नेपालमै खोप उत्पादन गर्न कति सम्भव ?

काठमाडौं । सरकारले नेपालमै कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप उत्पादन गर्न महत्वकांक्षी योजना अघि सारेको छ । गत साउन १८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले नेपालमै खोप उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढेको बताएका थिए ।
त्यसको ठिक ६ दिनपछि साउन २४ मा सत्ता गठबन्धनले जारी गरेको साझा नीति कार्यक्रममा खोप उत्पादनका लागि नेपालमै खोप ल्याब स्थापना गर्न पहल गर्ने उल्लेख छ । सरकारका मन्त्री र सत्ता गठबन्धन दलको साझा कार्यक्रममा समेटिएको यो विषय के नेपालमा सम्भव होला ? त्यसयता मानिसहरुले खोप उत्पादनको सम्भाव्यता र सरकारी तयारीका विषयमा चासो दिन थालेका छन् । औषधि उत्पादकहरुका अनुसार, खोप बनाउन नेपालमा सकिने तर आवश्यक प्रविधि नरहेकाले यसै भन्न नसकिने टिप्पणी गर्छन् ।
नेपालको बजार सानो रहेको र खोप बनाउन आवश्यक प्रविधि नेपालसँग नरहेकाले सरकारले भने जस्तो सहज खोप उत्पादन नेपालबाट गर्न कठिन नै देखिन्छ । तर प्रयास भने जारी गर्नु पर्ने र त्यसका लागि आवश्यक सहयोग सरकारले गर्नु पर्ने औषधि उत्पादकहरुको भनाई छ ।
औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षेत्री नेपालमा खोप उत्पादन गर्न सम्भव रहेका र त्यसका लागि अर्बौं रुपैयाँ लगानी आवश्यक पर्ने बताउँछन् । उनका अनुसार सरकारको इच्छाशक्ति भए खोप उत्पादन गर्न सकिन्छ । उनले भने, ‘कोरोना संक्रमण देखिएपछि खोपको आवश्यकता पनि बढेको छ ।’
खोप उत्पादनका लागि हालको औषधि ऐनलाई पनि परिमार्जन गर्नु पर्ने उनको भनाई छ । ‘नयाँ–नयाँ औषधि, खोपहरु उत्पादन गर्न सरकारले साना–साना उद्योगलाई दिने गरेको पाइँदैन,’ अध्यक्ष क्षेत्रीले मेरोन्यूजसँगको कुराकानीका क्रममा भने, ‘खोप उत्पादनका लागि भ्याक्सिनमा काम गरेका जनशक्ति, फर्मासिस्ट, माइक्रोबायोलोजिस्ट लगायतका जनशक्ति आवश्यक पर्छ ।’
उनका अनुसार अबको सात महिनादेखि एक वर्षभित्रमा नेपालमै खोप उत्पादन सुरु हुन्छ । नेपालमा अहिले एन्टिभाइरल, रेम्डेसिभिर र एन्टिक्यान्सर औषधि उत्पादन सुरु भइसकेको छ ।
देउराली जनता फर्मास्यूटिकल प्रालिले खोप उत्पादन गर्न अनुमतिका लागि निवेदन दिएको उनले जानकारी दिए । नेपालमा थोरै–थोरै मात्रा भेटनरी (पशुपन्छी)का औषधि र खोप बनिरहेका उनले बताए ।
उनका अनुसार सरकारले खोप उत्पादन गर्न खोज्नु नै ठूलो कुरा हो । ‘हाम्रोमा जनशक्ति अभाव छैन । नेपालमा थोरै-थोरै मात्रा भेटनरी (पशुपन्छी) का औषधि र खोप बनिरहेका छ,’ उनले भने ।
खोप उत्पादन प्रक्रियाअगाडि बढाउन उद्योग, वाणिज्य एवम आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा औषधि व्यवस्था विभागका महानिर्देशकसहितको समिति नै बनेको छ ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी देउराली जनता फर्मास्यूटिकल प्रा.लिले खोप उत्पादन गर्न चासो दिएको बताए । उनका अनुसार मानिसको खोप बनाउन गुणस्तर नियन्त्रण, कच्चा पदार्थ लगायतका सामाग्री खचिलो हुन्छ ।
विभाग स्रोतका अनुसार देउरालीले चीनबाट टेक्नोलोजी भित्र्याएर खोपको विकास गर्ने योजनासहित निवेदन दिएको छ । उसले केही समय नेपालमै ट्रायल गरी खोप उत्पादन गर्ने लक्ष्यसमेत राखेर निवेदन दिएको छ । उक्त निवेदनमाथि अध्ययन एवं अनुसन्धान विभागले गरिरहेको स्रोत बताउँछ ।
नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपक दाहालका अनुसार खोप नेपालमा बनिरहेकै छ । ‘एउटा रेविज भ्याक्सिन पोर्डकसन ल्याबरटरी रहेको छ । जसले पहिला रेविजको खोप बनाउने गर्थ्यो जुन मानिसमा पनि प्रयोग हुन्थ्यो । तर विश्व स्वास्थ्य संगठनले २००६ मा त्यो खोप प्रयोग नगर्न भन्यो । तर अहिले पनि उक्त ल्याबटरीले जनावरको औषधि बनाइरहेकै छ,’ उनले भने ।
आफैँ उत्पादन गरेर भन्दा पनि अरुमा भरपर्ने सरकारी नीतिका कारण पनि खोप जस्ता औषधिमा नेपाल पछाडि परेको उनको भनाई छ ।
उक्त खोप मानिसको लागि करिब ६ पटकसम्म ट्रायल गरेको तर कसैले पनि चासो नदिँदा सफल नभएको उनको जिकिर छ ।
उनले भने ‘नेपालमा बनाएको खोप सरकारले किन्नुपर्यो, तर हाम्रोमा के छ भने विदेशबाट सित्तैमा खोप दिन्छ भन्ने वितिकै हामी त्यहीबाट लिन्छौ ।’
खोप उत्पादनका लागि सरकारले अहिलेसम्म खोप कार्यविधि बनाएको छैन् । सरकारले ऋण सुविधा र निति बनाउनु पर्ने उनको भनाई छ ।
उनका अनुसार पशुपन्छीको खोप नेपालमा दुई कम्पनीले बनाउँदै आएका छन् । उनले उदाहरण दिँदै भने, ‘पहिला नेपालमै क्षयरोगको औषधि बन्थ्यो, तर सरकारलाई अरु देशबाट निशुल्क दिन थालेपछि हामीले उक्त औषधि उत्पादन गर्न बन्द गयौँ ।’
खोप उत्पादनका लागि आवश्यक पर्ने ल्याब, कोल्ड चेन, भौतिक संरचना आदि स्थापना गर्न अबौँको लगानी लाग्ने उनले बताए । सरकारले खोपमा काम गरिसकेका व्यक्तिहरु राखेर एउटा टिम बनाएर काम गर्न सकिने उनले जानकारी दिए ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।










चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु
घरमा ढुङ्गा खस्दा हुम्लामा चार जना घाइते
एमाले महाधिवेशन : ४ सय मत खस्यो
सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा : प्रधानमन्त्री कार्की
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया