बुधबार, मंसिर ३, २०८२

एक लाख सात हजार घर पुनःनिर्माण

मेरोन्यूज २०७८ साउन १९ गते २१:४५
Nepal Reconstruction Authority. Photo Courtesy: NRA/twitter

काठमाडाैं । आर्थिक वर्ष २०७७/७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण सम्पन्न गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आज भएको वार्षिक समीक्षा गोष्ठीमा दिइएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नयाँ ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् ।

पुरानासहित ४१ हजार ७३८ हजार भूकम्प पीडितले अनुदान सम्झौता गरेका छन् । ४७ हजार ३८४ ले प्रथम किस्ता लिएका छन् भने ६९ हजार ०१० ले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएका छन् । गत आवमा थप ५८९ वटा विद्यालय, ५३ वटा स्वास्थ्य संस्था, १३३ वटा सांस्कृतिक सम्पदा र नौ वटा सरकारी भवनको पुनःनिर्माण भएको छ । यस अवधिमा पुनःनिर्माण भइरहेका सुरक्षा निकायका नौ वटा भवनको पनि पुनःनिर्माण सम्पन्न भएको छ ।

योसँगै प्राधिकरणबाट पुनःनिर्माण हुने निश्चित भएका सबै २१६ वटा सुरक्षा निकायका भवनको काम सकिएको छ । कोभिड महामारीलगायत समस्याका बावजुद गत आवमा पुनःनिर्माणमा उल्लेखनीय वित्तीय प्रगति भएको छ । निजी आवासतर्फ विनियोजित कूल बजेट रु २३ अर्ब ८४ करोड ८८ लाखमध्ये रु २१ अर्ब ५६ करोड आठ लाख खर्च भएको छ जुन ९०.४१ प्रतिशत हो । समग्रमा पुनःनिर्माणका लागि विनियोजित बजेट रु ७० अर्ब ३५ करोड ८७ लाखमध्ये ७५.३० प्रतिशत अर्थात् रु ५२ अर्ब ९७ करोड ७१ लाख खर्च भएको छ ।

गत आवमा सार्वजनिक तथा ऐतिहासिक संरचनाको पुनःनिर्माणमा पनि उल्लेखनीय प्रगति भएको छ । ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण सम्पन्न भएर २०७७ कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भयो । त्यसैगरी, सिंहदरबारको पश्चिमबाहेकका मोहडाह धरहरा स्तम्भको पुनःनिर्माण पनि सम्पन्न भएको छ । सोही अवधिमा काठमाडौँ जमलस्थित ऐतिहासिक दरबार हाइस्कुलको पुनःनिर्माण सम्पन्न भएर अध्ययन–अध्यापन शुरु भएको छ । यस अवधिमा ४६ हजार ३०० गुनासोकर्ताले प्राधिकरणको पुनरावेदन समिति समक्ष लाभग्राही कायम गरिदिन निवेदन दिएका छन् ।

गत आवमा प्राधिकरण निर्देशक समितिका तीनवटा बैठक सम्पन्न भएका छन् । प्राधिकरण कार्यकारी समितिको १३४औँ देखि १४७औँ गरी १४ वटा बैठक सञ्चालन भएका छन् । यस अवधिमा प्राधिकरणले नेपालको पुनःनिर्माण सम्बन्धमा भर्चुअल माध्यमबाट राष्ट्रिय परिसंवाद र पुनः स्थापना तथा पुनःनिर्माणका अनुभवको समीक्षा गर्न सेमिनारको आयोजना पनि गरेको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको बाँकी अवधिमा निजी आवास पुनःनिर्माण गर्न इच्छुक लाभग्राहीलाई सहजीकरण गर्दै निजी आवासका मूलभूत कार्य सम्पन्न गर्ने र घर नबनाउनेले के कारणले घर बनाएनन् भन्ने अभिलेख राखिने बताए । यस अवधिमा लेखा परीक्षण, अभिलेखीकरण तथा हस्तान्तरणका कार्य समानान्तर रुपमा अगाडि बढ्ने पनि प्राधिकरणले जनाएको छ । प्राधिकरणको कार्यावधि २०७८ पुस १० गतेसम्म छ ।

प्रतिक्रिया