बुधबार, फागुन ६, २०८२

राष्ट्रियसभामा एमालेको अवरोध कायमै, समितिको प्रतिवेदन पेश

मेरोन्यूज २०७८ भदौ २८ गते १४:१०

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको छ । बैठक शुरु हुनासाथ एमालेका सांसदहरूले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पार्टीका सांसद भैरवसुन्दर श्रेष्ठलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

सांसद श्रेष्ठले दलीय आधारमा निर्वाचित सांसदलाई दलको निर्देशन नमान्दा आफ्नो दलले गरेको कारबाहीको सिफारिसलाई सभामुखले कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको बताए । उनले दलको निर्देशन नमान्ने १४ सांसदलाई कारवाहीको सिफारिस गरे पनि सभामुखले लामो समयसम्म कार्यान्वयनमा नलगी एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाएका थिए ।

उक्त विषयमा प्रतिनिधिसभाका सभामुखले कुनै किसिमको गल्ती महसुस नगरेको तथा अझै चित्तबुझ्दो जवाफ नदिएकाले जवाफ नआएसम्मका लागि सदनका काम कारवाही अगाडि नबडाइयोस् भन्दै सांसद श्रेष्ठले सभाअध्यक्ष तिमल्सिनालाई आग्रह गरेका थिए । अध्यक्ष तिमल्सिनाले प्रतिनिधिसभासँग सम्बन्धित विषय भए पनि बैठकमा कुरा उठ्नु स्वभाविक भएको र यो विषय समयसँगै निरुपण हुने आश्वासन दिएका थिए ।

एमालेका सांसदलाई अवरोध नगरी बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्दासमेत उनीहरुले उभिएर विरोध जनाएपछि अध्यक्ष तिमल्सिनाले कार्य सूचीलाई अगाडि बढाएका थिए ।

बैठकमा अवरोधकैबीच विधान व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङकोतर्फबाट समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया