आइतबार, वैशाख १४, २०८२

जयसिंह धामीको घटनामा सरकार भारतसँग लड्छ कि लड्दैन ? : गगन थापा

मेरोन्यूज २०७८ साउन १९ गते १४:३४

काठमाडौँ । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य गगन थापाले जयसिंह धामीको घटनामा सरकारले कसरी विश्वास दिलाउन सक्छ भन्ने प्रश्न गरेका छन् । मंगलबार बसेको बैठकमा उनले गृह मन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्दै सरकारले घटनालाई कसरी लिएको छ भनेर प्रश्न गरेका थिए ।

‘भारतीय पक्षले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को कुनै संलग्नता नभएको मिडियामा आएको छ, यदि यस्तो हो भने भारतीय एसएसबीले छानबिन समितिलाई कस्तो सहयोग गर्ला ?,’ थापाले भने, ‘हाम्रो छानबिन समितिले घटनाको सत्यतथ्य कसरी ल्याउला ? यसबारे गृहमन्त्रीले कसरी विश्वास दिलाउन सक्ला ?, सरकार भारतसँग लड्छ कि लड्दैन ?’

उनले सन् २०१२ मा इटालीका मरिन (जहाजका कर्मचारी)बाट दुई जना भारतीय मछुवा (माझी)को हत्या हुँदा लामो समय भारतीय सरकार डटेर लडेको जस्तै नेपाल सरकार पनि लड्नु पर्ने बताए । उनले जयसिंह धामीको सत्यतथ्य बाहिर आएपछि जसरी भारतीय सरकार इटाली सरकारसँग लड्यो त्यसरी नै हाम्रो सरकार भारतसँग डटेर लड्नु पर्ने बताएका थिए ।

गत शुक्रबार जयसिंह धामी महाकाली नदीमा तर्दै गर्दा भारतीय एसएसबीले तुइन काटिदिँदा नदीमा बेपत्ता भएका थिए । उक्त घटनाबारे प्रतिनिधिसभाको बैठकमा ठूलो बहस भएको छ ।

प्रतिक्रिया