सर्वसाधरण भन्छन् : रात्रिकालिन निषेधाज्ञाको निर्णय हास्यास्पद
रात्रिकालिन निषेधाज्ञा आदेशले कोरोना नियन्त्रणमा सहयोग पुग्छ : चिकित्सक
काठमाडौं । कोरोनाको महामारीबाट नेपाल अझै मुक्त भैसकेको छैन । कहिले पहिलो लहर त कहिले दोस्रो लहर, दोस्रो लहरबाट सामान्यकरण भईरहेको नेपालमा तेस्रो लहर फैलने त्रास बढ्दै गएको छ । कोरोना संक्रमणदर तिव्र रुपमा बढ्न थालेपछि विभिन्न जनचिकित्सकहरुले तेस्रो लहर आउन सक्ने सुझाएका छन् ।
देशमा कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम निरन्तर चालु छ । तर सबै नागरिकहरुले अझै खोप पाउन सकेको भने छैन । कोरोनाविरुद्धको खोपपछि मात्रै कोरोना नियन्त्रण सम्भव रहेको चिकित्सकहरुले बताउदै आएका छन् । यद्यपी नेपालका बालबालिकाका साथै धेरै नेपालीहरुले खोप लगाउन पाएका छैनन । चिकित्सकहरुका अनुसार पछिल्लो समय देखिएका कोरोना बढी बालबालिकामा फैलिएको छ ।
कोरोनाको पहिलो लहर चल्दै गर्दा सरकारले निषेधाज्ञा गरेको थियो, त्यस्तै दोस्रो लहरमा समेत सरकारले निषधाज्ञा नै गरेको थियो । तेस्रो लहरको आगमनसँगै फेरी निषेधाज्ञा गर्ने हो कि ? भन्ने डरले सर्वसाधरणहरु अताल्लिएका छन् । कोरोनाको त्रास र लकडाउनबीच उपत्यका तीन प्रमुख जिल्ला अधिकारीहरुको वैठकले राति ८ बजेपछि निषेधाज्ञा गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णइसँगै साँझ ७ बजेसम्म मात्रै पसल तथा व्यवसाय सञ्चालन गर्न प्रहरीले माइकिङ गरिरहेको छ ।
कोरोनाका कारण यातायात, होटल, पर्यटन, साना व्यवसाय र विद्यालयलगायत क्षेत्र उठ्नै नसक्ने गरी थला परेका छन् । व्यवसाय डामाडोल भएपछि धेरै व्यवसायी तनावमा छन् ।
उपत्यकामा रातपरेपछि निषेधाज्ञा जारी गर्ने निर्णय यतिवेला चौतर्फी आलोचित बनेको छ । रात्रिकालिन व्यवसायीहरुलाई मारमा पार्ने र रातको समयमा यसैपनि धेरै मानिसहरु बाहिर ननिस्कने भएका कारणले उपत्यकामा लागु गर्ने भनिएको निर्णय विवादास्पद भएको सर्वसाधरणले बताउदै आएका छन् ।
हास्यास्पद निर्णयः सर्वसाधरण
‘रातपरेपछि खासै सवारी देखिदैनन्, फाट्टफुट्ट ट्याक्सिहरु देखिन्छ त्यही पनि धेरै हुँदैनन्, किन राती बन्द गर्ने निर्णय गर्यो कुनि, यसले खासै प्रभाव पर्छ जस्तो लाग्दैन’ सवारी चालक सुरेश वाईवाले मेरोन्युजसँग बताए । उनि विगत लामो समयदेखि काठमडौं उपत्यकाभित्र लोकल बस चलाउँदै आएका छन् । उपत्यकामा गरेको यो निर्णय वास्तवमै हास्यास्पद रहेको भन्दै रात्रिकालिन व्यवसायलाई मारमा पार्ने खालको यो निर्णय बदर गर्न माग गरेका छन् ।
कोरोनाका कारण विगत ३ वर्षदेखि आफ्नो गाडी थन्किएको व्यथा सुनाउँदै काठमाडौं पोखरा रुटमा माइक्रो बस चलाउने माईक्रो चालक हितेश धर्तिले उपत्यकाको निषेधाज्ञा आदेशलाई हास्यास्पद निर्णय भएको बताए । उनले भने,‘सामान्यतः मानिसहरु साझ ७ बजेपछि खासै देखिदैनन्, अत्यावसेक कामको लागि मात्रै देखिन्छन् बढी देखिने भनेको पप, बार लगाएतका क्षेत्रमा हुन् त्यहीपनि अहिले खासै छैन, रातिको समयमा कोही व्यक्तिहरु आर्थिक उपार्जनका लागि रात्रिकालीन व्यापार गर्दै आएका थिए त्यही पनि खोस्ने भए ।’
उनले सुनाए, ‘कोरोना फैलिएदेखि हाईस ग्यारेजमा मुसाको घर बनेको छ, सरकारको मुख ताक्दा ताक्दा पेट पाल्न धौ धौ भएपछि विहान बेलुकी फुतपातमा तरकारी बेच्न बसेको थिए, त्यो पनि गर्न नदिने भयो ।’ उनले सोधे, ‘छेउ न टुप्पोको यस्तो निर्णय गरेर कसलाई फाइदा हुन्छ कुन्नि । कि रातमा मात्रै कोरोना फैलिने हो ?’ हितेश र सुरेश जस्तै व्यवसायी र सर्वसाधरहरु उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णयले दुःखी बनेका छन् । पटकपटक निषेधाज्ञाको मारमा परेका व्यवसायीहरुले यो निर्णय हास्यास्पद रहेको बताएका छन् ।
लापरबाही बढ्न थालेपछि राति निषेधाज्ञा गर्ने निर्णय गरियोः प्रजिअ
यसो छ सर्वसाधरणहरुले उपत्यकामा लागु गर्ने भनिएको निर्णयलाई हासोमा उडाउँदै आएका छन् । यद्यपी काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालु प्रसाद अधिकारीले रात्रिकालीन व्यवसायहरुमा स्वास्थ्य प्रोटोकलहरु नअपनाएको गुनासो गरेपछि रात्रिकालीन व्यवसायहरु ठप्प गर्न लागिएको बताएका छन् । उनले न्युज एजेन्सीले लिएको एक अन्तवार्तामा भनेका छन्, ‘हिजो हामीले थप एउटा गरेको छौं, रात्रीकालीन व्यवसायको कारणले होटल, रेष्टुरेण्ट, टेकवे मात्रै दिने भन्यौँ, हाम्रोमा गुनासोहरु आए ।
उनले भने, मानिसहरु बाहिरै बसेर खाइरहेका छन् । रेष्टुरेण्टहरु चालु भइरहेको छ, होटलका मानिसहरुले पनि स्वास्थ्य प्रोटोकलहरु पालना गरेको देखिँदैन भन्ने गुनासो आएपछि हामीले भीडभाडजन्य गतिविधिहरु रोक्नलाई नै यो मास्क खोलेर हुने गतिविधि छ, बेलुकाको खानपिनको कार्यक्रम त्यसमा अलिकति निरुत्साहित गर्न सकियोस् भनेर हामीले सबैले आ–आफ्नो गन्तव्यमा ८ बजेभित्र पुगिसक्नु पर्ने सोचमा एउटा निर्णय थप गरेका हौँ ।’
यो निर्णय हास्यास्पद होईनः चिकित्सक अनुप बास्तोला
काठमाडौंमा गर्ने भनिएको निषेधाज्ञाले धेरै प्रभाव पार्ने शुक्रराज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक अनुप बास्तोलाले मेरोन्युजसँग बताए । उनले भने, ‘यसलाई मानिसहरुले हास्यास्पद निर्णय भन्दै बताएका छन् तर यसले कोरोना नियन्त्रण गर्न सहयोग पुर्याउछ भन्ने कुराप्रति कसैले चासो दिएका छैनन् ।’
प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयले रातिको समयमा हुने भिडभाडलाई नियन्त्रण गर्न मद्धत पुर्याउने डा.बस्तोलाले बताए । उनले भने,‘ सबैले राति खालि हुन्छन् भन्छन्, तर पार्टी प्यालेसहरुमा रात्रिको समयमा हुने जम्काभेट, राति भट्टि र रक्सि पसलमा हुने जमात र रात्रिकालीन क्लबहरुमा हुने भिडभाडले समेत यसको प्रभाव बढाएको थियो । काठमाडौंको निर्णयले यस्ता गतिविधिहरुमा रोक लगाउछ जसका कारण स्वास्थ्य मापदण्डहरु अपनाईन्छ र कोरोना पराजयमा सहयोग पुग्न सक्छ ।’
दया दुदराज
मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया