सोलारबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

दमौली । नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।
निजी क्षेत्रबाट प्रथम विद्युत् बिक्री सम्झौता गर्ने सो कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो सौर्य ऊर्जा परियोजनाको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुभारम्भ गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले सरकारी र निजी क्षेत्रको सहभागितामा ऊर्जाको विकास सम्भव रहेको बताइन् ।
सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउँदै मन्त्री भुसालले भनिन्, “हामीसँग ठूलो स्रोत छ, तर सँगसँगै मिश्रित नीतिको ऊर्जामा पनि गएका छौँ ।”
मन्त्री भुसालले राज्यको तर्फबाट सातै प्रदेशमा जलाशययुक्त आयोजना उत्पादन गर्ने निर्णय गरिएको र प्रदेश नम्बर २ मा २०० मेगावाट क्षमताको सोलार आयोजना निर्माण गर्ने निर्णय भएको जानकारी दिइन् ।
गरिबीको रेखामुनि रहेका जनतालाई २० युनिटसम्म निःशुल्क गर्ने निर्णय गरिएको र त्यसबाट २८ लाख परिवारका एक करोड ४० लाख जनता लाभान्वित हुने उल्लेख गरिन् ।
विद्युत् दर महँगो रहेको उल्लेख गर्दै मन्त्री भुसालले यसलाई न्यूनीकरणका लागि सरकारले निर्णय गरेको मन्त्री भुसालले बताइन् ।
“अब हाम्रो भान्सामा विद्युतीय चुलोको प्रयोग गरौँ, यसले हाम्रो अर्थतन्त्रको विकास हुन्छ”, उनले भनिन्– “सँगसँगै व्यापार घाटा पनि न्यूनीकरणमा सहयोग पुग्छ ।”
जलाशययुक्त आयोजनालाई प्राथमिकता दिएको चर्चा गर्दै मन्त्री भुसालले प्रदेश नम्बर १ मा दूधकोशी, प्रदेश नम्बर २ मा सोलार, गण्डकी प्रदेशमा बूढीगण्डकी, लुम्बिनीमा नौमुरे, कर्णालीमा नलसिंगाढ र सुदूरपश्चिममा पश्चिम सेती आयोजना निर्माणलाई प्राथमिकता दिइएको बताइन् ।
सन् २०१७ बाट निर्माण सुरु भएको परियोजना कोभिडका कारण ढिलाइ भएको प्रालिका अध्यक्ष मोहन गुरुङले जानकारी दिए ।
कम्पनीले निकट भविष्यमा १५ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । गुरुङका अनुसार म्याग्दी जिल्लामा १२ र तनहुँ जिल्लामा थप तीन मेगावाट विद्युत् उत्पादन गर्ने सोच लिइएको छ । आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ ले लगानी गरेको छ ।
४३ करोडको लगानीमा आयोजना निर्माण सम्पन्न भएको आयोजनामा डोल्मा इम्प्याक्ट फण्ड र स्थानीय केही व्यवसायीको पनि लगानी रहेको छ ।
प्रालिका प्रमुख कार्यकारी अधिकृत एलएन पाण्डेले सरकारले मिश्रित ऊर्जा प्रणालीको अवधारणा ल्याएपछि सोलार परियोजना सुरु गरिएको जानकारी दिए ।
डोल्मा इम्प्याक्ट फण्डका सञ्चालक एवं प्रालिका सञ्चालक विद्यावारिधी सिग्देलले नेपालमा नवीकरणीय ऊर्जा, सोलार, जलविद्युत्मा लगानी गरिएको जानकारी दिए ।
उक्त फण्डबाट ७५ मिलियन अमेरिकी डलर पुँजी परिचालन गरिएको छ ।

आयोजनामा १३ हजार ५०० सौर्य प्यानल जडान गरिएको छ । प्रालिले बेलचौतारास्थित भानुभक्त क्याम्पसको १०० रोपनी जग्गा भाडामा लिएको छ ।
सुरुमा प्रसारण सम्झौता हुँदा उत्पादन हुने विद्युत् दमौली सवस्टेसनमा जोडिने भनिएको थियो । अहिले ५०० मिटर दूरीको बेलचौतारा सवस्टेसनमा जोड्ने गरी प्राधिकरणसँग प्रसारण सम्झौता संशोधन गरिएको छ ।

















Vice President Yadav’s best wishes on Gyalpo Lhosar
Foreign Minister Sharma calls on Bangladeshi PM Rahman
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थिति तनावग्रस्त
15 days to go for voting: EC appeals to all not to misuse technology
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया