शनिबार, वैशाख २७, २०८२

सीमा विवादकाबीच पूर्व प्रधानसेनापतिहरूलाई भारतको निम्तो

मेरोन्यूज २०७८ भदौ १८ गते ११:०५

काठमाडौँ । भारतीय सेनाध्यक्षले नेपाली सेनाका पूर्व प्रमुखहरूलाई भारत बोलाएका छन् । भारतीय सेनाका सेनापति मनोज मुकुन्द नरभणेले भारतीय सेनाले नयाँ दिल्लीमा पहिलोपटक आयोजना गरेको चिफ कन्क्लेभ सेमिनारमा सहभागी हुन नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरूलाई निम्तो दिएका हुन । भारतीय सेनाले नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरूलाई बोलाएसँगै यसबारे प्रश्न उठेको छ ।

दुई देशको सीमा विवादका विषयमा नेपालभित्र बहस भइरहेको छ । नेपालमा भारतविरोधी भावना बढिरहेको छ । नेपालले आफ्नो तर्फबाट करिब २४ वटा जिल्लामा ८० स्थानमा सीमामा विवाद रहेको जनाए पनि औपचारिक रुपमा केही बताएको छैन । यस्तो अवस्थामा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरूलाई भारतीय सेनाले एकसाथ निम्ता गरेपछि सैनिक मुख्यालयसँगै चौतर्फी बहस सिर्जना भएको छ ।

सामान्यतया एक राष्ट्रले अर्का छिमेकी राष्ट्रका पूर्व प्रमुखहरूलाई बोलाएर सेमिनरको आयोजना गरिदैन । बहालवाल सैनिकलाई नै बोलाएर छलफल गरिन्छ । संयोगले अन्तर्राष्ट्रियस्तरका सभा सेमिनरमा भेटघाट हुनुबाहेक पूर्व प्रमुखहरूलाई एकैसाथ निम्ता गर्ने परम्परा छैन ।

‘सायद भारतले पहिलोपटक होला यस्तो सेमिनरको आयोजना गरेको,’ एक पूर्व जर्नेलले भने । नेपाल र भारतका बीच लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा विवाद चर्किएयता दुई देशका बीच निकै खटपटपूर्ण सम्बन्ध रहँदै आएको छ । नेपालका सबै भूतपूर्व प्रधानसेनापतिहरू भारतीय सेनाले एक साथ बोलाएपछि केही नजाने मनस्थितिमा छन भने केही जाने भएका छन् ।

नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार हालसम्म जीवित सात जना भूतपूर्व प्रधानसेनापतिहरू र यसै महिनाको २४ गतेदेखि भूतपूर्व हुन लागेका सेनापतिलाई समेत भारतीय सेनाले औपचारिक निम्तो गरेको हो । यही सेप्टेम्बरको १७ र १८ का दिन दिल्लीमा भारतीय सेनाको विशेष कार्यक्रम भन्दै सबैलाई निम्तो दिइएको छ ।

भारतीय सेनाको निम्तोलाई पूर्वप्रधानसेनापतिहरू धर्मपालबरसिंह थापा, प्यारजंग थापा, रुक्मांगद कटवाल, गौरव समशेर राणा र राजेन्द्र क्षेत्रीले स्वीकार गरी आफूहरू सहभागी हुने जानकारी दिएका छन् । प्रज्वल्लसमेशर राणाको स्पष्ट भइनसकेको तर छत्रमानसिंह गुरुङ र भदौ २४ गतेदेखि भूतपूर्व हुन लागेका हालका सेनापति पूर्णचन्द्र थापाले आफू सहभागी हुन नसक्ने जानकारी गराएको पनि स्रोतको दाबी छ ।

पूर्वसेनापति कटवाल भने हाल अमेरिकामा रहेका छन् । विगतमा नेपाल सरकारसँग सम्बन्ध जटिल बनेको बेला नेपाली सेना र भारतीय सेनाका बीच संवाद अघि बढाएर राजनीतिक तहलाई दबाब दिने र दुई देशका बीचको जटिलतालाई सरलीकृत गर्ने कार्य पनि हुँदै आएको थियो । पछिल्लो उदाहरणका रूपमा सन् २०१५ को भारतीय नाकाबन्दीका बेला नेपाली सेनाका तत्कालीन प्रधानसेनापति, गौरव शमशेर राणा र राजेन्द्र क्षेत्रीले सैन्य कुटनीतिका माध्यमबाट भारतीय सेनासँग समन्वय गरी नाकाबन्दी हटाउन उल्लेख्य भूमिका खेलेका थिए ।

अहिले नेपालमा भारतको सुरक्षा चासो निकै बढेको छ । उसले सुरक्षा निकायलाई आफ्नो प्रभाव पार्न विभिन्न उपाएको खोजी गरिरहेको छ । खासगरी सैनिक सम्बन्धमा जोड दिँदै पनि आएको छ । तर, भूतपूर्व सेनापतिहरूलाई सेमिनारको नाममा बोलाएर नेपाल सरकार तथा नेपाली सेनाको नयाँ नेतृत्वलाई के सन्देश दिँदै छ भन्नेचाहि गर्भमै रहेको छ । चार वर्षयता सैनिक मुख्यालय र नेपालले भारतबाहेक तेस्रो मुलुकसँग नेपाली सेनाका लागि अत्याधुनिक हतियार खरिद गरेकोमा प्रायजसो गुनासो गरिरहेको छ ।

पूर्वसेनापति गौरव शमशेर जबराको पालामा नेपाली सेनाले इजरायलबाट अत्याधुनिक मानिएको गलिल हतियार खरिद गरेको थियो भने पूर्वसेनापति राजेन्द्र क्षेत्रीको कार्यकालमा नेपाली सेनाले इजरायलबाट अति आधुनिक हतियार टेवोर खरिद गरेको थियो । त्यसपछि अमेरिकाबाट पनि एम १६ हतियार नेपाली सेनाले खरिद गरिसकेपछि भारतले सीधै नभने पनि सैन्य कुटनीतिमार्फत आपत्ति जनाएको थियो ।

भारत सरकार र भारतीय सेनाले सैनिक कुटनीति र अन्य माध्यमबाट नेपाललाई अरु मुलुकबाट हतियार नकिन्न र चाहिएको हतियार भारतीय सेनाले नै दिनसक्ने भन्दै आएको बेला यो सेमिनार हुन लागेको हो । यो सेमिनारको उदेश्य भाइचारा भनिए पनि भारतीय पक्षबाट को को सहभागी हुन्छन भनेर समेत खुलाएको छैन । पछिल्लोपटक उत्तरी छिमेकी मुलुक चीनको सेनासँग नेपाली सेनाले ज्वाइन्ट मिलिटरी एक्सरसाइज नेपालमै गराउने गरेको कुराप्रति पनि भारतीय सेनाले विभिन्न माध्यमबाट असन्तुष्टि जनाएको थियो ।

तर, पनि भारतले नेपाल र भारतीय सैनिकबीच हुने सूर्य किरण सैन्य अभ्यासलाई निरन्तरता दिँदै आएको छ । अहिले सूर्य किरण सैन्य अभ्यास भारतको पिथौरागढमा हुने मिति तय भइसकेको छ । नेपालले लिम्पियाधुरा लिपुलेकसहितको चुच्चे नक्सा जारी गरेपछि भारतीय सेनापति मनोज मुकुन्द नरभणेले नेपालविरुद्ध अभिव्यक्ति दिँदा नेपालमा भारतविरोधि भावनालाई बल पुगेको थियो ।

नेपाललाई चीनले प्रयोग गरेको आरोप लगाएर दुई देश र सेनाका बीच संवन्धमा दरार आएका बेला हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले सैन्य कुटनीतिकै माध्यमबाट भारतीय सेनापतिलाई आफ्नो नेपालविरोधी भनाई आफैले सच्याउनु पर्ने अवस्था सिर्जना गराएका थिए । नरभणेले देहरादुनको एउटा कार्यक्रममा बोल्दै नेपालप्रति सद्भावपूर्ण कुरा बोलेर पुरानो भुल सच्याउनु परेको थियो ।

प्रतिक्रिया