मंगलबार, फागुन ५, २०८२

एमाले–सभामुख द्वन्द्व बढ्ने संकेत

एमालेको सम्भावित विरोध झेल्ने उपायको खोजीमा सभामुख, प्रचण्डसँग भेटवार्ता

पर्सि संसद शुरु हुदैछ । हामीले सोध्नै पर्ने हुन्छ - यस्तो मान्छे सभामुखको कुर्सीमा विराजमान हुनु देशकै दुर्भाग्य : ओली

शित्तल शर्मा २०७८ भदौ २१ गते २०:०१
फाइल फोटो

काठमाडौं । सरकारले संसदको अधिवेशन आह्रवान गरेसँगै संसदमा प्रमुख प्रतिपक्षी दल एमाले र सभामुखवीच द्दन्द्द बढ्ने संकेत देखिएको छ । एमाले अध्यक्ष केपी ओली सरकारको नेतृत्वमा रहेदेखि नै ओली र सभामुख अग्नि सापकोटाका वीचमा द्दन्द्द चल्दै आएको थियो । ओली सरकारमा रहँदा नै सरकारले सम्वैधानिक परिषद्सँग सम्वन्धित गरेको निर्णय, संसद विघटन देखि अन्य कतिपय निर्णयमा सभामुख सरकारको निर्णयको विपक्षमा दह्रो गरी उभिदिएका थिए । त्यसवेला देखि वढेको असन्तुष्टिको आगो एमालेले संसदको अव शुरु हुन लागेको अधिवेशनमा ओकल्ने प्रयास गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अहिले माधव नेपाल सहित १४ सांसदलाई एमालेले कारवाही गरी पदमुक्त गर्न सिफारिस गरी पठाएको निर्णयमा सभामुख सापकोटाले कुनै निर्णय नदिई एमाले विभाजित हुन बल पुराएको र एमाले फुटाउन षडयन्त्र गरेको भन्दै एमाले सभामुखसँग आक्रोशित छ । अहिले एमाले विभाजित भएको छ । माधव नेपालको दलले निर्वाचन आयोगवाट दल दर्ताको प्रमाणपत्र पाएको छ । माधव नेपालहरुमाथी कारवाहीका लागि एमालेले पठाएको पत्रमा निर्वाचन आयोगले सोधेको प्रश्नमा सभामुखले विचाराधिन रहेको जवाफ दिएका थिए । त्यसमा ओलीको सवैभन्दा वढी आक्रोश छ ।


अन्य दलले कारवाही सिफारिस गरेकोमा तत्कालै निर्णय दिएको, तर एमालेले कारवाही सिफारिस गरेकोमा निर्णय नगरी अडकाएर राखेको, निर्वाचन आयोगलाई समेत मुद्दा विचाराधिन रहेको भनी जवाफ पठाएर एमाले विभाजनमा सहयोगी भूमिका खेलिदिएको र एमाले विभाजित भएपछि सान्दर्भिकता सकिएको भन्दै जवाफ दिएकोमा एमाले सभामुखसग आक्रोशित छ ।

यसका लागि संसद बैठकमा सभामुखको विरुद्ध निक्कै कडा रुपमा प्रस्तुत हुने संकेत एमाले नेताहरुको सार्वजनिक रुपमा दिईसकेका छन् । दिनहुँ एमाले अध्यक्ष केपी ओली सहित एमालेका नेताहरुले सभामुखमाथी आक्रामक रुपमा सार्वजनिक अभिब्यक्ति दिईरहेका छन् । सोमबारमात्रै पनि ओलीले सभामुख लक्षित गदै सभामुख एमालेविरुद्ध जालजेल गर्ने सरकारको एउटा मोहोरा मात्र बनेको भन्दै कडा कटाक्ष गरेका थिए ।

राष्टिय युवा संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले सभामुखलाई लक्षित गदै आक्रोश पोखेका थिए । ओलीको सभामुखलक्षित यो पछिल्लो अभिब्यक्तिले पनि देखाउँछ, एमाले भदौं २३ को संसदको अधिवेशनमै कडा रुपमा प्रश्न उठाउने र विरोधमा उत्रने तयारीमा छ ।

के भनेका थिए ओलीले ?

