देश : स्वदेश, विदेश
स्नातक सकिएपछिको समय मेरा लागि एकदमै सकसपूर्ण रह्यो । जागिर नपाएको पीडा थियो । लोक सेवाको प्रयास नगरेकोमा परिवारको किचकिच उत्तिकै । सानो तिनो प्राइभेट जागिरमा मनै रमेन । कुनै शीर्षकमा आमासँग मागेको पैसाले आवेगमै जिआरई र टोफलको कक्षामा भर्ना भए ।
तीन चार महिनाको घनघोर मेहनतले खासै राम्रो अंक आउन सकेन । अंग्रेजीले धोका दियो । फेरि, तनाव सुरु भयो । एक त राम्रो नम्बर ल्याउन सकेको छैन, उता लोक सेवाले धेरै संख्यामा आवेदन माग्दै विज्ञापन निकाल्यो । मलाई लोक सेवामा आफूलायक भएको भान कहिल्यै भएन ।
भ्रम नै सही लोक सेवाप्रति मेरो आकर्षण भएन । त्यसको ठिक विपरीत मेरा दाइ र दिदी अनि नातागोता धेरैको सुझावमा लोक सेवा पहिलो रोजाई हुन आउथ्यो । कति अरुको कुरा नकार्नु मात्र, जे होस अब यतै बसेर लोक सेवा पढ्छु भन्ने कुरा मनमा आए पनि जोश हराइहाल्थ्यो ।
यसरी मैले लोक सेवाको तयारीलाई त्यसै आलटाल गरेको थिए । मेरो त्यो पढाई देखेर दाइ दिदीले “यसरी हुन्न भाइ तिमी आफ्नो रूचीको क्षेत्रमा समय देउ” भनेको कुराले भने सान्त्वना दिन्थे । तर, बुबा आमाका लागि म अझै नाटक गर्दै थिए । लोक सेवाको किताब मुनी जिआरईको किताब राखेरै बसेँ । बरु चोरी चोरी पढेर होला दोश्रो प्रयासमा राम्रो अंक ल्याए । अब, मेरो विभिन्न विश्वविद्यालयहरूमा अनलाइन आवेदन गर्दै दिन बित्न थाल्यो ।
दाइ दिदीको सुझावअनुसार बुवा आमालाई विदेशको पढाई राम्रो हुन्छ । संसारभर जहाँ पनि बिकाउ हुन्छ भनेर मनायौँ । आखिर मैन जस्तो मन भएका बाआमालाई मिठो बोलेर फकाउन के बेर लाग्छ र ! तैपनि मन नलागेर मेरै लागि भए पनि सकारात्मक संकेत दिनु भयो । त्यही संकेत मेरा लागि लाख थियो, विदेश जानका लागि । मन फुरुगं भयो । तीन महिनाभित्रै आइसक्नु पर्ने भन्दै राम्रो विश्वविद्यालयले मलाई छात्रवृत्तिको व्यवस्थासहित भर्ना प्रक्रिया पूरा गर्न प्रोफेसरको इमेल प्राप्त भयो ।
यता त्यो इमेलले मलाई हुनसम्मको खुसी बनाएको थियो, भने आमालाई आजसम्मकै दु:खी । आमा र छोराको खुसी यतिबेला विपरीत ध्रुवमा पुगेको थियो । मेरो खुसीमा सामेल हुन आमालाई परेको सकसले मेरो चंगा जस्तो मनबाट धागो चुडेको झै हुन्थ्यो । तर, एकैछिनमा सारा कुरा बिर्सिएर कल्पनाको सहरमा आरामको जिन्दगी जिउने सपनामा डुबुल्की मारिहाल्थे । यसै क्रममा हरियो राहदानीभित्र अमेरिकाको भिसा टाँसिएर आयो । भिसाले सजिएको राहदानीलाई मैले यति जतन गरेँ, जुन जीवनकै महत्वपूर्ण सम्पत्ति थियो, त्यो । एकदिन दिदीले मेरो राहदानी भएको क्लियर ब्यागलाई आफ्नो दराजमा राखिदिनु भएछ । मेरो त सातो पुत्लो उड्यो ! त्यो क्षण सम्झेर घरमा अहिले पनि खुब हँसी मजाक चल्छ ।
मेरो अमेरिका बसाईको प्रारम्भिक दिनमा आवश्यक पर्ने लुगा, खाने कुरा अनि केही भाँडाकुडा किनेँ । दाइ, दिदी र आमाले ती सबै सामानको लिष्ट बनाएरै किनमेल गराइदिनु भयो । म गएपछि चाँडो नर्फकने पक्का थियो । यसैबीचमा हुने सामाजिक तथा पारिवारिक कार्यक्रमहरू मैले छुटाउने भए । उता जाने दिन नजिकिँदै गर्दा दाइ र दिदीलाई बिहे मिस गर्ने भए भनेर जिस्काएको भान्सामा भएकी आमाले सुन्नु भएछ ।
“हो त कान्छाले अब कसैको बिहे नखाने भयो, हामीले त यसबारेमा सोचेकै थिएनाैँ” भनेर निराश हुनु भयो । आमा निसार भएसँगै मैले अंगालो हालेँ । यतिबेला म पनि भावुक हुँदै गएछु । सायद, विदेशीने दिन नजिकिँदै गएर हो की । हामी भावुक भएको देखेर दिदी पनि मिसिन आउनु भयो ।
“कि दाइको बिहे कान्छो नजाँदै गर्दिने हो ?” दिदीको प्रस्तावले सबै जना मुखामुख गर्याैं । “भइहाल्छ नि दिदी, कमसेकम एउटाको बिहे हेर्न पाउँछु ।” म उत्साहित हुँदै गर्दा बुवा आइपुग्नु भयो । मैले बुवाई दाइको बिहे गर्ने कुरा सुनाएँ ।
दाइको अनुहारमा लाजकाे भाव प्रष्टै थियो । तैपनि गम्भिर हुँदै, “भन्नेबित्तिकै तेरो भाउजु बन्न को तयार पारेको छस् र भाइ ?”
मैले भनेँ, “राजश्वको अधिकृत मेरो दाइलाई केटी नपाइने हुन्छ र ?”
दिदीले दाइलाई भन्नु भयो, “तपाई भन्नुस् मात्रै म खोज्छु, हुनेवाला भाउजु ।”
दाइतिर फर्केर भन्नु भयो, ‘मसँगै क्याम्पस पढेकी उर्मिला हजुरहरूलाई कस्तो लाग्छ ?’
मान्छे राम्री छ, शिक्षित परिवारकी हुन् । लोक सेवा पास गरी परराष्ट्रमा छ । यति भन्दै दिदीले सबैलाई फोटो देखाउनु भयो । ख्याल ख्यालैमा दाइको बिहेको प्रसंग चल्यो । दाइ अझै एक दुई वर्ष बिहे नगर्ने अड्डीमा हुनु हुन्थ्यो ।
घरमा सबैले दिदीले देखाएका अरुहरूका फोटा हेर्याैं । तर दिदीले देखाएको फोटा र पारिवारिक पृष्ठभूमि हेर्दा सबैभन्दा पहिले कुरा गरेकी उर्मिला उपयुक्त हुने ठहर्यायाैँ । दिदीले सम्भावित भाउजुको नजिकको माइजु नाता पर्नेलाई चिन्नु भएको रहेछ । उहाँलाई नै लमी बनाएर पठाउने भयौँ । उहाँले आजै बेलुकी केटीको घरमा गएर कुरा राख्छु भन्नु भएछ ।
दाइले, “कि भाइको पनि एउटै लगनमा बिहे गर्दिने हो र आमा ?” भन्दै आमासँग जिस्किदै हुनु हुन्थ्यो । मैले पनि उहाँलाई, “जागिर सागिर नभएको म यस्तोलाई कस्ले दिन्छ र है आमा, आफ्नी छोरी । हजुर पो राजश्वको अफिसर, तछाँड मछाँड गर्छन त,” व्यँग्य गरेँ ।
“आज भोलिका बाआमा त अमेरिकाको भिसा लागेको केटो भए अरू केही हेर्दैनन् कान्छा,” उहाँले मलाई फुर्काएको भए पनि मख्खै पर्दिएँ ।
उता दाइको बिहेका लागि सकारात्मक जवाफ मिल्यो, राम्रो दिन जुराएर आउने निम्तोसहित । दाइको बिहेबारे चलेका कुराकानी आमाले मामाघरको हजुरबुवालाई सबै कुरा बताउनु भएछ । उताबाट उहाँले केटीका तर्फबाट के भन्छन् नत्र टिकाटालो गर्ने दिन त भोलि नै उत्तम छ भन्नु भएछ ।
यता, आमाले घरमा हजुरबुjfले भनेका कुरा सुनाउनु भयो । हामीले पनि एक हप्ताभित्र बिहे गर्नलाई टिकाटालो भोलि नै गर्दा समयको राम्रो व्यवस्थापन हुने विचार व्यक्त गर्याैँ । बुवाले घरतिर काकाहरू अनि मान्यजनसँग सोही व्यहोराको जानकारी दिनु भयो । केटीतर्फ हामीले आफ्नो अवस्था बुझायौँ । उहाँहरू पनि टिकाटालो गर्न राजी हुनु भयो ।
अमेरिका जाने सपिङ गर्दा गर्दै दाइको बिहेलाई सपिङमा जोड्ने भयौँ । पार्टी प्यालेस, पाहुनाको आमन्त्रण र व्यवस्थापन अनि अन्य तयारी दुइ दिनमै टुंगायौ । तेश्रो दिनमा त बिहे नै हुदैथियो । दिनभर गरेका कामहरु साँझमा समिक्षा गथ्यौ त्यस्ले भोलीपल्टका लागि गर्नुपर्ने कामको मार्ग निर्देश गथ्र्याे ।
बिहेको अघिल्लो दिन साँझमा आमाले “अहिले पो सबैजना भएर यति छिटो आँटेको काम पनि सजिलै पार लाग्ने भयो । अब कान्छो तँ गएपछि तेरो यो काम गराइ निरुको बिहे हुँदा खुब सम्झिने भइयो ।
तँ अमेरिका गएपछि चाहेको सबै पाएँ भन्ने होला यहाँ हामीलाई केही नभएको जस्तो हुन्छ । जे भए नि आफ्नो गाउँठाउँ भनेको आफ्नै हुन्छ ।
तेरा दाइ दिदी यही भए पनि तेरो अभाव सँधै हुन्छ । आफ्ना छोराछोरी जति वटा भए नि कहिले धेरै हुँदैन ।” यो कुरा तैले पछि थाहा पाउलास् । आमा त पूरै रुञ्चे स्वरमा भन्नु भयो । एकाएक माहोल भावुक बन्यो । मैले आफूलाई कठोर बनाउँदै आमालाई सम्झाएँ । दाइ दिदीले पनि सम्झाउनु भयो ।
आमा हजुर किन चिन्ता लिनु हुन्छ । म सँधैका लागि जाने होइन क्यारे । पढाई पूरा गरेर फर्किहाल्छु । हामी यही हजुरको वरिपरि बस्छौँ ।
भोलिदेखि हजुरलाई साथी भाउजु आइहाल्नु हुन्छ । त्यसपछि हजुर भान्सामा पनि एक्लै पर्नु हुन्न । तर आमालाई सम्झाउन सक्न अवस्था भएन ।
“ह्या… भोलिको बिहे छ, छोराको । दुलहीको घरजस्तो के बनाएको होला” भन्दै बुवाले प्रसंग मोडिदिनु भयो । हामीले बिहेको दिन लैजाने सामानकाे पूरा गरेर सुत्याैँ ।
भोलिपल्ट जन्ति लिएर गयाैँ । बेहुली पक्ष हामीलाई स्वागत गर्न पर्खिएका थिए । वैदिक परम्पराअनुसार बिहे सम्पन्न भयो । दुलही बनेकी भाउजुलाई घर भित्रायौँ ।
हतारमा दाइको बिहे सकाएर म अमेरिका उडेँ । जहाजले भुँइ छोडेलगत्तै स्वयम्भु र पशपतिनाथलाई सम्झिएँ । हिजोसम्म घरमा रमाइरहेको म परिवार, समाज र देशबाट छुट्टिनु पर्दा आँखाले पत्तो पाइसके छ । मनभरि, खुसी । तर, आइपर्ने संर्घषका खाका मनमनै कोरिरहेको थिएँ । झ्यालबाहिर हेरेँ । सधै माथि देखिने बादल तल देखिएका थिए । भुल्का भुल्की कपासजस्तै ।
०००
अमेरिका पुगे पनि परिवारको यादले सताउँदो रहेछ । म आफ्नो पढाईको काममा व्यस्त हुन थालेँ । प्रोफेसरलाई आफ्नो अनुसन्धानमा सघाउने गरी काम पनि गर्न पाएपछि मेरो व्यस्तता अझै बढ्यो ।
घरसँगको सम्पर्क पातलिँदो क्रममा थियो । दिदीको पनि बिहे भइसकेको थियो । उहाँ पनि घर गृहस्थी र कार्यालयको काममा व्यस्त हुनु हुन्थ्यो । त्यस्तै दाइ र भाउजुको पनि एउटा छोरी भएकी थिइन् । आमालाई दैनिक व्यस्त राख्न उनी काफी थिइन् ।
दाइले उप सचिवमा नाम निकालिसक्नु भएको थियो । यसपाली भाउजुको पोष्टिङ पनि अमेरिकामा हुने भएछ । अब, अमेरिकामा भेटौँला बाबु भन्दै भाउजुले गर्नु भएको म्यासेज पाउँदा खुसीको सीमा नै रहेन ।
भाउजुको पोष्टिङसँगै आमा पनि सँगै आउने हुनु भयो । अब अमेरिकामा पारिवारिक माहोल बनाउन पाइने खुसीमा पुलकित भएको मेरो मन नाप्ने औजार सायद बनेको थिएन होला ।
फरक राज्य भए पनि आफ्नो देशको प्रतिनिधित्व गर्दै भाउजु अमेरिका आउनु भयो । साथमा आमा अनि प्यारी छोरीलाई पनि भेट्न पाइने । म उहाँहरूलाई भेट्न गए । अनि एक दुई दिन उहाँहरूसँग घुमेर आफ्नो विश्वविद्यालय भएको ठाउँमा फर्किए । बिचबिचमा हाम्रो भेट भइरह्यो, कहिले म आउथे । कहिले भाउजु र आमा आउनु हुन्थ्यो ।
भाउजु र आमायता भएका ती वर्षको दशैँ त स परिवार अमेरिकामा नै मनायौँ । दाइ र बुवा छुट्टी मिलाएर आउनु भयो । खुब रमाइलो भयो । तर त्यो समय अत्यन्त छिटो बित्यो । आफ्नो कार्यकाल सकेर भाउजु स्वदेश फर्कनु भयो । आमा सँगसँगै उहाँसँगै नेपाल जानु पर्याे ।
अमेरिकामा रहँदा बस्दा आमा म यता आएको मन पराउन थाल्नु भएको थियो । तर बेला मौकामा आफ्नो देश भनेको आफ्नै हो अरू जति नै सम्पन्न भए पनि प्यारो बन्न सकिन्न भन्नु हुन्थ्यो । आमाले भन्नु भएका कुरा सम्झेर बस्ने समय मसँग कहाँ थियो र ।
मैले पिएचडी सकेँ । थेसिस बुझाउन बाँकी थियो । थेसिस बुझाएपछि होस्टल छोड्नु पर्ने भएकाले जागिर पक्का नभए रोकेको थिएँ । एक दुई ठाउँबाट अफर आएका थिए । आफ्नो अनुकुलको विचार गरेर छान्ने मनसाय गरेको थिएँ ।
त्यहीबेला हो चीनबाट फैलिएको कोरोना भाइरसले अमेरिकामा विध्वंशात्मक रुप लिन थाल्यो । मलाई जागिर अफर गर्ने दुई वटा संस्थाले पछिल्लो प्रतिकूल अवस्था नहटेसम्म जागिरमा बोलाउन असमर्थ भएको जानकारी दिइसकेका थिए । उता विश्वविद्यालयले छिटो थेसिस बुझउन ताकेता गरिरहेको छ । नेपाल छाडेको पाँच वर्ष पूरा भइसकेको थियो । आमा घरमा मेरो अझैसम्म जागिर र जीवन व्यवस्थित नभएको गुनासो गरिरहनु हुन्थ्यो । यता मेरो भिसाको अवधि सकिन थालेको र नयाँ जागिर नपाएको अवस्थामा नेपालमै फर्किनु पर्ने स्थिति हुन लागेको थियो ।
फेरि, नेपालमा फर्केर पाँच वर्ष पहिलाको ठाउँबाट गर्नुपर्ने संघर्ष सम्झेर उदेक लागेको बेला नयाँ इमेलको नोटिफिकेसन देखिन्छ मोबाइलमा । हेर्ने जाँगर पनि आएको छैन । कम्युटरमा सेभ भएका पुराना फोटो हेरेर टोलाउँदै छु ।
यसै क्रममा इमेल खोलेको अध्यागमन कार्यालयबाट मेरो पिआरको फाइल सुनिश्चित भएकोमा बधाई भन्दै आएको रहेछ । एक हप्तापछि हस्ताक्षर गर्न आएर आवश्यक कागजात बुझाउन भनेको रहेछ ।
आहा वर्षौदेखिको मेरो सपना बल्ल पूरा हुन लागेको थियो । मेरा निम्ति यो इमेल यस्तो अवस्थामा आइपुग्यो कि अब मैले मेरो अमेरिकाको बसाई बिट मार्नै आँटेको थिएँ ।
कत्ति पनि ढिलाई नगरी नेपालमा आमालाई म्यासेञ्जरमा फोन गरेँ । दाइलाई फोन गरेँ, उठेन । दिदीलाई सम्पर्क गर्न सकिनँ । आफूलाई भने शुभ खबर कतिबेला सुनाउ भइरहेको थियो ।
आमालाई मोबाइलमा फोन गरेँ, निकै ढिलो उठाउन भयो । तर, आवाज प्रष्ट आएन । फोनै काटियो । सोचे छोरीले मोबाइल खेलाउँदा काटियो होला । नेपालमा बिहान १० बज्यो यतिबेला फोन त सबैको उठ्न पर्ने । अन्तिममा दाइलाई फोन गरेँ, फोन उठ्यो । एकै सासमा मेरो पिआर आयो दाइ भन्न भ्याएँ ।
उताबाट ए मात्र भन्नु भयो ।
अचम्म लाग्यो । खाली मेरो चिन्ता मात्र गर्ने आमापछिको दाइले पिआर आयो भन्दा हुनु पर्ने जति उत्साहित हुनु भएन ।
हेलो दाइ, सन्नु भएको त छ नि ? प्रश्न गरेँ ।
अँ अँ सुनेँ । ल राम्रो भएछ । भन्दै फोन काटियो ।
नेपालको टेलिफोन नेटवर्क ठाउँ ठाउँमा नलाग्ने उफ । मनमनै रिस उठ्यो । भाउजुले बल्ल फोन उठाउनु भयो । उहाँको कुरा सुनेर मेरा हातगोडा फतक्कै भए ।
हिजो बेलकी खाना खाएर सुत्ने बेलामा बाथरुम छिर्नु भएको बुबा अचानक लडेर अचेत हुनु भएको रहेछ । अझै होस् आएको रहेन छ । उहाँलाई अस्पतालमा सघन उपचार कक्षमा राखिएको रहेछ । डाक्टरले अवस्था गम्भिर बताएपछि आमा पनि प्रेसर बढेर अस्पताल भर्ना हुनु भएछ । यी कुराहरू भाउजुले सुनाउँदै गर्दा सुन्नै सकिनँ ।
छटपटि बढ्यो । एक जना भाइलाई मेरो रुममा आउन अनुरोध गरेँ । एकैछिनमा ऊ आए । उसलाई मेरो कहानी सुनाएर नेपाल जाने बताए ।
उसले पिआर लिएर जानु नत्र, पछि आउन समस्या पर्ने कुरा गरे । उता बुबा आमाको अवस्था हेर्दा एक हप्ता पर्खिने अवस्था थिएन ।
यता आफ्नो जीवनकै खुसीको कुरा पिआर, उता बुवा आमाको स्वास्थ्य अवस्था । के गर्ने के बडो सकसमा परेँ ।
उसले हवाई टिकट चेक गर्दै थिए । साथै कोरोनाका कारणले धेरै देशले यात्रा प्रतिबन्ध जारी गरेका थिए । ट्राभल एडभाइजरी तथा ट्राञ्जिट देशका नियमहरू हेर्दै थिए ।
मन अशान्त भएको थियो । आमाले अमेरिका आउने तयारी गर्दै गर्दा भनेका कुराहरू सम्झिरहेको थिएँ । आँखाबाट आँशुको भेल बगिरहेको थियो ।
‘दाइ हजुरसँग दुई वटा विकल्प बाँकी छु,’ भाइले भन्यो ।
ऊतिर नजर सोझ्याएँ ।
भोलि यहाँबाट नगए ९ तारिखमा हजुर नेपाल पुग्नु हुन्छ । नत्र दश तारिखपछि नेपालमा लकडाउन सुरु हुँदै रहेछ । त्यो पनि कहिलेसम्म हुन्छ पत्तो हुँदैन ।
‘अब के गरौँ ?,’ म निरुत्तर थिएँ ।
उसले कतार हुँदै जाने टिकट देखाए । तुरुन्त बुक नगरे त्यो सम्भावना सकिन्छ दाइ ।
ओहो ! भर्खर मात्र पिआर हुने पक्का भएको खुसीको कुरा सेलाउन नपाउँदै घरको कुराले मन अधैर्य बनाएको थियो ।
सम्झेँ- आमालाई यो कुरा सुनाउँदा उहाँले के सुझाव दिनु हुन्थ्यो होला ।
ल्यापटपमा घोत्लिएको भाइले मेरो निर्णय कुर्दै थिए ।
उसले तपाई तुरुन्त नेपाल गए पनि बुबा आमालाई खास केही गर्न सक्ने होइन । आखिर अस्पतालमा उपचार भइराखेको छ । पिआर कन्फर्म नगरे अब अमेरिका आउन सास्ती हुने भन्दै थिए ।
बुबा आमाको स्वास्थ्य स्थितिको खबरले मन बेचैन भएको उसले प्रष्टै देखेका थिए । तुरुन्तै नेपाल फर्किने कुराको समर्थन गरेन ।
म अन्योलका बिच छटपटिएको बेला दाइले म्यासेन्जरमा फोन गर्नु भयो ।
मैले उहाँलाई आफ्नो डिसिजन सुनाएर फोन राखे ।
भाइ ट्वाँल्ल मलाई हेरिरह्यो…
प्रतिक्रिया