शनिबार, माघ १२, २०८१

दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन

मेरोन्यूज २०७८ साउन ३१ गते ८:३६

गलकोट । कुनै दिन गुमनाम अवस्थामा रहेको पर्यटकीयस्थल बेलढुङ्गा एकाएक चर्चामा छ । स्थानीयवासीको निरन्तरको पहल, प्रयास, प्रचारप्रसार र पूर्वाधार निर्माणका कारण अहिले बेलढुङ्गा क्षेत्रमा पर्यटकको चाप बढ्दो छ ।

Advertisement

यहाँको दुई चर्चित पर्यटकीय गन्तव्य जोड्नका लागि समुद्री सतहदेखि झण्डै दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन निर्माण थालिएको छ ।

बागलुङ नगरपालिका–६ पञ्चकोट र काठेखोला गाउँपालिका–३ धम्जाको बेलढुङ्गा जोड्नका लागि पर्यटकीय पदमार्गसँगै साइकल लेन निर्माण सुरु गरिएको हो ।

बागलुङ र म्याग्दीको शिरबाट साइकलमार्फत बेलढुङ्गा हुँदै पञ्चकोट र पञ्चकोट हुँदै बेलढुङ्गा पुग्नका लागि साइकल लेन निर्माण थालिएको हो ।

गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको २० लाख र स्थानीयवासीको एक लाख जनश्रमदानबाट एक हजार ७०० मिटर लामो साइकल लेन निर्माण गरिएको छ ।

बेलढुङ्गाबाट कान्छो धवलागिरि नजिकै साइकल लेन पुगिसकेको छ । संसारकोटसम्म साइकल लेन निर्माणका लागि अध्ययनसमेत भइसकेको छ ।

दुई वर्षअघि मात्रै बागलुङ–६ स्थित पाँचकोटको सङ्गम पञ्चकोटबाट थाप्लेको धुरी, कान्छो धवलागिरि हुँदै बेलढुङ्गासम्मको पदमार्ग पहिचान गरिएको थियो ।

तत्कालीन गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पदमार्ग पहिचानको शुभारम्भ गरेका थिए । त्यही समयमा पहिचान गरिएको पदमार्गलाई अहिले साइकल लेनका रूपमा विकास गर्न थालिएको हो ।

साइकल गुड्न सक्ने पदमार्ग निर्माण गरेपछि पैदल हिँड्ने पर्यटक र साहसिक यात्रा गर्न रुचाउने पर्यटक साइकलमार्फत यात्रा गर्न सकिने गरी सिँढीसहितको पदमार्ग निर्माण थालिएको बेलढुङ्गा, पञ्चकोट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया