सोमबार, फागुन ४, २०८२

एमालेभित्रै ओलीसँग आत्मसर्पण कि,राजनीतिक सुरक्षा ?

मेरोन्यूज २०७८ भदौ ९ गते ९:५९

काठमाडौं । एमालेभित्रका दोस्रो पुस्तालाई राजनीतिक तहमा आशालाग्दो पुस्ताको रुपमा गणना हुने गरेको थियो । तर्क, संगठन, अध्ययन र जनपरिचालनमा समेत पोख्त रहेको यो पुस्ताले एमालेको भावी नेतृत्व गर्ने आसतीत संभावना समेत बोकेका थियो ।

Advertisement
nepal life insurencenepal life insurence

एमालेका अध्यक्ष केपीओलीसँग घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराईका कतिपय विचारहरु नमिलेपनि एमाले पार्टीका आसलाग्दा नेता हुन् । अरु पनि छन् । शंकर पोखरेल, प्रदीप ज्ञावालीलाई पनि वैचारिक नेताको रुपमा लिइन्छ ।

तर फरक विचार राख्ने यी चारै जना दुई दिन अघिसम्म ओली तथा ओली प्रवृतिका प्रखर बिरोधी थिए । ओली प्रवृति भन्नाले पार्टी भित्र काम गर्ने अधिनायवादी शैली र सरकारमा रहँदा गैरजिम्मेवार रुपमा पेश हुने तरिकालाई बुझ्नु पर्ने हुन्छ ।

शासकीय मुद्दाहरुमा जानकारी बिहीन रहने तर आफु नै सबैभन्दा जान्ने मान्छेको रुपमा पेश हुने, भ्रष्टाचारको बिरोध गर्ने तर भ्रष्टहरुको पक्षपोषण गर्ने, लोकतन्त्रको वकालत गर्ने तर आफ्नो राजनीतिक फाइदाको लागि सम्पुर्ण राज्यसत्ता नै कब्जा गर्न अग्रसर रहने नेताको रुपमा ओली चिनिन्छन् र यो प्रवृतिको बिरोध गर्ने नेताहरुमा पर्छन् भुसाल, बिष्ट, पाण्डे र भट्टराई ।

एमालेले स्थायी कमिटी बैठकबाट विधान अधिवेशन र महाधिवेशनको मिति तोकेको छ । ओली समूहभित्र रहेका इश्वर पोखरेल तथा सुवास नेम्वाङले ओलीबाट सहजै नेतृत्व खोस्ने अवस्था छैन ।

यसको अर्थ अर्को ४ वर्ष पनि ओलीकै नेतृत्वमा एमाले रहने स्थिति आइपुगेको छ । माधव नेपाल र झलनाथ खनालले आफुहरुलाई त्यहाँ अटाउन नसक्ने परिस्थिति बनेपछि उनीहरु नयाँ दल बनाएर किनारामा पुगिसकेका छन् । तत्काल एमालेको नेतृत्वमा नेपाल र खनाल आउने सम्भावना छैन । वामदेव गौतमको अवस्था अझै प्रष्ट छैन ।

उनी नेतृत्वका लागि तयार भएपनि पाउने अवस्था छैन । ठिक यही बेलामा यी चार नेताहरु भने आफ्नो राजनीतिक भविष्यको लागि ओली प्रवृतिलाई साथ दिनुपर्ने अवस्थामा पुगेका छन् ।

ओलीको मनपरी तन्त्रसँग आजित यी ४ नेताहरु अब देशको भविष्य भन्दा आफ्नो राजनीतिक सुरक्षामा केन्द्रित हुन थालेका देखिएका छन् । देशप्रति इमान्दार युवा नेताले आगामी एक चुनाब हेरेर राजनीति गर्ने भन्दा पनि मुद्दाको मेरिट हेरेर अघि बढ्नु उपयुक्त हुनेमा उनीहरुले राजनीतिक सुरक्षाको अवस्था खोज्दा कही कतै राजनीतिक इमान्दारितामा दाग लाग्ने होइन भन्ने कैयन प्रश्नहरु पनि सँगै उब्जिएका छन् ।

जनताले कुनैपनि हालतमा यी चार नेताहरुको प्रयास ओली प्रवृतिलाई निरास पार्नमा केन्द्रित हुन पर्ने अहिलेको अपेक्षा थियो । ओलीलाई नेतृत्वबाट बाहिर राखेर गरिएको एकताले मात्र एमालेलाई बचाउन सक्छ ।

तर लोभी पिछलग्गुहरुको भिडले ओलीलाई तुरुन्तै नेतृत्वबाट ओराल्न दिने छैनन् भन्ने राम्रोसँग बुझेका नेताहरुले पार्टीमा असार २७ गते गरेको १० बुँदे पुरै कार्यान्वयन नगरी जानुले उनीहरुले आत्मसर्मपण गरेको अर्थ लागेको छ ।

ओलीको नेतृत्व र उनीहरुको राजनीतिक सुरक्षा अबको एउटा चुनाबको लागि मात्र हो । त्यसपछि एमालेमा रहे पनि नरहे पनि ओली अहिले जति शक्तिशाली हुने छैनन् र नेपालका कम्युनिष्ट आन्दोलन फेरि एक पटक उत्कर्षमा पुग्ने समय आउने देखिन्छ ।

यसको लागि यी युवा नेताहरुले आफ्नो एक पटकको सम्भावित चुनाबी पराजयलाई स्वीकार गरेर भए पनि ओली प्रवृतिको बिरोधमा लाग्नु पर्नेहुन्थ्यो ।

‘पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वयन कमिटी जिल्ला कमिटी लगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई २०७५ साल जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने । १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटी तथा पार्टी सदस्य समक्ष प्रेसित गर्ने’, निर्णय १ मा भनिएको छ ।

त्यस्तै १० बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न कार्यदल बनाइएको छ । उक्त कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

२०७५ साल जेठ २ गते सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नविकरण अगाडि बढाइने नविकरणको क्रममा एकीकरणको क्रममा आवद्ध भएका सदस्यहरूको पनि नविकरण गरिने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यहरूको पनि नविकरण असोज मसान्तसम्म गर्ने निर्णय भएको छ ।

पार्टीको विधान महाधिवेशन यही असोज ४,५ र ६ गते काठमाडौंमा गर्ने र पार्टीको १० औं महाधिवेशन २०७८ मंसिर १०, ११ र १२ मा गर्ने निर्णय। विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ स्थायी कमिटी र २७ गते केन्द्रीय कमिटी बैठक आयोजना गर्ने, पार्टीका स्थानीय कमिटीलाई व्यवस्थित गर्नको लागि देशैभर २०७८ साल कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका वा सो सरहका कमिटीको अधिवेशन गर्ने,पार्टीको पछिल्लो निर्णय सम्प्रेषण गर्नको लागि २०७८ साल भदौ १६ देखि २० सम्म केन्द्रीय प्रशिक्षकहरूको उपस्थितिमा सबै जिल्लामा जिल्ला कार्यकर्ता भेला र जनसंगठनको केन्द्रीय कार्यकर्ताको भेला आयोजना गरिने,पार्टी केन्द्रीय कमिटीको बैठक भदौ १० गते काठमाडौंमा आयोजना हुने निर्णय गराएर उनीहरु गएपनि त्यहाँभित्र सहज ढंगले काम गर्ने वातावरण भने छैन ।

यसलाई पनि उनीहरुले बुझेका छन् । तर मलिन अनुसार लिएर हारेको सिपाई झै उनीहरुले ओलीसँगै बसेर तस्वीर मात्रै खिचाएका छैनन अबको दिनमा ओलीलाई लिएर देशव्यापी चुनावी मैदनामा भाग लिने संकल्प पनि गरेका छन् ।

विगतमा नेपाल पक्षमा रहेका भीम रावलसहितका ९ जना नेताहरुले भने संसद् विघटनको विरोध गर्दै सर्वोच्चको फैसलाबाट संविधान जोगिएको तर्क गर्दै आएका थिए । यसबाट उनीहरूको मञ्च मिले पनि मन मिलेको छैन भन्ने देखाउँछ । उनीहरूले विगतमा ओली प्रतिगमनकारी भएको बताउँदै आएका थिए ।

अब उनीहरू स्वयम ओलीसँग हुँदा अब कि त ओलीले प्रतिगमन गरेका थिएनन् वा गरेका भए पनि सच्याइसके भन्नुप¥यो कि त हामी पनि प्रतिगमनको कित्तामा उभियौ भन्नुपर्ने अवस्था छ । तर पनि राजनीतिमा यस्ता विषयहरु समीक्षा गर्दै जाने भनेर टारिरहेका छन् ।

अहिले यी दुवै पक्ष यी कुरा गर्न तयार छैनन् । यसबाट यो एकताको दिगोपनामाथि नै प्रश्न उठ्ने निश्चित छ । तर पनि नेताहरुले राजनीतिक सुरक्षा भने खोजेको महशुस हुने गरेको छ ।

प्रतिक्रिया