बगरफाँटमा तीन महिनादेखि खानेपानीको हाहाकार

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका २०८ घरपरिवार विगत तीन महिनादेखि खानेपानी अभवका कारण खोला र कुवाको दूषित पानी पिउन बाध्य भएका छन् । खानेपानी अभावमा काकाकुलको नियति भोग्न बाध्य यहाँका बासिन्दा एकाबिहानै गाग्री बोकेर पानीको खोजीमा निस्कने गर्दछन् । खोला र कुवाको दूषित पानीका कारण बालबालिका र वृद्धवृद्धालाई रुघाखोकीलगायतका मौसमी रोग देखिएको स्थानीयवासीले बताएका छन् ।
गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिएपछि यहाँका २०८ घरपरिवारलाई खानेपानीको समस्या भएको हो । यसबीचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिएको भए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपमा क्षति पु¥याएपछि बगरफाँटका बासिन्दा विगत तीन महिनादेखि खोला र कुवाको पानी पिउन बाध्य भएका हुन् । मर्मतकार्यमा बगरफाँट खानेपानी तथा सरसफाइ योजना उपभोक्ता समितिले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।
गाउँमा रहेका २८ वटा धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटकी सावित्री शर्माले बताए । दुई सय १४ घरधुरी रहेको बगरफाँटमा तीन महिनादेखि खानेपानीको समस्या हुँदासमेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका बासिन्दा ठूलो समस्यामा परेका स्थानीयवासीले बताएका छन् ।
विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रेखोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ वटा धारामा वितरण गरिएको थियो । ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । त्यसपछि वर्षेनी बर्खाको समयमा बाढी र पहिराले पाइप लाइनलाई क्षति पु¥याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकामा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए ।
अध्यक्ष कार्कीका अनुसार अझै केही दिनसम्म समस्या यथावत रहने र वर्षा रोकिएपछि मर्मत अघि बढाइने छ । खानेपानीको समस्याका कारण बगरफाँटको २१४ घरधुरीका एक हजार २०० भन्दा बढी जनता प्रत्यक्षरूपमा प्रभावित भएका छन् । गाउँको पुछारमा म्याग्दी नदी र सिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायतका पानीका आधा दर्जन बढी स्रोत रहेका भए पनि ती पानीका स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । रासस

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया