बिहीबार, पुष ३, २०८२

सत्तारुढ गठबन्धनका कारण मन्त्रिपरिषद्ले पूर्णता पाएन : नेता सिंह

मेरोन्यूज २०७८ असोज ९ गते १४:०५

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ गठबन्धन दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताएका छन् । काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनु पर्ने बताए ।

‘२५ सदस्यीय मन्त्रिपरिषद् बनाउनु पर्ने छ, त्यसले पूर्णता पाएको छैन, घटक पार्टीहरूका कारण, नयाँ पार्टी गठन भएकाले मन्त्रिपरषद्ले पूर्णता पाउन सकेको छैन,’ सिंहले भने, ‘उहाँहरूका अदालतमा मुद्दा छ, गठबन्धन दलहरू आन्तरिक व्यवस्थापनमा व्यस्त हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलासुस्ती भएको हो, प्रधानमन्त्रीले सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनु पर्‍यो ।’

नेपालमा लगानी गर्नेका लागि स्रोत नखोज्ने र सेनिटरी प्याडमा कर लगाउने सरकारको योजनामा पनि सिंहले प्रश्न उठाए । उनले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले यस्ता निर्णयमा ध्यान दिएर हेर्नु पर्ने बताए । सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल भएकाले यी योजनामाथिका प्रश्न कांग्रेसलाई आउने उनको भनाई थियो ।

‘राजनीति भनेको सेवाको क्षेत्र हो, मेवा खाने क्षेत्र होइन’ भन्दै नेता सिंहले अब पुराना नेताहरूलाई सम्मानपूर्वक पार्टीको नेतृत्वबाट बिदाई गर्नु पर्ने बताए । ‘पुराना नेताहरूलाई सम्मानजनक रूपमा नेतृत्वबाट बाहिर पठाएर नयाँ नेताहरूले नेतृत्व लिएर जनतामा आश जगाउनु पर्छ,’ उनले भने ।

राजनीति जनताको विश्वासमा चल्ने र त्यो कायम राख्नका लागि जनताको विश्वास गुमाइसकेपछि नेतालाई बारम्बार पदमा पुर्‍याउने काम गर्न नहुने उनले बताए । पदमा पुगेर केही काम नगर्ने नेतालाई बिदा गर्नु पर्ने उनको भनाइ थियो ।

कांग्रेसको १४ औँ महाधिवेशनको मिति पटकपटक सर्नुको कारण संगठन कब्जा गर्ने मनशाय रहेको पनि सिंहले आरोप लगाए । कांग्रेसमा अहिले ‘ए कांग्रेस’, ‘बी कांग्रेस’ र ‘सी कांग्रेस’ मात्रै देखिएको तर कांग्रेस नदेखिएको भन्दै उनले आगामी महाधिवेशनपछि संस्थागत रूपमा पार्टी अघि बढाइने बताए ।

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ७४ दिन बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया