बुधबार, वैशाख ३१, २०८२

सशस्त्र डिआइजी सरुवा : भावी आइजिपीका दाबेदारहरू हेडक्वार्टर तानिए

मेरोन्यूज २०७८ असोज ८ गते ११:०८

काठमाडौँ । गृहमन्त्रालयल सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरूको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडको निर्णयले बिहीबार साँझ उनीहरूलाई सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सरुवा भएकामध्ये तीन डिआइजी एक वर्ष नपुग्दै पुनः सरुवा भएका छन् । राजु अर्याल, नारायणदत्त पौडेल र सिपी गौतमको सरुवा भएको ९ महिना मात्रै भएको छ । उनीहरूको गत मंसिरमा सरुवा भएको हो ।

भावी आइजिपीको प्रतिस्पर्धामा रहेका तीन जनालाई सशस्त्र प्रहरी मुख्यालयमा सरुवा गरिएको छ । अर्याल, पौडेल र गौतममध्ये एक जना आइजिपी हुने छन् । उनीहरूलाई नै मुख्यालयमा ल्याइएको छ ।

गणेश ठाडा मगरलाई प्रदेश २ को जिम्मेवारी दिइएको छ । प्रदेश २ मा रहेका गौतमलाई तानेर उनलाई पठाइएको हो । ठाडा मगरले गत वर्ष चोर बाटो प्रयोग गरेर पदक पाएका थिए ।

सशस्त्र प्रहरीका अर्का डिआइजी अभी खत्रीलाई कर्णाली प्रदेशमै थन्क्याइएको छ । सशस्त्र प्रहरी बलको केन्द्रीय लेखा स्टोरमा २०७५ पुस महिनामा भएको आगलागीमा उनको संलग्न भए पनि उनलाई जोगाइएकाले उनको बढुवापछि कर्णाली प्रदेशको जिम्मेवारी दिइएको थियो । अहिले पनि उनी त्यही हुने भएका छन् ।

तत्कालीन आर्थिक प्रशासन प्रमुख खत्रीमाथि छानबिन हुन नसक्दा रहस्यमय आगलागीको छिनोफानो हुन नसकेको र मध्यरातमा पेट्रोल छर्केर आगो लगाउने कार्यमा तल्ला तहका कर्मचारीमाथि अनुसन्धान भएपछि उनी जोगिएका थिए । उनको बदमासीको बारेमा जानकार रहेको मुख्यालयले उनको सरुवा यथावत राखेको छ ।

डिआइजी मन्दिप श्रेष्ठलाई गढिमाई बाहिनी हेटौँडाबाट सशस्त्र प्रहरी मुख्यालयमा आइजिपीको सचिवालयमा सरुवा गरिएको छ भने हेटौँडामा डिआइजी किशोर प्रधानलाई पठाइएको छ । प्रधान विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीका प्रमुख थिए । एउटा कमाण्डबाट अर्को कमाण्डमा जान पाउने भाग्मानीमध्ये डिआइजी प्रधान एक हुन । डिआइजी कुलबहादुर नेम्बाङ्गलाई प्रधान कार्यालयको मानव स्रोत विभागबाट विन्ध्यावासिनी बाहिनी, रुपन्देही सरुवा गरिएको छ ।

त्यसैगरी, डिआइजी राजु अर्याललाई पशुपतिनाथ बाहिनी, काठमाडौँको प्रमुखबाट प्रधान कार्यालयको मानव स्रोत विभागमा सरुवा गरिएको छ । पशुपति बाहिनीको प्रमुखमा डिआइजी वंशीराज दाहाललाई लगिएको छ । यसअघि दाहाल बराह बाहिनी मुख्यालय सुनसरीका प्रमुख थिए अर्थात् पूर्वाञ्चलका कमाण्डर थिए । दाहाल पनि एउटा कमाण्डबाट अर्को कमाण्डमा जान पाउने भाग्यमानी डिआइजी ठहरिएका छन् ।

पूर्वाञ्चलको नयाँ कमाण्डरमा डिआइजी कमल गिरी लगिएका छन् । उनी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मुख्यालयमा कार्यरत थिए ।

सशस्त्र प्रहरीको पश्चिमाञ्चल पोखराको कमाण्डरबाट डिआइजी नारायणदत्त पौडेललाई सरुवा गरी मुख्यालयको कार्य तथा सीमा सुरक्षा विभागमा लगिएको छ भने पश्चिमाञ्चलको कमाण्डरमा डिआइजी शम्भु सुवेदीलाई खटाइएको छ । सुवेदी राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरवारमा कार्यरत थिए । सुरक्षा परिषदमा तत्कालका लागि कसैलाई पनि सरुवा गरिएको छैन ।

यस्तै, प्रदेश २ का कमाण्डर डिआइजी गौतमलाई कार्य तथा सीमा सुरक्षा विभाग मुख्यालयमा सरुवा गरिएको छ । सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागमा कार्यरत डिआइजी दुर्गाप्रसाद भट्टराईलाई सुदूर पश्चिम प्रदेशको कमाण्डर बनाई कैलाली पठाइएको छ ।

प्रतिक्रिया