उपल्लो मुस्ताङमा सञ्चार सेवा सहज

म्याग्दी । मोबाइल फोनमा कुराकानी गर्न टावर टिप्ने डाँडामा चढ्नुपर्ने र इन्टरनेट चलाउन सदरमुकाम जोमसोम झर्नुपर्ने उपल्लो मुस्ताङवासीको बाध्यता हटेको छ ।
घर, गोठ, मेलापात, कार्यालय जहाँ जाँदा पनि साथमा रहेको मोबाइलमा कुराकानी गर्न मात्र नभएर उच्च गतिको इन्टरनेट चलाउन पाएपछि बारागुङ, मुक्तिक्षेत्र, लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दालाई सहज भएको छ । देश ,विदेश र वल्लोपल्लो गाउँमा अत्यावश्यक सूचना आदानप्रदान गर्नदेखि सहर बजारका कलेजमा भर्ना भएका विद्यार्थीले कोरोना महामारीमा घरमै बसेर अनलाइनबाट पढ्न पाएका चराङवासी घम्जुघुटी गुरुङले बताए ।
“सञ्चार सुविधाको विस्तारसँगै भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दाको जीवनशैलीमा परिवर्तन आएको छ”, उनले भने, “कोठाभित्रै बसेर सूचना आदानप्रदान गर्न पाएका छौँ । सञ्चार नहुँदा धेरै सास्ती भएको थियो ।” विकास निर्माणमा सहजीकरण गर्न, सार्वजनिक सेवा प्रवाह, भेडाच्याङ्ग्रा, स्याउलगायत कृषिजन्य वस्तुको बजारीकरणमा समेत सहयोग पुगेको लोमान्थाङका टासी गुरुङले जानकारी दिए । “धार्मिक र पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ”, उनले भने, “मोबाइल सुविधा विस्तारसँगै जीवनशैलीमा नसोचेको परिवर्तन ल्याएको छ ।”
सरकारी स्वामित्वको नेपाल टेलिकमले थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा तारजडित टेलिफोन, फाइबरबाट इन्टरनेट विस्तार गरेको छ । मुक्तिनाथ, दामोदरकुण्डदेखि चीनको सिमाना कोरला नाकासम्म बिटिएस टावरमा थ्रीजी सञ्चालन गरेको टेलिकमको बागलुङ शाखाका वरिष्ठ इञ्जिनीयर केशव शर्माले जानकारी दिए ।
“मुक्तिनाथमा फाइबर इन्टरनेट विस्तार भएको छ”, उनले भने, “चार हजार ६०० मिटर उचाइको कोरला नाकाको बिटिएस टावरमा पनि थ्रीजी चलाएका छौँ ।” छरिएका र पातलो बस्ती भएको मुस्ताङका ठाउँमा मोबाइल र थ्रीजी इन्टरनेट विस्तार गर्न २० बिटिएस टावर राखेको टेलिकमका मुस्ताङ शाखा प्रमुख सुमनराज श्रेष्ठले जानकारी दिए ।
धार्मिकस्थल दामोदरकुण्डमा जाने दर्शनार्थी र स्थानीयवासीलाई लक्षित गरेर पछिल्लो पटक लोघेकर दामोदरकुण्ड गाउँपालिकाको घिलिङ लोदा र नाङ्लियाको ‘बिटिएस टावर’को स्तरोन्नति गरिएको छ । तीव्र गतिमा चल्ने हावाहुरी, हिमपात र चिसोका कारण सञ्चार सेवालाई प्रभावित हुन नदिन स्थानीय तहले सामग्री राख्ने घर निर्माण र टावरसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए ।
पोखरा–बागलुङ, बेनी–जोमसोम–कोरला सडक निर्माणका क्रममा फाइबरमा क्षति हुने र विद्युत् आपूर्तिमा हुने अनियमितता मुस्ताङको सञ्चार सुविधालाई नियमित र गुणस्तरीय बनाउन चुनौती देखिएको छ । विसं २०७४/०७५ सम्म मुस्ताङमा सीमित कल सुविधा मात्र थियो । हाल अधिकांश भू–भागमा माइक्रोवेभ रेडियो लिङ्कमार्फत अत्याधुनिक प्रविधिको सेवा प्रवाह गरिरहेको छ । रासस









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया