कांग्रेसको काठमाडौं महानगर अधिवेशनः को को छन् प्रतिष्पर्धी ?
महानगरमा आफ्नो गुटलाई जिताउन शीर्ष नेताहरुकै दौडधुप

काठमाडौं । नेपाली कांग्रेसको १४ आंै महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकको अधिवेशन (भोलि) शनिवार हुदैछ ।
काठमाडौं महानगरपालिकाको अधिवेशन भए पनि केन्द्रीय महाधिवेशनकै झल्को दिने गरी शीर्ष नेताहरु लागिपरेका छन् ।
महानगरमा शीर्ष नेताहरुको छलफल उम्मेदवारको गठबन्धन बनेको छ । काठमाडौं महानगरमा पूर्व उपसभापति प्रकाशमान सिंहको बलियो प्रभाव छ ।
कांग्रेस युवा नेता गगन थापा लगायतको पनि बलियो प्रभाव छ ।
काठमाडौं महानगरमा प्रकाशमान, गगन थापासँगै रामचन्द्र पौडेल समूह पनि बलियो मानिएको छ ।
केन्द्रीय राजनीतिमै प्रभाव पार्ने काठमाडौं महानगरपालिकाको नेतृत्व आफ्नो पक्षमा पार्न शीर्ष नेताहरु नै वार्ता र छलफलमा छन् ।
संस्थापनइतर समूहबाट नीलकाजी शाक्य सभापतिको उम्मेदवार दिने तयारीमा छन् । सिंह निकट उनी काठमाडौं महानगरपालिका–२५ का वडाध्यक्ष हुन् ।
शाक्यलाई नेता सिंहसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बलियो साथ रहेको बताइएको छ । ‘अहिलेसम्म कांग्रेसले नजितेको वडाबाट नै कांग्रेसबाट वडा अध्यक्ष भएको हुँ,’ सभापतिका प्रत्याशी शाक्यले भने– ‘मलाई विपी र गणेशमानको छत्रछाँयामा काम गरेको अनुभव छ ।’
शाक्यले आफूलाई गगन, प्रकाशमानसँगै युवाहरु सबैको साथ रहेको दाबी गरेका छन् ।
यता,संस्थापन समूहबाट प्रगतिमान रञ्जितले महानगरपालिका सभापति उम्मेदारी दिने तयारी गरेका छन् ।
रञ्जित काठमाडौंका नयाँ पुस्तामाझ लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले अघि सारेका हुन् ।
सिटौलानिकट मानिने काठमाडौंका राम्रो प्रभाव रहेका नेता भिमसेनदास प्रधानले रञ्जितलाई सहयोग गर्ने देखिन्छ भने प्रधानसँग देउवाले गठबन्धन गरेका छन् ।
प्रधानको साथसँगै सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु ध्यानगोविन्द रञ्जित, अम्बिका बस्नेत र जिल्ला सभापतिका दाबेदार उपेन्द्र कार्कीले पनि रञ्जितलाई साथ दिने देखिन्छ ।
राजनीतिलाई व्यवसाय भनेर बुझेको समाजलाई सेवा हो भनेर बुझाउने गरी योजना रहेको नेता रञ्जितले दाबी गरे । उनले भने–‘आगामी निर्वाचनमा पार्टीलाई जिताउनुपर्छ भनेर लागेको हो ।’
देउवाकै समर्थन लिएर १३ औँ महाधिवेशनमा जिल्ला सभापति बनेका सबुजकृष्ण बानियाँले संस्थापनइतर समूहका सभापति शाक्यलाई सघाउने देखिएको छ ।
१२ र १३ औं महाधिवेशनमा महानगर अधिवेशन भएको थिएन । तर १४ औं महाधिवेशनअन्तगरको महानरअधिवेशन दुई समुहबीच भिडन्त हुने देखिएको छ ।
काठमाडौं महानगरको अधिवेशनले केन्द्रीय महाधिवेशनलाई झल्को दिनेगरी केन्द्रीय नेताहरुको ठूलै साँठगाठ देखिएको छ ।
काठमाडौंका एक नेताले मेरोन्युजसँग भने– ‘काठमाडौं महानगरपालिको अधिवेशनमा शीर्ष नेताहरुको चाँसोका कारण थप रोचक बनेको छ ।’
३२ वडा रहेको काठमाडौं महानगरपालिकामा २० हजारभन्दा बढी क्रियाशील सदस्य रहेका छन् ।
सबै वडाबाट छानिएर आएका क्षेत्रीय प्रतिनिधिहरुले महानगरपालिकामा मतदान गर्नेछन् । महानगरपालिकाको अधिवेशन शनिवार बिहान साढे ८ बजे राष्ट्रिय सभागृहमा सुरु हुँदैछ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
प्रतिक्रिया