आइतबार, वैशाख २८, २०८२

स्वास्थ्यकर्मी हत्याको २ महिना पूरा, शंकाको घेरामा रहेका व्यक्तिले गरे आत्महत्या

दया दुदराज २०७८ भदौ ३ गते १३:१९

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप पुर्याउन हिँडेकी डडेलधुराको परशुराम नगरपालिकास्थित जमरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अस्मिता देवी धामीको हत्या भएको दुई महिना पूरा भएको छ । तर, उनको हत्यामा संलग्न कुनै अभियुक्तलाई पक्राउ हुन सकेको छैन ।

गत असार ६ गते मृत अवस्थामा फेला परेकी २६ वर्षीय धामीको २ असारमा हत्या गरिएको प्रहरीले पुष्टि गरेको हो । उनको हत्या भएको २ महिना बित्दासमेत प्रहरीले घटनासँग सम्बन्धित कुनै अभियुक्तको नजिक पुग्न नसकेको हो ।

परशुराम नगरपालिका ८ स्थित जमरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत २६ वर्षीय धामी कोरोनाविरुद्ध भेरोसेल खोप पुर्याउन जोगबुढा अस्पताल पुगेकी थिइन् । तर, उनले अस्पतालमा खोप पुर्याउन पाउँदा नपाँउदै बिच बाटोमा नै उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

धामीलाई परशुराम नगरपालिका ९ स्थित हट्वानी सामुदायिक जंगलमा परिवारले मृत अवस्थामा फेला पारेको थियो । परिवारले प्रहरीलाई खबर गरेसँगै सोही दिन घटनाबारे अनुसन्धान सुरु भएको थियो । घटनालगत्तै अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा टोली खटाइएको थियो । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)को टोलीसमेत पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय डडेलधुरा, सुदुरपश्चिम प्रदेश प्रहरीको संयुक्त टोलीले यस घटनाको अनुसन्धान थालनी गरेको थियो । तर, प्रहरीको ठूलो टोली खटाइए पनि घटनालाई निचोडमा पुर्याउन सकेको छैन ।

धर्नामा स्थानीय

प्रहरीले कुनै अभियुक्त सार्वजनिक गर्न नसकेपछि जनस्तरबाटै संघर्ष समिति गठन गरिएको थियो । प्रहरीको ढिला सुस्तीका कारण तीव्र गतिमा काम गराउन संघर्ष समिति गठन गरिएको जमरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रका इञ्चार्ज रमेश बोहेराले जानकारी दिए । उक्त समितिले मंगलबार (१ देखि ६ भाद्र)सम्म निरन्तर धर्ना दिने इञ्चार्ज बोहेराले जानकारी दिए ।

प्रहरीले घटनाबारे कुनै चासो नदेखाएपछि उनीहरू प्रहरी कार्यालयअगाडि उत्रिएका हुन् । स्थानीय जनप्रतिनिधि र सम्बन्धित इकाईहरूले कुनै चासो नदिएपछि संघर्ष समितिले धर्ना दिएको उनले बताए । ‘न त जनप्रतिनिधिले चासो दिएका छन्, न प्रहरीले नै, के भयो, कस्तो भयो हामीलाई केही अत्तोपत्तो छैन,’ उनले भने, ‘हामीले केही प्रश्न गर्यौं भने अनुसन्धानमा छौँ भन्दा केही भन्दैनन्, यस्तो हर्कतले आजित भएर न्यायका आएका हौँ ।’

के–के गर्यो प्रहरीले ?

असार ६ मा अस्मिताका श्रीमान र देवरसहित गाउँलेले अस्मिताको शव फेला पारेका थिए । त्यससँगै उनकी देवर दिनेशले जिल्ला प्रहरी कार्यालयमा खबर गरे । खबर प्राप्त पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनाको अनुसन्धान र शवको प्रकृति हेर्दै हत्या भएको पुष्टि गरेको थियो । दिनेशले मेरोन्युजसँग भने, ‘भाउजुको अनुहारमा चोट थियो, उनको चप्पल नजिकै एउटा ढुंगा थियो, शवलाई घिसारेर एउटा सालको बुटोमा अड््िकएको अवस्थामा राखेको भेटियो ।’

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले शवको अवस्था र घटनाको प्रकृतिलाई हेर्दा हत्या गरिएको हुन सक्ने आशंका गरे । शव पोष्टमार्टमका लागि प्रहरीले जोगबुढा अस्पताल पुर्यायो । पोस्र्टमार्टम रिपोर्टमा हत्या गरिएको पुष्टि भएको थियो ।

शव मूल बाटोदेखि ६० देखि ७० मिटर तल फेला परेको थियो । त्यसको केही तल मृतकले बोकेको कोभिड भ्याक्सिनको बक्स भेटिएको थियो ।

के गर्दै छ प्रहरी ?

घटनाको अनुसन्धानका लागि ठूलो समूह खटाइएको छ । तर, घटनाले कुनै निचोड पाउन सकेको छैन । अस्मिताको घटनालाई विशेष ध्यानमा राखेर अनुसन्धान निरन्तरता दिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक (एसएसपी) विक्रम बहादुर चन्दले मेरोन्युजलाई बताए ।

‘हामी अनुसन्धान गरिरहेका छौँ, प्रदेश प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयको संयुक्त सहकार्यमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अनुसन्धानको दायरा साँघुरिएको छ, अब छिटै अभियुक्त पत्ता लाग्नेमा विश्वस्त छौँ ।’

घटना घटेको दुई महिना पुग्यो प्रहरीले कुनै ‘क्लु’ फेला पारेको छैन ? भन्ने मेरोन्युजको प्रश्नमा प्रवक्ता चन्दले भने, ‘शंकाको घेरामा रहेका एक व्यक्तिले आत्महत्या गरेपछि अनुसन्धान झन जटिल बनेको छ, घटनाको दिन पानी परेकाले कुनै भरपर्दो प्रमाण फेला परेको छैन ।’

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया