अफगानिस्तानबाट आएकालाई पोलियो थोपा खुवाउँदै
काठमाडौँ । सरकारले अफगानिस्तानबाट उद्धार गरी ल्याएका नेपालीहरूलाई पोलियो थोपा खुवाउने भएको छ । सोमबार अफगानिस्तानबाट १५० जनालाई सरकारले उद्धार गरेर ल्याउँदै छ ।
उनीहरूलाई केही आइपुगेसँगै विमानस्थलमा नै पोलियो थोपा खुवाइने कार्यक्रम रहेको स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । उनले अफगानिस्तान पोलियो जोखिमयुक्त क्षेत्र भएकाले त्यहाँबाट ल्याइएकहरूलाई पोलियो थोपा खुवाउन कार्यक्रम रहेका बताए ।
‘अफगानिस्तान पोलियोको उच्च जोखिमयुक्त क्षेत्र हो,’ उनले भने, ‘सरकारले अफगानिस्तानबाट आएकाहरुलाई जिल्ला–जिल्लाका खोप केन्द्रबाट पोलियो थोपा खुवाउने व्यवस्था मिलाएको छ, आजैबाट पोलियो थोपा खुवाइन्छ ।’
नेपालमा ५ वर्षमुनिका बालबालिकाहरुलाई मात्र पोलियो थोपा खुवाइदै आएको छ । तर, अब अफगानिस्तानबाट आएकाको हकमा भने उमेरको हदबन्दी कायम नभएको उनले मेरोन्युजलाई जानकारी दिए । अफगानिस्तान र पाकिस्तानमा मात्र सन् २०१६ यता पोलियो रोग देखिदै आएको छ ।
विश्व स्वास्थ्य संगठनअन्तर्गतको आइएचआर (इन्टरनेशनल हेल्थ रेगुलसन)को सिफारिसपछि अफगानिस्तानबाट फर्किएका नेपालीहरूलाई पोलियो थोपा खुवाउन लागेको महाशाखाले जनाएको छ ।
हालसम्म अफगानिस्तानबाट ५ सय ४ जना नागरिक स्वदेश फिर्ता भइसकेका छन् ।
प्रतिक्रिया