शनिबार, वैशाख २७, २०८२

प्रधानमन्त्रीले एमसीसी पढ भन्नु भयो रे, हामीले पढेका हौँ : विप्लव

मेरोन्यूज २०७८ भदौ २८ गते १६:१२

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसीबाट आएको पैसाले देशमा कायापलट नहुने बताएका छन् । उनले एमसीसीबाट नेपालमा कायापलट हुनभन्दा नेपालको संविधान काम नलाग्ने बनाउने प्रयास रहेको बताए ।

उनले पैसाले मात्रै देश विकास र समृद्धि नहुने बताए । ‘विकास र समृद्धिको बाधक पैसा होइन, यसको मूल स्रोत सत्ता हो,’ उनले भने, ‘जनताको पक्षमा सत्ता भए धेरै विकास गर्न सकिन्छ, कुनै देश पैसाले मात्रै विकास भएको होइन, यसको पछाडि सत्ता हो ।’

सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री शेर बहादुर देउवाको आलोचनासमेत गरे । ‘प्रधानमन्त्रीले एमसीसी पढ भन्नु भयो रे, हामीले नपढेको होइन, पढेर नै एमसीसीको विरोध गरेका हौँ,’ उनले भने ।

‘अहिलेसम्म विदेशबाट कति सहयोग आयो, कति ऋण आयो, यो पैसा सबै कहाँ गयो ? किन हिसाब आउँदैन ?’, उनले भने, ‘अहिले देशको बजेटभन्दा ऋण धेरै छ, यतिको ऋण लिएर सरकारले कहाँ के गर्यो ?’

उनले यदि, एमसीसीलाई जबरजस्ती पास गरे देशमा बलेको झिल्को रातो आगो भएर निस्कने बताए ।

प्रतिक्रिया