आज दर खाने दिन, महिलाहरु तीजमा रमाउँदै

काठमाडौं । हरितालिका (तीज) व्रतको तयारीस्वरुप बुधबार दर खाने दिन । तीज भन्दा १५ दिनअघिदेखि नै नाँचगान गरेर रमाइलो गर्ने गरिए पनि तीजको अघिल्लो दिन दर खाएर नाँचगान गरी रमाइलो गर्ने प्रचलन छ ।
माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा भए पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायम रहेका कारण धेरै महिलाले सजगताका साथ तीज मनाउनुपर्ने अवस्था छ । अघिल्लो वर्ष पनि कोरोनाको कारण तीज महिलाहरु जम्मा भएर धुमधामसँग मनाउन पाएका थिएनन् ।
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन रातीसम्म दर खाएर रमाइलो गर्ने गरिएको हो ।
महिलाहरुले शक्ति प्राप्तिका लागि मीठामीठा एवं आडिलो परिकार दरका रुपमा खाई बिहीबारको व्रतका लागि पूर्वतयारी गर्छन् ।
विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको छ ।
महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् ।
तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।
तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
प्रतिक्रिया