र जसपाले उपप्रधानमन्त्री माग गरिरहेका छन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको २० दिन पुगेको छ । तर, उनले यो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
सर्वोच्च अदालतले गत असार २८ गते देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश दिएको थियो । त्यसको भोलिपल्ट अर्थात् असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिन् ।
पाँच दलको गठबन्धनबाट देउवा पाँचौ पटक प्रधानमन्त्री भए । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धनको साथमा देउवा प्रधानमन्त्री भएका हुन् । प्रतिनिधि सभाका १४६ सांसदको समर्थनमा प्रधानमन्त्री भएका देउवाले विश्वासको मत लिँदा १६५ मत प्राप्त गरेका थिए ।
उनले मन्त्रिपरिषद् विस्तार गर्नुभन्दा अगाडि विश्वासको मत लिए । देउवा प्रधानमन्त्री भएको १ महिना पुग्न लाग्दै गर्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । उनलाई मन्त्रिपरिषद् विस्तार गर्न निकै कठिन भएको छ । सत्तापक्षीय गठबन्धनमा भागभण्डा र पार्टीमा मन्त्रीको आकांक्षी धेरै भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताइएको छ ।
मन्त्रिपरिषद् विस्तारका विषयमा गठबन्धनभित्र छलफल भएपनि टुङ्गो लाग्न सकेकाे छैन । मन्त्रिपरिषद् विस्तारका विषयमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवका बीचमा बालुवाटारमा छलफल भइरहेकाे छ ।
सोमबार साँझ बसेको गठबन्धनकाे बैठकमा पनि मन्त्रिपरिषद् विस्तार कै विषयमा छलफल भए पनि ठोस निश्कर्ष निस्केकाे छैन । आइतबार बसेको माओवादी केन्द्रको बैठकले मन्त्रीको नाम सत्ता गठबन्धन दलका बीचमा एक चरण छलफल पछि मात्र वहसमा ल्याउने बताएको थियो । स्वयम् प्रधानमन्त्रीको दलले पनि यस विषयमा औपचारिक छलफल गरेको छैन । जसपाले भने अध्यक्ष यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको छ ।
गठबन्धनमा मन्त्रीको भागभण्डा टुङ्गो नलागेकाले माओवादी केन्द्रले मन्त्रीको लिष्ट तयार गर्न सकेको छैन । सोमबार बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिहानै अध्यक्ष प्रचण्डको कार्यव्यस्ततालाई कारण देखाँउदै स्थगित गरिएको छ ।
प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरुलाई मन्त्रीको लिष्ट दिन आग्रह गरेका थिए । तर, गठबन्धनका शीर्ष नेताहरुले मन्त्रीको लिष्ट दिन सकेका छैनन् । गठबन्धका दलहरुले मन्त्रीको नाम टुङ्गो लगाउन पार्टीका शीर्ष नेतालाई दिएको छ ।
उपप्रधानमन्त्री नबनाउने दाउमा देउवा
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा उपप्रधानमन्त्री सकभर नराख्ने योजनामा लागेको देखिएका छन् । पार्टीभित्रै उपप्रधानमन्त्रीका आकांक्षी धेरै भएपछि र त्यसको दबाबमा देउवा बढी नै पर्न थालेपछि उनले उपप्रधानमन्त्री नराख्ने गरी मन्त्रिपरिषद् बनाउन खोजेका हुन् । सत्ता सहयात्री तिन ओटै दल र अझ एमालेको माधव नेपाल समूह सरकारमा आए ४ जनासम्म उपप्रधानमन्त्री राख्नुपर्ने र त्यसको आलोचना हुने देखेपछि र पार्टीभित्रको सन्तुलन पनि आफू अनुकूल मिलाउन पाइने भएपछि देउवाले उपप्रधानमन्त्री नराखी मन्त्रिपरिषद् विस्तार गर्न खोजेका हुन् ।
उनले सरकारको उपप्रधानमन्त्री नराख्ने जनाउ उपेन्द्र र प्रचण्डलाई पनि दिइसकेको बालुवाटार स्रोतले बतायो । यद्यपि, माओवादी केन्द्र र जसपाले भने राखेर जानु उपयुक्त हुने सुझाव दिएका छन् ।
कांग्रेसबाट सुजता कोराला, प्रकाशमान सिंह, डा. शसांक कोइराला उप-प्रधानमन्त्रीका आकांक्षी रहेका छन् । यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महारा उप-प्रधानमन्त्री पाए सरकारमा सहभागी हुने बताउँदै आएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि उप-प्रधानमन्त्री मागिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले यसपटक उप-प्रधानमन्त्री नबनाउने संकेत दिएका छन् ।

हरि भट्ट
मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

















तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै
फेवातालमा कार खस्दा चालकको मृत्यु
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
प्रतिक्रिया