१६ लाखको ब्याजमा ६० लाख असुली, जग्गा फिर्ता माग्दा धम्की

लहान । लिएको ऋणको साँवा र ब्याज चुक्ता गर्दासमेत साहुले दृष्टिबन्धकमा राखेको जग्गा फिर्ता नगर्दा सप्तरीको बोदे बर्साइन नगरपालिका ५ का मोहमद तैयबको परिवार चिन्तामा डुबेको छ । घर खर्च चलाउन तैयबले २०७१ सालमा एक कठ्ठा आठ धुर जग्गा स्थानीय रामदेव साहको नाममा लिखत पास गरी ३८ लाख ७० हजार ऋण लिएका थिए ।
तैयबले हालसम्म साहलाई साँबा ब्याजसहित ४५ लाख २० हजार बुझाइसकेका छन् । बाँकी रकम चुक्ता गर्न आफू तयार भए पनि साहले जग्गा फिर्ता गर्न नमानेको उनले बताए । ‘मेरो पूरै परिवार मानसिक तनावमा छ,’ तैयबले भने ।
साहले तैयबको जग्गा फिर्ता गर्न विभिन्न बहाना बनाउँदै आएका छन् । ऋणबापत लिएको ३८ लाख ७० हजारको हालसम्म साहले ब्याजसमेत गरेर ८१ लाख हिसाब भएको तैयबलाई सुनाउँदै आएका छन् । आफ्नो जग्गा फिर्ता आउँछ कि आउँदैन भन्ने चिन्ता तैयबलाई परेको छ ।
साहसँग धितोमा जग्गा राखेर २०७६ कात्तिकमा १२ लाख ऋण लिएका बोदे बर्साइन नगरपालिका–५ कै मदनलाल साह पनि एक वर्षमै ब्याजसहित २५ लाख तिर्नु परेको पीडा सुनाउँछन् । घर खर्चका लागि १२ कठ्ठा १७ धुर जग्गा साहको नाममा दृष्टिबन्धक लिखत पास गरी १२ लाख ऋण लिएको उनले बताए । ‘ऋण ब्याजसहित फिर्ता गरिसकेको छु, जग्गा फिर्ता गर्नुको साटो उल्टै साहले मेराविरुद्ध लेनदेनको मुद्दा हाल्नुभएको छ,’ मदनलालले भने । ब्याजसहित ऋण चुक्ता गरिसकेकाले जग्गा फिर्ताका लागि गत वर्षदेखि साहलाई आग्रह गर्दै आएको उनको भनाइ छ ।
यस्तै १२ लाख ऋण लिएका सोही वडाका रामप्रसाद खत्बेको अवस्था पनि साहकै जस्तै छ । घर खर्चका लागि साहसँग लिएको ऋण एक वर्षअघि नै चुक्ता गरे पनि जग्गा फिर्ता नपाएको उनको गुनासो छ । सप्तरीको शम्भुनाथ नगरपालिका कठौनाका ललिता मण्डल पनि साहकै ऋणका कारण आफ्नो परिवार बिचल्लीमा पर्ने अवस्था आएको बताउँछन् ।
श्रीमानलाई वैदेशिक रोजगारमा पठाउन १५ कठ्ठा जग्गा साहको नाममा लिखत पास गरी चार लाख ऋण लिए पनि हालसम्म ब्याजसहित २५ लाख फिर्ता गरिसकेको मण्डलले बताइन् । ‘साहले जग्गा फिर्ता गर्न मान्नुभएको छैन,’ उनले भने, ‘उल्टै धम्की दिँदै आउनुभएको छ ।’
सप्तरीको खड्क नगरपालिका ६ का छेदीलाल पासवानको पीडा पनि कहाली लाग्दो छ । उनले २०७३ सालमा चार कठ्ठा १९ धुर जग्गा साहको नाममा दृष्टिबन्धक पास गरी १६ लाख ऋण लिएका थिए । पासवानले ब्याजसहित अहिलेसम्म ७६ लाख ६२ हजार तिरिसकेका छन् । सप्तरीका ३० जनाभन्दा बढी साहको ऋणको भारी बोक्दै मानसिक तनाब झेल्दै आएका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नहाका ध्रुवनारायण साह, बोदे बर्साइन नगरपालिका ९ देउरीका वीरेन्द्र यादव, शम्भुनाथ नगरपालिका ३ का रमाकान्त चौधरी, खड्क नगरपालिका ८ का बच्चालाल साह, सुरुङ नगरपालिका–४ का सबुर चौधरी, रुपनी गाउँपालिकाका अरबिन्द साह, बोदे बर्साइन नगरपालिकाका मोहमद सौदागर, सतदेव पौदार, मोहमद सागर हुसैन, मोहमद असलमलगायतले साहबाट ऋण लिँदा दुःख पाएका छन् ।
ऋण चुक्ता गर्दासमेत साहले जग्गा फिर्ता नगर्दा घरबारविहीन भएको पीडितको भनाई छ । साहले आफूहरूको जग्गा फिर्ता नगरे कानुनी उपचार खोज्ने उनीहरूले बताएका छन् ।
आरोपित साहले भने आफूले उनीहरूसँग रकम तिरेर जग्गा खरिद गरेको बताए । उनले भने, ‘मैले जग्गा किनेको हुँ, अहिले जग्गाको मूल्य बढेकाले लोभ लागेर उनीहरूले जग्गा फिर्ता मागिरहेका छन् ।’ राजु विश्वकर्मा/ रासस











आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
निर्वाचन ७० दिन बाँकीः निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया