मनोवैज्ञानिक रुपमा तालिबानको जित, फर्किएला सत्तामा ?

२० वर्षसम्म अमेरिकी सुरक्षाको छत्रछायाँमा रहेको अफगानिस्तान तीव्र गतिमा पुनः तालिबानको कब्जामा गइरहेको छ । १५ दिनअघिसम्म अफगानिस्तानका धेरै ग्रामीण क्षेत्रमा मात्र रहेको तालिबान यतिबेला काबुलबाट करिब ८० किलोमिटर नजिक आइसकेका छन् । तालिबानले आक्रामक रुपमा अफगानिस्तान कब्जा गर्न थालेसँगै यतिबेला अमेरिका, बेलायतसहित पश्चिमा शक्ति राष्ट्र अफगानिस्तानमा रहेका आफ्ना नागरिक र कूटनीतिज्ञलाई स्वदेश फर्काउने हतारोमा छन् ।
तालिबानले काबुलदेखि ८० किलोमिटर दक्षिणमा रहेको पुल–ए–आलमसहित आधा प्रान्तीय राजधानीमा कब्जा जमाइसकेका छन् । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकको उद्धारका लागि थप ३ हजार सैनिक पठाउने योजना बनाइसकेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गैरसैनिक नागरिकका लागि विस्मयकारी परिस्थिति निर्माण गर्ने गरी अवस्था नियन्त्रणबाहिर गइरहेको टिप्पणी गरेका छन् ।

अफगानिस्तानमा पछिल्ला दिनमा भएका हिंसाका कारण हालसम्म साढे २ लाखभन्दा बढी सर्वसाधारणले घर छाडिसकेका छन् । तालिबानले तीव्र रुपमा नियन्त्रण कायम गर्दै अघि बढ्दा विदेशी नागरिकलाई समेत अफगानिस्तान छाड्न कठिन भइरहेको छ । रातमा सरकारको नियन्त्रणमा रहेको प्रान्तीय राजधानी बिहान हुँदासम्म तालिबानको कब्जामा पुग्ने अवस्था सिर्जना भएको छ । साँच्चै भन्ने हो भने तासको पत्ता ढलेजसरी तालिबानको अघि अफगान सरकारको नियन्त्रण गुम्दै गएको छ ।
अमेरिकाको समेत असफलता
अमेरिकाले २० वर्षअघि अफगानिस्तानमा आक्रमण गरेर तालिबानलाई सत्ताच्युत गरेको थियो । तर अमेरिकाको एक गुप्तचर रिपोर्ट यसै साता ‘लिक’ भएको छ । जसमा आगामी सातासम्ममा तालिबानले काबुलमा हमला गर्न सक्ने र अबका ९० दिनभित्र अफगानिस्तानमा तालिबानको नियन्त्रण हुनसक्ने उल्लेख छ । यसले २० वर्षसम्म अमेरिका, बेलायतसहित नेटो सेनाले अफगानिस्तानको सुरक्षामा गरेको खर्च र अफगानी सेनालाई लिएको तालिममाथि प्रश्न उठेको छ । अमेरिकी र बेलायती सेनाका कतिपय जनरलले शक्तिशाली अफगान सैनिक तयार पारेको दाबी गर्दै आएका थिए । तर तालिबानले उनीहरुको दाबी फिक्का साबित गरिदिएको छ ।
सेना र तालिबानको शक्ति
अफगानिस्तानसँग अहिले सेना, एयरफोर्स र प्रहरी गरी तीन लाखभन्दा बढी सुरक्षाफौज छन् । तर अझै पनि हेर्ने हो भने अफगान सेनामा भर्ती हुन चाहने युवाहरुको संख्या कम हुदै आएको छ । विगतलाई फर्किएर हेर्ने हो भने अफगान फौज र प्रहरीले विगतमा ठूलो क्षति भोग्नु परेको छ । मानिसहरु जागिर छाडेर जान्छन् भने भ्रष्टाचार अर्को मुद्दा बनेको छ । अफगान सेनाको संख्या कागजमा भएजति वास्तविकतामा नभएको घटना केही समयअघि बाहिर आएको थियो । जसमा फौजमा नाम भएको तर छाडिसकेको व्यक्तिको नाममा तलब भत्ता वितरण गरेर भ्रष्टाचार गरिएको विषयले निकै चर्चा पाएको थियो ।
अमेरिकी कांग्रेसका पेश गरिएका हालैको एक रिपार्टमा ‘स्पेशल इन्स्पेक्टर जनरल फर अफगानिस्तान (एसआईजीएआर) ले भ्रष्टाचारबाट हुने नोक्सानलाई लिएर गम्भीर चिन्ता जनाएको थियो । यो रिपोर्टमा अफगान सेनाको वास्तविक शक्तिबारे दिइएको तथ्यांकको सत्यतामाथि प्रश्न उठाइएको थियो । सेक्युरिटी र रक्षा क्षेत्रमा चर्चित थिंकट्यांक रोयल युनाइडेड सर्भिसेज इन्स्टिच्युट (आरएसआई) का ज्याक वाटलिंगले अफगान सेनामा कति सैनिक छन भन्ने विषयमा अफगानी सेना नै जानकार नरहेको बताएका छन् ।
उनका अनुसार समस्या अफगान सेनाको हौसला र हतियारसँग पनि जोडिएको छ । सैनिकलाई यस्तो ठाउँमा तैनाथ गरिएको हुन्छ, जहाँ उनीहरुको समुदाय र खानदानसँग कुनै सम्बन्ध नै हुँदैन । धेरै सैनिक युद्ध नै नलडीकन मोर्चा छाडिदिन्छन् । अर्कोतिर तालिबानको शक्तिबारे अन्दाज गर्न कठिन छ । अमेरिकाको कम्याटिङ टेररिज्म सेन्टरले करिब ६० हजार लडाकू रहेको अनुमान गरेको छ । अन्य सशस्त्र समूह र उनीहरुका समर्थक समेत गरेर करिब २ लाखको संख्यामा हुन सक्छन् । तर बेलायती सेनाका पूर्वअधिकारी माइक मार्टिन तालिबानलाई एकै नस्लको संगठनका रुपमा बुझ्न नहुने बताउँछन् । पस्तो भाषाका जानकार समेत रहेका मार्टिन आफ्नो किताब ‘एन इन्टिमेन्ट वार’ मा हेलमन्डको संघर्षको इतिहासबारे उल्लेख गरेका छन् । उनका अनुसार विभिन्न समूहहरु जोडिएको लडाकू गठबन्धन समूहजस्तो रुपमा तालिबान रहेको छ । सरकारी सेना र सरकारलाई सहयोग गर्ने समूह पनि यसरी नै विभाजित समूहहरुको एकीकृत रुप हो । त्यसैले यतिबेला तालिबान सरकारी फौजमाथि हाबी बन्दै आएको छ ।
सत्ताच्युतदेखि सम्झौता
सन् २००१ मा अमेरिकी नेतृत्वको सेनाले अफगानिस्तानमा तालिबानलाई सत्ताच्युत गराएका थिए । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा अल कायदाका नेता ओसामा बिन लादेनको योजनामा आक्रमण गरिएपछि अमेरिकी फौज अफगानिस्तान पुगेका थिए । अमेरिका र उसका साझेदार देशहरुले अफगानिस्तानमा आफू अनुकूलको सरकार गठन गरे । निर्वाचन र अफगान सुरक्षा फौजको निर्माणको सुपरिवेक्षणसहित पश्चिमा शक्तिले निर्णायक भूमिका खेले । तर तालिबानले लगातार यसलाई चुनौती दिँदै आएको थियो । अमेरिकाले अफगानिस्तानमा सबैभन्दा लामो युद्ध लड्यो । तर अन्ततः तालिबानसँगको सम्झौताबाट अमेरिकी सेना फिर्ताको प्रक्रिया सुरु भयो ।
तालिबानहरूले आतंकवादीहरूलाई संरक्षण नदिन सहमत भए भने अमेरिका आफ्नो सेना फिर्ता लैजान तयार भयो । तर तालिबान र अफगान सरकारबीच वार्ता सफल भएन र तालिबान तीव्र रुपमा अफगानिस्तानमाथि आफ्नो नियन्त्रण कायम गर्दै अघि बढेको छ । तालिबानले यतिबेला देशको अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरिसकेको छ ।
पैसा र हतियारमा पहुँच

पैसा र हतियारलाई तुलना गर्ने हो भने अफगान सरकार निकै माथि छ । सैनिकको तलब र हतियारका लागि अमेरिकाले अर्बौ खर्च गर्दै आएको छ । जुलाई, २०२१ को रिपोर्टअनुसार अमेरिकाले अफगानिस्तानको सुरक्षाका लागि ८८ अरब डलरभन्दा बढी खर्च गरिसकेको छ । तर यही रिपोर्टमा यो रकम ठीक ढंगले खर्च भयो या भएन भन्ने कुराको जवाफ लडाईको नतिजाले दिनेछ । अफगानिस्तानको एयरफोर्स लडाईमा हारेका कमाण्डरलाई साथ दिन असफल देखिएको छ ।
लस्कर गाहजस्ता शहरमा तालिबानले हमला गरेपछि अमेरिकी सेनाले जवाफी कारबाही गर्नुपरेको थियो । तर अमेरिकाले अब कहिलेसम्म सहयोग गर्छ भन्ने निश्चित छैन । तालिबानले लागूपदार्थको विक्री र विदेशबाट आउने सहयोगबाट ठूलो मात्रामा आर्थिक लाभ प्राप्त गर्दै आएको छ । हालै तालिबानले अफगान सुरक्षाबलबाट बख्तरबन्द गाडी, अँध्यारोमा देख्ने दुरबिन, मेशिन गन, मोर्टार र गोलबारुद कब्जा गरेको थियो । यीमध्ये केही अमेरिकाले उपलब्ध गराएको थियो । सोभियत संघले हमला गरेपछि अचानक अफगानिस्तानमा हतियारको बाढी आएको थियो । जसमध्ये केही अहिले पनि प्रयोग भइरहेका छन् । तालिबानले यसअघि पनि कुनै प्रशिक्षित, राम्रो प्रविधि र हतियारले लैस सेनालाई समेत हराउन सक्छ भन्ने पुष्टि गरिसकेको छ ।
एकपछि अर्को नियन्त्रण
तालिबानले केही प्रमुख सीमा चौकीमा आफ्नो नियन्त्रण कायम गरेको छ । अफगानिस्तान सरकारलाई राजस्व प्राप्त हुने केही महत्वपूर्ण नाका तालिबानले कब्जा गरिसकेको छ । तालिबानले प्रमुख अधिकारी, मानवअधिकारवादी र पत्रकारलाई पनि छानीछानी निशाना बनाइरहेको छ । पछिल्लो २० वर्षमा केही साना साना भएका परिवर्तन अब छिटोछिनो अन्त्य हुँदै गएको छ । तालिबानलाई लिएर अफगानिस्तान सरकारको रणनीतिक बुझ्न पनि कठिन हुँदै गएको छ । तालिबानले नियन्त्रणमा लिएका इलाका फिर्ता गर्ने सरकारी दाबी कमजोर देखिएको छ । तालिबानले प्रोपोगान्डा युद्धमा आफूलाई बलियो साबित गरेको छ ।
मानिसहरु अब तालिबानले सत्ता कब्जा गर्न धेरै समय लाग्दैन भन्ने अनुमान गर्न थालिसकेका छन् । त्यसको उल्टो सरकारी पक्षमा अन्तरकलह देखिन थालेको छ र आफ्नै जनरल निकाल्नुपरेको छ । त्यसैले काबुल सरकारको नियन्त्रणबाट देश विस्तारै बाहिर जाँदै गरेको देखिएको छ । तर कबायली नेताहरुको विश्वास जित्न सकेमा अझै पनि अफगान सरकारले अवस्था नियन्त्रणमा लिनसक्ने सम्भावना भने रहेको मार्टिन माइक बताउँछन् । उनी मजार–ए–शरीफमा अब्दुल रसिद दोस्तमको फिर्ती एक महत्वपूर्ण घटना भएको बताउँछन् ।
अफगानिस्तानमा छिट्टै अब गर्मीको समय सकिएर चिसो मौसम सुरु हुँदैछ । चिसो मौसम युद्धका लागि उतिधेरै अनुकूल मानिदैन । अझै पनि वर्षको अन्त्यसम्ममा अवस्थामा सुधार आउनसक्ने सम्भावनालाई नकार्न सकिँदैन । तर अहिले जुन अवस्था देखिएको छ । त्यसबाट शान्ति, सुरक्षा र स्थिरता ल्याउने अमेरिकी र नेटो सेनाको प्रयास विगतमा सोभियत संघको प्रयासजस्तै औचित्यहीन हुँदै गएको देखिएको छ ।
(एजेन्सीको सहयोगमा)









आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिक्रिया