सोमबार, मंसिर २९, २०८२

‘पर्यटन ब्यवसाय जगाउन कार्यदल बनाइने’

मेरोन्यूज २०७८ असोज १३ गते २१:४१

काठमाडौं । सरकारले कोरोना संक्रमणका कारण थला परेको पर्यटन ब्यवसायलाई पुरानो लयमा फर्काएन कार्यदल बनाउने तयारी गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रीकालिन व्यवसायलाई पुरानै शैलीमा फर्काउन सरकारले कार्यदल बनाउने बताए ।

गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र सम्बद्ध व्यवसायीहरूसमेत सदस्य रहेको कार्यदल बनाएर खोल्दा पर्ने सकारात्मक र नकारात्मक असरबारे बुझाउने प्रतिवेदनका आधारमा अघि बढ्ने गृहमन्त्री खाणले बताए ।

उपत्यकामा पर्यटनसँग सम्बन्धित व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूसँग मन्त्रालयमा भएको बैठकमा मन्त्री खाणले व्यवसायको सम्मान राष्ट्रको सम्मान भएको भन्दै पर्यटन र रात्रीकालिन व्यवसायलाई सम्मानित बनाउन पर्ने बताए ।

उनले पर्यटन व्यवसायीले भोगेको पीडाबारे सरकार जानकार रहेको भन्दै व्यवसायीको पिडामा सरकार संवेदनशील रहेको बताए ।
कुनै पनि नेपालीको अकालमा मृत्यु हुन नदिनु सरकारको पहिलो प्राथमिकता रहेको भन्दै त्यसमा ख्याल गर्न व्यवसायीहरूलाई आग्रह गरे ।
गृहमन्त्री खाँडले आफू पर्यटन व्यवसायीको पक्षमा रहेको भन्दै कसरी पूर्णरूपमा पर्यटन व्यवसायलाई पहिलाको जस्तै अवस्थामा फर्काउन सकिन्छ भन्ने विषयमा विश्लेषण गरेर अगाडि बढ्ने बताए ।

कसरी ‘फुलफेज’मा पर्यटन व्यवसाय चलाउन सकिन्छ त्यो प्रशासनले विश्लेषण गरेर अगाडि बढ्ने तयारीमा रहेको गृहमन्त्री खाँणले बताए ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डेले व्यवसायलाई सुरक्षित बनाउने दायित्व व्यवसायीको भएको भन्दै त्यसमा सरकारले सहयोग गर्ने बताए ।

जनजीवनलाई सामान्यीकरण गर्न सरकार तयार रहेको भन्दै उनले त्यसमा व्यवसायीले निर्धारित मापदण्ड प्रयोग गरेर सहयोग गर्नुपर्ने बताए । उनले पर्यटन व्यवसाय खुलेपछि बन्द नहुनेगरी सजगता अपनाउन पनि आग्रह गरे ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अहिलेसम्म पर्यटन व्यवसाय खुल्दा स्वास्थ्यको मापदण्ड पालनामा समस्या देखिएको भन्दै त्यसलाई सच्याउन आवश्यक रहेको बताए ।

प्रजिअ रिजालले व्यवसाय, पर्यटक र शान्ति सुरक्षालाई व्यवस्थित बनाउन ध्यान दिनुपर्ने बताए ।

बैठकमा दोहोरी व्यवसायी संघका विनोद श्रेष्ठ, ठमेल पर्यटन विकास परिषद्का राजुमान डंगोल, व्यवसायी मिलन कार्की, रात्रीकालिन व्यवसायी संघका दिनेश श्रेष्ठ, डान्सबार संघका राजकुमार लामाले व्यवसाय बन्द हुँदा आफूहरूले झेल्नु परेका समस्याबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया