आइतबार, फागुन १७, २०८२

मर्जरमा जाने बैंकलाई फाइदै-फाइदा

मेरोन्यूज २०७८ साउन २९ गते १७:४५


काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जमा जाँदा बैंकहरुलाई थप सहुलियत दिने भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको पुँजीका आधार दरिलो बनाई जोखिम बहन क्षमता बढाउन मर्जरमा जाँदा सुविधा दिने जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मर्जरमा जाँदा तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने, एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा छुट प्रदान गरिने मौद्रिक नीतिमार्फत दिएको सुविधाले फाइदा पुग्ने छ ।

यस्तै, मर्जरमा जाँदा एकीकृत कारोबार गरेको एक वर्षसम्म वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट प्रदान गरिने छ । राष्ट्र बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दुले थप गरिने, संचालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना नभई यस बैंकबाट इजाजत पत्र प्राप्त अन्य संस्थामा आवद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान दिइने, केन्द्रीय बैंकको निर्देशन बमोजिम कायम गर्नु पर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा १ प्रतिशत बिन्दुले छुट दिइने मौद्रिक नीतिमा उल्लेख छ ।

यसैगरी मर्जरमा जाने बैंकहरुलाई एकीकृत कारोबार थालनी गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा सो नियमित गर्न एक वर्षको समय प्रदान गरिने केन्द्रीय बैंकले जनाएको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले एकीकृत कारोबार संचालनको क्रममा १ कि.मिभित्रका शाखा कार्यालयहरुमध्ये कुनै १ शाखा कायम राखी अन्य शाखा गाभ्न वा बन्द गर्न यस बैंकको स्वीकृति आवश्यक नपर्ने जनाएका छन् । सबै वाणिज्य बैकको शुन्य दशमलब १ प्रतिशत वा सोभन्दा कम शेयर धारण गरेका संस्थापक समूहको शेयर धनीहरुले यस्तो शेयर बिक्री सीधै गर्न पाउने व्यवस्था मौद्रिक नीतिमा छ ।

आर्थिक वर्ष २०७८/७९ भित्र वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा सहभागी भई एकीकृत कारोबार संचालन गरेमा विद्यमान व्यवस्थाको अतिरिक्त देहाय बमोजिमका थप सुविधा तथा छुट २०७९ असार मसान्तसम्म प्रदान गरिने गर्भनर अधिकारीले उल्लेख गरेका छन् ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिएका विकास बैंक र वित्तीय कम्पनीलाई इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले प्राप्ति गरेमा उपरोक्त बमोजिमका सुविधा तथा छुट दिने भएको छ ।

प्रदेशमा सञ्चालित विकास बैंक मर्जर प्रक्रियामा संलग्न भई एकीकृत कारोबार संचालन गरेमा कार्य क्षेत्रभित्र पायक पर्ने स्थानमा व्यवसाय कार्यालय स्थापना गर्न र प्रदेश राजधानी तथा काठमाडौंमा सम्पर्क कार्यालय खोल्न स्वीकृति प्रदान गरिने मौद्रिक नीतिले जानकारी दिएको छ ।

प्रतिक्रिया