पर्सि संसद शुरु हुदैछ । हामीले सोध्नै पर्ने हुन्छ, सभामुखलाई , सभामुख हो की कुनै पार्टीको कार्यकर्ता कि गठबन्धनको मतियार हो की एमालेविरुद्ध जालझेल गर्ने सरकारको एउटा मोहोरा कि के ? के हो सभामुख भनेको ? प्रमुख प्रतिपक्ष पार्टी फुटाउन सरिक हुने, षडायन्त्रको हिस्सेदार, षडायन्त्रको भागिदार अनि एउटा षडयन्त्रको अंग भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह गर्न सक्दैन । हामीले गम्भिर प्रश्न उठाउनै पर्छ । अग्निप्रसाद सापकोटा सभामुख हो की गठबन्धनको प्यादा हो की एमाले विरोधी हो ।

एमाले विरुद्ध षडयन्त्र गर्ने ? संसद शुरु हुन्छ, सभामुखको आसनवाट भन्छन्, अधिनायकवादको पराजय हो भनेर । किन यस्तो भाषा बोलिन्छ ? प्रमुख प्रतिपक्षका विरुद्ध आक्रामण र हमला गरिनछ ? राजनीतिक लान्छना लगाइन्छ सभामुखको कुर्सीवाट ? कुनै नम्स थाहा छैन । कुनै भ्यालु थाहा छैन, कुनै महत्व थाहा छैन । यस्तो मान्छे सभामुखको कुर्सीमा विराजमान छ । यस्तो दुर्भाग्य यो देशको ? लडेर बलिदान दिएर यत्रो सिष्टम ल्याइयो, त्यो सिष्टमको टुप्पो टुप्पोमा हेर्नुस त कस्ता मान्छे छन् ?

सभामुख आफ्नै रणनीतिमा


एमालेले आफनो विरुद्द निरन्तर सार्वजनिक अभिब्यक्ति दिने र कडा रुपमा प्रस्तुत हुने संकेत गरेपछि सभामुख पनि आफु विरुद्ध प्रमुख प्रतिपक्षले चर्काउन सक्ने सम्भावित रणनीति झेल्ने उपायको खोजीमा जुटिसकेका छन् । एमालेले ओली प्रधानमन्त्री रहँदा नै माधव नेपाल लगायतका नेताले दलीय ह्वीप उल्लंघन गरेकोमा कारवाही गदै पदमुक्त गर्न संसद सचिवालयमा पत्र दर्ता गराएको थियो । त्यस यता केन्द्रीय समितिको बैठक बस्न नसकेको भन्दै उसले पछिल्लो साउनको केन्द्रीय समितिलाई आधार बनाएर नेपाल सहितका नेतालाई कारवाही प्रक्रिया अगाडी वढाउँदै पदमुक्त गर्ने गरी संसद सचिवालयमा पत्र दर्ता गराएको थियो ।

तर त्यसवीचमा पनि एमालेको पटक पटक केन्द्रीय समिति बैठक बसेको र त्यससम्वन्धी कुनै निर्णय नलिएको , तर जव माधव नेपालले पार्टी विभाजनसम्वन्धि निर्णय लिन खोजे, त्यसपछि भने कारवाही गर्ने गरी ओलीले संसद सचिवालयमा पत्र दर्ता गराएका थिए । त्यसैलाई आधार बनाएर सभामुखले नेपाल सहितलाई कारवाही गर्ने प्रक्रिया अध्ययनकै क्रममा राखेका थिए ।

यसलाई एमालेले आक्रमणको तारो बनाउने गरी उनीमाथी निरन्तर दवावको रणनीति अवलम्वन गरेका थिए । यही वीच संसद अधिवेशनमा एमालेले यस विषयमा प्रश्न उठाउने देखेपछि उनले पनि आफुमाथी प्रमुख प्रतिपक्षले गर्न सक्ने आक्रमण झेल्ने उपायको खोजी शुरु गरेका छन् । उनले सत्ता गठवन्धन दलका नेताहरुसँग र प्रमुख प्रतिपक्षी दलका नेतासँग पनि संसद वैठक कसरी सहज रुपमा सञ्चालन गर्ने भन्नेमा छलफल शुरु गरेका छन् । त्यही क्रममा उनले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता गरेका छन् ।

प्रचण्ड – सभामुख भेटवार्ता

ओलीले राष्टिय सभा गृहवाट सभामुखमाथी निक्कै आक्रोशित भावमा आरोप लगाईरहँदा सभामुख सापकोटा भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई आफ्नै सरकारी निवास लैनचौरमा भेटवार्ता गरिरहेका थिए ।

२३ भदौंबाट शुरु हुने संसदको अधिवेशनमा एमाले आक्रामक रुपमा आउने देखेपछि त्यसको सामना कसरी गर्ने भन्ने विषयमा सभामुख र प्रचण्डका वीचमा अनौपचारिक कुराकानी भएको हुनसक्ने स्रोतले बताएको छ । यद्यपी, छलफलका विषय दुवै पक्षले खुलाएका छैनन ।

ओली – सभामुख : एक अर्का विरुद्ध अदालतमा


एमाले अध्यक्ष ओली र सभामुखका वीचमा समधुर सम्वन्ध एकै पार्टीमा रहँदा देखि नै बनेन । महराले सभामुखवाट राजीनामा दिएपछि ओलीले सुवास नेम्वाडलाई सभामुख बनाउन चाहेका थिए । त्यसवेला एमाले माओवादी मिलेर बनेको तत्कालिन नेकपामा ओली एकातिर र प्रचण्ड, माधव नेपाल ,झलनाथ खनाल लगायतका नेताहरु अर्काेतिर उभिने गरी विवाद चर्किन थालिसकेको थियो ।

तर पार्टीभित्रका वहुमत नेताका अगाडी ओलीको केही जोर चलेन । सभामुखमा अग्नि सापकोटा निर्वाचित भए । तत्कालिन नेकपाका उपाध्यक्ष बामदेव गौतमको निवास भैसेपाटीमा २०७६ पुस २३ मा सचिवालयका वहुमत सदस्य छलफलमा बसेर सभामुखमा माओवादी धारका नेतालाई बनाउने समझदारी जुटाएका थिए । त्यसपछि अग्नि सापकोटालाई ओलीको अरुचीका वीच पनि सभामुख बन्ने वाटो खुलेको थियो ।

त्यसपछि ओलीले सरकारको तर्फबाट अमेरिकी सहयोग नियोग एमसीसी परियोजना संसदमा लगेर पास गर्न चाहे । तर सभामखुले राष्टिय सहमति विना यो विषय संसदमा लैजानै चाहेनन । अझै पनि संसदमा यो विषय विचाराधिन नै छ । ओलीले त्यसपछि सभामुखमाथी निरन्तर हमला गरिरहे । त्यसपछि संसद अधिवेशन अन्त्य गर्दा या शुरु गर्दा त्यसवेला प्रधानमन्त्री रहेका ओलीले कहिल्यै सभामुख सापकोटासँग परामर्श गरेनन ।

निरन्तर संसद सञ्चालनमा परामर्श गर्नुपर्ने प्रधानमन्त्री र सभामुखका वीचमा सामान्य छलफल हुन समेत महिनौ कुर्नपर्ने अवस्था रह्यो । त्यही वीच ओलीले दुई दुई पटक संसद विघटन गरे, सभामुखले संसद विघटनको विरुद्ध सर्वाेच्च गए । सम्वैधानिक परिषदसम्विनिध निर्णयमा ओलीले आफुसँग कुनै परामर्श नगरेको भनी परिषद् बैठकमा अनुपस्थित हुने र ओलीले गरेका निर्णय विरुद्ध सभामुख नै पहिलो पटक कार्यपालिका प्रमुखले गरेको निर्णय विरुद्द ब्यवस्थापिका प्रमुख सर्वाेचच अदालत मुद्दा लिएर गए ।

त्यो मुद्दा अहिले पनि सर्वाेच्चको सम्वैधानिक वेन्चमा छ । प्रधानन्यायाधिस उक्त इजालसमा बस्न पाउने नपाउने विवादले केही दिन यता यो विषय पन िअदालतभित्रै गिजोलिएको छ ।

जसकाकारण पनि एमाले अध्यक्ष ओली र सभामुख सापकोटाका वीचमा कहिल्यै सम्वन्ध समधुर बन्न सकेन ।

अर्काेतिर सरकारबाट वाहिरिएर ओली प्रमुख प्रतिपक्षमा पुगेपछि पनि ओली र सभामुखका वीचमा सम्वन्ध उस्तै टसलकै अवस्थामा छ । पछिल्लो पटक माधव नेपाललगायत १४ सांसदलाई सभामुखले कारवाही नगरेको र सभामुखले एमाले फुटाउन एकप्रकारले भूमिका खेलेको भन्दै ओलीका तर्फबाट एमाले अदालतमा पुगेको छ । जसले गर्दा ओली विरुद्ध सभामुख र सभामुखविरुद्ध ओली सर्वाेच्च धाउने सम्मको अस्वस्थ विवादमा छन् ।

जसले गर्दा पनि अव शुरु हुने संसद अधिवेशनमा एमाले सभामुख द्दन्द्द पेचिलो बन्ने देखिएको छ ।

प्रतिक्रिया