दोबाटोमा ईश्वर पोखरेल !

काठमाडौँ । नेकपा एमालेमा दुई पटक महासचिव निर्वाचित नेता हुन्- ईश्वर पोखरेल । एमालेको अबको महाधिवेशनबाट उनको जिम्मेवारी के होला ? एमाले पंक्तिमा निक्कै कौतुहलता छ ।
कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने गरी विधान महाधिवेशनमा प्रस्तुत गर्ने संगठनात्मक प्रस्ताव उनले ल्याएका छन् । आफैले ल्याएको प्रस्ताव उनैलाई घाँडो बन्ने देखिएपछि अबको १० औँ महाधिवेशनबाट उनको जिम्मेवारी एमालेमा के होला ? जिज्ञासा उठ्नु स्वभाविक छ ।
‘नेतृत्व विकास र हस्तान्तरणको विधिसम्मत प्रणाली’ उप शीर्षकमा पोखरेलले दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति एकै कार्यकारी पदमा उठ्न अनुमति दिनु नहुने प्रस्ताव ल्याएका छन् । यसले उनलाई अब एमालेमा महासचिव फेरि पनि उठ्न बाटो बन्द गरिदिन्छ । अर्काेतिर, ७० वर्षको उमेर हदलाई ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुँदासम्म जिम्मेवारीमा रहन पाउने स्पष्ट व्यवस्था गरी त्यसलाई यथावत राख्नु उपयुक्त हुने अर्काे प्रस्ताव पनि उनले ल्याएका छन् ।
यसले अबको दशौँ महाधिवशेनमा पोखरेल जहाँ पुग्नु पर्ने हो । त्यहाँ पुग्न सक्ने भए पनि त्यसपछि उनलाई एमालेमा कार्यकारी जिम्मेवारी लिने वैधानिक बाटो बन्द हुने छ ।
७० वर्षे प्रावधानमा उनले राखेका शब्दले फागुनपछि ७१ वर्ष प्रवेश गर्ने ओलीका लागि त्यसअगाडि पार्टीको १० औँ महाधिवेशन सम्पन्न गरेर नेतृत्व चार वर्ष नै हाक्ने ढोका खुल्ला गरेको छ । तर, यो महाधिवेशन छोडेर अर्काे महाधिवेशनमा नेतृत्व तहमा पोखरेलका लागि त्यो बाटो बन्द हुने छ ।
उनीसँग ओलीसँग अध्यक्षमा भिड्ने आँट छ । न उनीसँग एक कार्यकाल सेफ भएर अर्काे कार्यकाल नेतृत्व दाबी गरौँ भन्ने उमेर ? जसका कारण ईश्वर पोखरेल राजनीतिक जीवन असाध्यै ‘पेचिलो मोड’मा उभिएका छन् ।
पोखरेल चाहान्थे, ‘ओलीले एउटै कक्षा (अध्यक्ष) फेरि नदोहोराउन्, ओलीको उत्तराधिकारीको रुपमा आफै पार्टी अध्यक्ष बनौँ ।’ तर एमालेमा विकसित परिस्थिति उनको अनुकूल छैन । न उनलाई अब महासचिव दोहोरिन विधानले दिन्छ, न पार्टीमा अन्य पद नै उनका लागि ‘सेफजोन’मा छ ।
उनका लागि अब जाने दुइटा बाटो मात्र छ । एउटा अध्यक्षमा भिड्ने, अर्काे उपाध्यक्षमा आफूलाई सुरक्षित गर्ने । तर, यी दुवै पद उनका लागि सुरक्षित देखिदैन । अध्यक्षमा फेरि ओली दोहोरिने निश्चित छ । उपाध्यक्षमा विधानले व्यवस्था गरेको पदभन्दा आकांक्षी बढी छ । उनी न ओलीसँग अध्यक्षमा भिड्ने आँट छ । न उनीसँग एक कार्यकाल सेफ भएर अर्काे कार्यकाल नेतृत्व दाबी गरौँ भन्ने उमेर ? जसका कारण ईश्वर पोखरेल राजनीतिक जीवन असाध्यै ‘पेचिलो मोड’मा उभिएका छन् ।
पोखरेलको विगत
हुन त, कम्युनिष्ट आन्दोलनमा पोखरेल अध्यक्ष केपी ओली, माधव नेपाल, वामदेव गौतमलगायतका नेताहरुकै समकक्षी हुन् । १६ वर्षकै उमेरमा ओखलढुंगाबाट कम्युनिष्ट आन्दोलनमा होमिएका उनी केपी ओलीभन्दा पार्टीमा पहिले केन्द्रीय कमिटीमा पुगेका थिए ।
उनका समकक्षी नेताहरू पार्टी र सरकारमा ‘फष्ट’ पोजिसनमा पुगिसके । अर्थात माधव नेपाल र केपी ओली पार्टी अध्यक्ष, एकल महासचिव र प्रधानमन्त्रीसम्म बनिसके । तर, उनी र वामदेव गौतमको पार्टी सत्ता र राज्य सत्तामा ‘फष्ट’ हुने दौड जारी छ ।
त्यो महत्वाकांक्षामा दुवै नेता सफल हुन सकिरहेका छैनन् । यहीबीच गौतम एमाले परित्याग गरेर अलग्गिसकेका छन् । पोखरेल भने अझै एमालेमा यसैपटक ओलीले कक्षा नदोहोराइदिएर आफूलाई नेतृत्वमा अगाडि सारे ‘अध्यक्ष’ बन्ने झिनो आशमा छन् । तर, उनको त्यो अपेक्षा पूरा हुने सम्भावना देखिदैन ।

पोखरेल एमालेको आठौँ र नवौँ महाधिवेशनबाट निर्वाचित पार्टी महासचिव हुन् । उनको राजनीतिक इतिहास हेर्ने हो भने उनी संस्थापनबाहेक अन्यत्र राजनीति गर्न रुचाउँदैनन् । करिब ३० वर्षयता संस्थापननिकट रहेर निरन्तर शक्तिशाली भूमिका निर्वाह गर्ने चतुर नेतामा पोखरेललाई एमालेभित्र लिने गरिन्छ ।
राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिनुअगाडि क्याविनेटमा उनी उद्योग मन्त्री थिए । ओली प्रधानमन्त्री हुँदा उनी उपप्रधानसहित रक्षा बने ।
२०५० सालमा मदन भण्डारीको निधनपछि तत्कालीन एमालेमा मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओलीसहित चार जनाले पार्टी नेतृत्व सम्हाले । तर, उनी सधै पार्टी नेतृत्व हाँकेका यी चार नेताकै नजिक भएर काम गरे । अर्थात, उनी निरन्तर संस्थापन समूहमा छन् । नवौँ महाधिवेशनमा उनी अध्यक्ष ओली समूहबाट महासचिव निर्वाचित भए । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा उनी प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार थिए । मदन भण्डारी महासचिव हुँदा पोखरेलले कार्यालयको जिम्मेवारी सम्हाल्ने मौका पाएका थिए ।
एमालेमा उनले संगठन विभाग, केन्द्रीय सचिवालय सचिव, उपत्यका इन्चार्ज, प्रचार विभाग, विभिन्न जनसंगठनका इन्चार्ज, उपत्यका इन्चार्ज र केन्द्रीय कार्यालय प्रमुखलगायतका जिम्मेवारी सम्हालिसकेका छन् । ०५६ र ०७४ को आमनिर्वाचनमा उनी दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिनुअगाडि क्याविनेटमा उनी उद्योग मन्त्री थिए । ओली प्रधानमन्त्री हुँदा उनी उपप्रधानसहित रक्षा बने । पछि उपप्रधानसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् हेर्ने गरी मन्त्री रहेका थिए ।
एकपटक मन्त्री, दुईपटक उपप्रधानमन्त्री, दुईपटक पार्टीको महासचिव भइसकेका छन्, पोखरेल । उनले आफूलाई ओली, माधव नेपाल, झलनाथ खनाल, अमृतकुमार बोहोरा, वामदेव गौतमकै समकालीन भन्न रुचाउँछन् । उनी निकटका कतिपय नेताले उनलाई ‘लङ रन टेस्टेड’ नेताका रुपमा पनि चित्रित गर्ने गर्छन् । अर्थात, विस्तारै दौडिने, तर लामो यात्रा गर्ने पोखरेलको विशेषता रहेको ती नेताहरू जिकिर गर्छन् ।
तर, अब पार्टीको ‘फष्ट म्यान’ हुन उनका लागि यही दशौँ महाविधेशन निर्णायक घडी हो । त्यसका लागि उनी कुन बाटो हिँड्छन् । ओलीसँग प्रतिस्पर्धा गरेर ‘फष्ट म्यान’ हुन तयार हुन्छन् वा बाटो मोडेर उपाध्यक्षमा सेफ हुन खोज्छन् ? त्यो उनको अबको कदममा निर्भर हुन्छ ।
ओलीसँग जुध्ने आँट
एमाले–माओवादीबीच एकता नहुँदै पोखरेलले ओलीको टिमबाट १० औँ महाधिवेशनमा अध्यक्षमा माधव नेपालसँग प्रतिस्पर्धा गर्ने सोचेका थिए । तर, उनको सोचमा त्यतिबेला धक्का लाग्यो । जतिबेला एमाले–माओवादीबीच पार्टी एकता भयो ।
पोखरेल न ओलीसँग आफूलाई अध्यक्ष माग्न सक्छन्, न ओलीसँग छुट्टै टिम बनाएर प्रतिस्पर्धाको आँट नै गर्छन् । यसले उनको अध्यक्ष बन्ने रहर अँध्यारोमा हात्ती छामेजस्तो बन्न पुगेको छ ।
त्यसले उनलाई पार्टीको ‘फष्ट’ म्यान बन्ने महत्वाकांक्षामा मात्र ‘ब्रेक’ लगाएनन् । एमालेमा हुँदा खाँदाको ‘महासचिव’ पद पनि गुम्यो । त्यसपछि उनी बाहिर नदेखाए पनि भित्री रुपमा एकता प्रक्रियाप्रति नै असन्तुष्ट थिए । अन्ततः परिस्थिति यस्तो बनिदियो । तत्कालीन नेकपाभित्रको अन्तरसंर्घषले पार्टी छुट्टिँदा एमालेमा ओली नै फेरि शक्तिशाली बन्ने अवस्था आयो । उनले अध्यक्षमा प्रतिस्पर्धा गर्न चाहेका नेता माधव नेपाल पार्टीबाट बाहिरिए ।

त्यसपछि उनको अध्यक्ष भिड्ने योजनामा करिब पूर्ण विराम लागेको एमाले वृत्तमा चर्चा चल्ने गरेको छ ।
ओलीसँग अहिलेको एमाले पंक्तिमा अध्यक्ष लड्ने आँट तत्काल कुनै नेतासँग देखिएको छैन । ओलीले पनि पहिले एउटै क्लास नदोहोरिने बताए पनि अहिले आफै एक कार्यकाल आउने गरी थालेको तयारी उनले देखेका छन् । जसका कारण न उनी ओलीसँग आफूलाई अध्यक्ष माग्न सक्छन्, न ओलीसँग छुट्टै टिम बनाएर प्रतिस्पर्धाको आँट नै गर्छन् । यसले उनको अध्यक्ष बन्ने रहर अँध्यारोमा हात्ती छामेजस्तो बन्न पुगेको छ ।
बाधक उमेर !
यतिबेला उनका लागि उमेर पनि बाधक बनेको छ । नेता कार्यकर्ताको दबाबमा ७० वर्षे उमेर हद हटाउन सक्ने अवस्थामा उनी छैनन् । उनी आफैले आफ्नो प्रतिवेदनमा त्यसलाई मन अमिले बनाउँदै समेटेर ल्याएका छन् ।
यो कार्यकाल छाडेर ११ औँ महाधिवेशनमा अध्यक्षको तयारी गरौँ भन्दा उनलाई उमेरले साथ दिने देखिदैन । उनी अहिले ६८ वर्ष पुगिसके । अबको दुई वर्षमा उमेर हद उनका लागि समेत लागु हुन्छ । जसले उनलाई १० औँ महाधिवेशन छाडेर ११ औँ मा अध्यक्ष लडौँ भन्दा उमेरले साथ दिँदैन ।
१० औँ महाधिवेशनमा अध्यक्ष नलडे उनका लागि बाँकी रहेको एउटै विकल्प उपाध्यक्ष हुने हो । तर, विधानको अहिलेको प्रस्तावित मस्यौदमा उपाध्यक्षको संख्या तीन जना मात्र प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीमा उपाध्यक्ष थप गर्ने प्रस्ताव आएको छ । तर, निर्णय भएको छैन । असोज १५ देखि चल्ने पार्टीको विधान महाधिवेशनमा त्यो संख्या तय होला । तर पदको संख्या कम र आकांक्षी बढी देखिँदा उपाध्यक्षमै उनी ‘सेभ जोन’मा छैनन् ।
एमाले महासचिव पोखरेलले पार्टी अध्यक्षमा दाबी गर्न आफू योग्य रहेको बताउँछन् । उनले केही समयअगाडि आफू योग्य रहेकोसम्म पत्रकारमाझ भन्न भ्याए । तर, उठ्ने दाबी भने गरेनन् ।
केपी ओलीले पोखरेललाई भन्दा सुभास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायत नेताहरूलाई बढी विश्वास गर्छन् । माओवादी छाडेर एमालेमा बसेका रामबहादुर थापा ‘बादल’लाई पनि ओलीले उपाध्यक्षमै सेभ गर्नु पर्ने बाध्यता छ । सुवास नेम्वाङ, थापा, पृथ्वीसुब्बा गुरुङ ओली समूहमै उपाध्यक्ष ताकेर बसेका छन् । उता अहिले उपाध्यक्ष रहेका अष्टलष्मी शाक्य, भीम रावल, युवराज ज्ञवालीलगायत नेताहरु आकांक्षी उपाध्यक्षकै हुन् ।
यसले पोखरेललाई यो पद सुरक्षित गर्न सहज छैन । प्रतिस्पर्धाविना उनले यो पद पाउने देखिन्न । जसले गर्दा उनी राजनीतिक जीवनकै निक्कै कठिन मोडमा देखिन्छन् । भलै उनले अझै ओलीबाट ग्रिन सिंग्नल आइहाल्छ कि भनेर पर्खेर बसेका छन् ।
अध्यक्ष उम्मेवारीमा के भन्छन् पोखरेल ?
एमाले महासचिव पोखरेलले पार्टी अध्यक्षमा दाबी गर्न आफू योग्य रहेको बताउँछन् । उनले केही समयअगाडि आफू योग्य रहेकोसम्म पत्रकारमाझ भन्न भ्याए । तर, उठ्ने दाबी भने गरेनन् । चलाखीपूर्वक उनले उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने बताए ।
‘व्यक्तिगत ढंगले भने मेरो हिस्ट्री, मेरो निरन्तरता, मेरो क्षमता म डिजर्भ गर्छु भनिरहनै परेन’ उनले भनेका थिए, ‘तर देशको परिस्थिति कस्तो हुन्छ, देशभरिको कार्यकर्ताको चाहना के हुन्छ हेरौँ ।’

रामकृष्ण अधिकारी
अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।
प्रतिक्रिया