पूर्ण क्षति भएका मनाङका घर बनाउन प्रदेश सरकारको प्रतिपरिवार दुई लाख सहयोग

पोखरा । गण्डकी प्रदेश सरकारले हिमालपारिको जिल्ला मनाङका बाढीपीडितलाई विशेष राहतको घोषणा गरेको छ । जिल्लामा बाढीले पुर्याएको क्षतिको मूल्याङ्कन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले सोमबार जिल्लाको नासों गाउँपालिका दुई ठाउँमा पुगेर क्षतिग्रस्तस्थलको अवलोकन गरेका थिए ।
स्थानीयवासी पीडितसँगको अन्तरक्रियामा मुख्यमन्त्री पोखरेलले बर्खाको सुरुमै भएको क्षतिबाट आफू दुःखी भएको बताउँदै बाढीले पूर्ण क्षति पुर्याएका घर निर्माणका लागि प्रतिघर दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
मनाङमा यो बर्खामा ८५ घर पूर्ण क्षति भएको विवरण सङ्कलन भएको छ । खासगरी नासों गाउँपालिकाको वडा नं १ मा ७० घरमा क्षति पुगेको छ । धारापानीमा पनि १२ घरमा क्षति पुगेको पालिका अध्यक्ष चन्द्र घलेले बताए ।
मुख्यमन्त्री पोखरेलले बेँसीसहर–चामे सडक खुलाउन संघ सरकारले काम थालिसकेको र तालसम्म गाडी चल्न थालिसकेको बताए । त्यसभन्दा माथि पनि अहिले धमाधम काम भइरहेको छ ।
मुख्यमन्त्री पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रको आवश्यकताका आधारमा प्राथमिकता तोकेर संघ सरकारसँग समन्वय गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संघ सरकारले मनाङलाई विपद् सङ्कटग्रस्त घोषणा गरिसकेको छ । जिल्लामा विभिन्न बस्तीको पुनःनिर्माणका लागि आफूले केन्द्रसँग समन्वय गरिहरहेको मुख्यमन्त्री पोखरेलले बताए ।
मनाङ सदरमुकाम चामेमा बाढीकै कारण बिजुली बत्ती नबलेपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयमा सोलार जडान गरिसकेको छ । जसका कारण सेवाग्राहीले सहजै सेवा लिन पाएका छन् ।
अर्थमन्त्री रामजीप्रसाद बरालले बाढी र पहिरो प्रभावितको पहिचान गरी तत्काल र दीर्घकालीनरूपमा समस्या समाधानका लागि सरकार प्रतिवद्ध भएको बताए ।
वडा नं १ को अधिकांश बस्ती बगरमा परिणत भएकाले अस्थायी बसोबासका साथै प्रभावितलाई खान, बस्न प्रबन्ध भइरहेको र प्रदेश सरकारले कमी हुन नदिने उनले बताए ।
अझै पनि मर्स्याङ्दी नदीमा पानीको बहाव कम नहुँदा आसपासका बासिन्दा त्रासमा छन् । नासों गाउँपालिका धारापानी मनाङमा गत असार १ गते परेको अविरल वर्षाले मर्स्याङ्दी नदी र दूधखोलामा आएको बाढीका कारण गाउँका नौवटै वडा प्रभावित भएको नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए ।
बाढीले स्थानीयवासीको घरबास नै डुबाउनुका साथै खेतीयोग्य जमिनसमेत बगाएको छ । मूल सडक र झोलुङ्गे पुल बगाएको छ । गोरेटो बाटोसमेत हिँड्न सकिने अवस्थामा छैन । सञ्चार र बिजुलीसमेत नहुँदा आफूहरू मर्कामा परेको स्थानीयवासीले दुःखेसो गरेका छन् ।

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
क्रिकेटर करण केसीले गरे बिहे
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
प्रतिक्रिया