शुक्रबार, माघ ११, २०८१

दश महिने शिशु अपहरण गरी बेपत्ता पारेका अभियोगमा पक्राउ

मेरोन्यूज २०७८ भदौ ६ गते ९:५३

सुर्खेत । जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाएको अभियोगमा जुम्लाकै हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकायलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिए ।

अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान दिएको प्रहरी निरीक्षक शाहीले बताए ।

जिप्रका जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जुम्ला हिमा–३ का १९ वर्षीया किशोरीले यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर निवदेन दिएको जानकारी दिए ।

“घटना निकै गम्भीर र संवेदनशील छ”, उनले भने, “अनुसन्धानका क्रममा भएकाले अहिले नै यो हो भन्न सकिन्न । हामीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरिरहेका छौं ।”

नाटकीय ढङ्गबाट बच्चाको अपहरण
रोकायको अवैध सम्पर्कबाट शिशु जन्मेको बताइएको छ । किशोरीले गत कात्तिक महिनामा शिशुलाई जन्म दिएकी थिइन् । पीडित किशोरीका बुवा शक्तिबहादुर कठायतका अनुसार किशोरीले यस वर्ष राहदेव मावि मोफ्लाबाट माध्यमिक शिक्षा परीक्षा दिएकी थिइन् ।

उनले भने “छोरीलाई गाउँपालिकामा तालिम दिन्छु भनेर झुक्याएर दानबहादुरले जबर्जस्ती सम्बन्ध राख्यो । शिशु जन्मेपछि अपहरण समेत गर्‍यो । न्याय माग्न जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका छौं ।”

किशोरीले भनिन्, “यही भदौ ३ गते घर नजिकै पसलमा बसिरहेको थिए । राति ९ः०० बजेतिर दानबहादुर त्यहाँ आएर मलाई भन्यो, “तिम्रो आमाले बोलाउनुभएको छ । मैले आमाले किन बोलाउनुभयो भनेर हतपत्त शिशुलाई पसलकै ओछ्यानमा राखेर हिँडे । ऊ (दानबहादुर) मसँग आएन । पछि आमाले नातिलाई किन छोडेर आइस्, छिटो यही लिएर आइज भनेर म पसल जाँदा शिशु त्यहाँ देखिन । शिशु हराएपछि करायौं । स्थानीय प्रहरीलाई गुहार्‍यौं । अहिलेसम्म शिशु भेटिएको छैन ।”

किशोरीले रोकायले नाटकीय तवरबाट आफ्नो शिशुलाई अपहरण गरेको आरोप रोकायमाथि लगाएकी छिन् । उनले भनिन् , “मलाई झुक्याएर नाटकीय ढङ्गले शिशुको अपहरण गरियो ।”

किशोरीले दोषीमाथि कारवाही गरी आफ्नो शिशु सम्पर्कमा ल्याइदिन र आफूलाई न्याय दिन सरकारसँग आग्रह गरेकी छिन् । आरोपित युवा पक्राउ परिसकेकाले थप अनुसन्धानका लागि आज जुम्ला पठाइने सुर्खेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया