बुधबार, फागुन ६, २०८२

एमालेको निश्कर्षः प्रमुख प्रतिपक्षी दलमाथि बलमिच्याइँ

संसदीय मर्यादा सिकाउन संसदीय दलको बैठक बोलाइयो

मेरोन्यूज २०७८ भदौ २६ गते २०:०३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को शनिवार बसेको स्थायी कमिटी बैठकमा संसदीय मर्यादादेखि संशोधन बजेटबारेमा छलफल भएको छ ।

आफू सत्ताबाट बाहिरिएपछि संसद चल्दै नदिने योजना बनाएको एमालेले शुक्रबार प्रतिनिधिसभा बैठक बिथोल्न निकै प्रयास गरेको थियो । तर बिरोधकै बाबजुद नेपाली कांग्रेस नेतृत्व गठबन्धन सरकारले प्रतिस्थापन विधेयक मार्फत बजेट ल्याएपछि सरकारविरुद्ध नयाँ रणनीति बनाउन शनिवार स्थायी कमिटी बैठक बोलाइएको थियो ।

शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनको नयाँ मिति तय गर्नेदेखि प्रतिनिधि संख्या तोक्ने निर्णय गरेको छ भने आफूहरुको बिरोधकैबीच प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सञ्चालनकाबारेमा गम्भीर छलफल भएको एक स्थायी कमिटी सदस्यले बताए ।

विपक्षी दलमाथि बल मिच्याईँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि बलमिच्याईँ गरेर सत्ता गठबन्धन अघि बढेको स्थायी कमिटी बैठकले निश्कर्ष निकालेको छ ।
बैठकले एमालेको विरोधका बावजुद प्रतिस्थापन विधेयक ल्याउने काम गरेर नेकपा (एमाले)लाई बलमिच्याइँ गरेको निष्कर्ष निकालेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

बिरोधकैबीच प्रतिस्थापन विधेयक ल्याउने काम अशोभनिय भएको उनले बताए । आफ्नो सरकारले ल्याएको लोकप्रिय बजेटको कटौती गरेर कुनै सल्लाह नै नगरी हचुवाको भरमा कार्यक्रम थपेको उनले आरोप लगाए ।

सभामुखकाे भूमिकाप्रति आलोचना

एमालेले संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति पनि आलोचना गरेको छ । पार्टी फुटाउन सभामुखले अध्यादेश ल्याएको भन्दै एमाले नेताहरु सभामुख सापकोटाप्रति रुष्ट छन् ।

संसद बैठकबस्नुभन्दा केही दिनअघिको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटालाई ‘आँपे’ गाली गर्दै संसदको कुनै नम्स नबुझेको भनी टिप्पणी गरेका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

उनले प्रतिपक्षी दल कस्तो हो भनी देखाइदिनेसमेत घोषणा गरेका थिए । त्यही तयारीका साथ संसदमा उपस्थित भए पनि सभामुख सापकोटाले संसद सूचारु गर्दै सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने वातावरण बनाइदिए ।

एमाले फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै आएको एमालेको स्थायी कमिटीमा पनि सभामुखको आलोचना भएको छ ।

सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको बैठकपछि एमाले सचिव भट्टराईले आरोप लगाए ।

अहिले सडकमा भइरहेको शान्तिपूर्ण आन्दोलनहरुमाथि पनि सरकारले अनावश्यक धरपकड गरेकाले स्थितिलाई उत्तेजित नबनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको भट्टराईले जानकारी दिए ।

मर्यादा सिकाउन दलको बैठक आह्वान

प्रतिनिधिसभा बैठकमा एमालेको बिरोधकाबीच संसद बैठक चलेको मात्र नभई बैठकमा एमाले सांसदहरुले पनि मर्यादा नाघेको भन्दै आलोचना भइरहेको छ ।

संसदमा एमालेले नाराबाजी गरिरहँदा केही सांसदहरुको सांसदको बुइ चढेर मर्यादापालकलाई नाघ्ने कोशिश गरेका थिए । संसदीय मर्यादा पालना गर्ने सन्दर्भमा आफ्ना सांसदहरु चुकेको नेताहरुले निश्कर्ष निकालेका छन् ।

एमालेले आइतबार संसदीय दलको बैठक पनि बोलाएको छ । सभामुखको भूमिकालाई लिएर संसदमा विरोध गरिरहेको एमालेले विरोधका सीमा र संसदीय मर्यादा कायम गर्नेबारेमा स्पष्ट गर्न संसदीय दलको बैठक बोलाइएको एमाले सचिव भट्टराईले बताए ।

विधान महाधिवेशनको प्रतिनिधि टुङ्गो

प्रमुख प्रतिपक्षी दल एमालेले विधान महाधिवेशनको नयाँ मिति तग गर्दै प्रतिनिधिको संख्या टुङग्याएको छ ।

आगामी असोज १५ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गर्दै विधान महाधिवेशनमा करिब तीन हजार प्रतिनिधिले भाग लिने निर्णय गरेको सचिव भट्टराईले जानकारी दिए ।

एमालेको विधानमा महाधिवेशनमा विधान परिषद्का सदस्यले भाग लिने व्यवस्था गरिएको भए पनि परिषद् सदस्य रिक्त छ ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्य, केन्द्रीय आयोगहरुका सबै पदाधिकारी र सदस्य, विभागबाट १५ जना, सबै जनवर्गीय संगठनबाट १०–१० जना राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशका सांसदहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु, प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिला, एक पुरुष र एक दलित, स्थानीय तहका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको सहभागिता गराउने निर्णय भएको छ । दश प्रतिशत प्रतिनिधिहरु भने केन्द्रीय कमिटीले मनोनित गर्नेसमेत वैठकले निर्णय गरेको सचिव भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया