पञ्चा सिंह बन्ने भइन् अखिल (क्रान्तिकारी)को अध्यक्ष

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को अध्यक्षमा पन्चा सिंह चयन हुने भएकी छन् । प्रचण्डले विद्यार्थी संगठनभित्र निर्वाचन विधिलाई अवलम्वन गर्न नदिई सर्वसम्मत नेतृत्व चयन गर्न पार्टी स्थायी समिति बैठकमार्फत नेतृत्व छान्ने जिम्मा आफैले लिएपछि सिंह अध्यक्ष बन्न लागेकी हुन् ।
प्रचण्डले सिंहलाई अध्यक्ष बनाउने गरी शनिवार नै विद्यार्थी नेताहरुलाई सन्देश पठाइसकेका थिए । स्थायी समिति बैठक पछि विद्यार्थी फ्याक्सन इन्चार्ज समेत रहेका हितमान शाक्यलाई प्रचण्डले छुट्टै भेट गरी सिंहको पक्षमा माहोल निर्माण गर्न खटाएका थिए । त्यसपछि शाक्यले शनिवार बेलुकी नै विद्यार्थी नेतृत्वको लागि आकांक्षी ६ जना विद्यार्थी नेताहरुलाई राखेर अध्यक्षमा सिंहलाई अगाडि बढाउने तयारी पार्टीको भएको सुनाएका थिए ।
अन्य आकांक्षी नेताहरुलाई पार्टीको महत्वपूर्ण जिम्मेवारीमा समेटिने र त्यसका लागि अध्यक्षले आइतबार बिहान छलफल गर्ने योजना बनाएको भन्दै सिंहलाई अध्यक्ष बनाउने सन्देश अध्यक्षले आफूमार्फत विद्यार्थी नेताहरुलाई सुनाउन भनेको जानकारी गराएका थिए ।
शनिबारको स्थायी समिति बैठकमा आमन्त्रित फ्याक्सन इन्चार्ज शाक्यले आकांक्षी नेताहरुको बारेमा बैठकमा शुरुमा बिफ्रिङ गरेपछि अन्य नेताहरुले सम्भावित विद्यार्थी नेताहरुका बारेमा आ–आफ्नो धारणा राखेका थिए । त्यसपछि प्रचण्डले आफैले नेतृत्व छान्ने जिम्मा लिएका थिए ।
आइतबार बिहान प्रचण्डले आफ्नै निवास खुमलटारमा आकांक्षी नेताहरुलाई सिंहको नाममा सर्वसम्मत बनाएर जान र अन्य विद्यार्थी संगठनबाट बाहिरिने नेताहरुलाई दिने जिम्मेवारीका विषयमा छलफल गरेका छन् ।
क्रान्तिकारीको इतिहासमै पहिलो महिला अध्यक्ष
अखिल क्रान्त्रिकारीको इतिहासमै सिंह पहिलोपटक नेतृत्वमा पुगेकी महिला नेतृ हुन् । यसअगाडि क्रान्तिकारी विद्यार्थी संगठनको नेतृतवमा महिला पुगेका थिएनन् । नेतृत्वका लागि कञ्चन खनाललगायत नेतृहरु पहिला पनि दाबेदार रहे पनि अवसर पाउन सकेका थिएनन् । तर यसपटक अन्य आकांक्षी ५ पुरुष विद्यार्थी नेतालाई पछि पार्दै प्रचण्डको रोजाईमा अध्यक्ष बन्ने मौका पाएकी हुन् । उनी माओवादी केन्द्रमा अर्थमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य जनार्दन शर्मा निकटकी विद्यार्थी नेतृ हुन् ।
अखिल क्रान्तिकारीको अध्यक्षका लागि सुरेन्द्र बस्नेत, तिलक भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा, विजय गौतम पनि आकांक्षी थिए । त्यसमध्ये सिंह, बस्नेत, भण्डारी र अधिकारी मुख्य दाबेदार थिए । सिंहका लागि एमालेको प्रतिस्पर्धी विद्यार्थी संगठनको अध्यक्ष सुनिता बराल निर्वाचित हुनुले पनि नेतृत्व हत्याउन बलियो आधार मिलेको थियो ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा रामकुमारी झाँक्री, नविना लामा र अहिले सुनिता बरालसम्म आइपुग्दा तीन जना महिला विद्यार्थी संगठनको अध्यक्ष भएको तर समावेशीको बढी वकालत गर्ने माओवादी केन्द्रमा महिला नेतृत्वमा कहिले पुग्न नसकेको र अहिले आकांक्षी महिलालाई बनाउनु पर्ने आवाज चर्काे रुपमा उठेको थियो । त्यसमाथि पार्टीभित्र शक्तिशाली प्रभाव जमाउँदै प्रचण्डमाथि प्रेसर दिँदै आएका नेता जर्नादन शर्माको निकट भएकी कारण सिंहलाई अध्यक्ष बन्ने बाटो खुलेको हो ।
१९९ सदस्यीय केन्द्रीय समिति बन्दै
अखिल क्रान्तिकारीको केन्द्रीय समिति १९९ सदस्यीय बन्दै छ । २५ जनाको पदाधिकारीसहितको केन्द्रीय समिति बन्ने गरी पारित भएको विधानअनुसार नयाँ केन्द्रीय समिति चयन हुन लागेको हो । क्रान्तिकारीको गत १४ गतेदेखि सम्मेलन शुरु भएको थियो । प्रचण्डसँगको छलफलपछि शुरु हुने विद्यार्थीको बन्द शत्रले नेतृत्व चयन गर्ने छ । निर्धारित समयभन्दा एक दिन ढिलो सम्मेलन सकिन लागेको हो ।
अध्यक्षमा सिंह बन्ने निश्चत भए अन्य पदाधिकारीको कसरी बन्ने भन्नेमा अहिले छलफल चलिरहेको विद्यार्थी नेताहरुको भनाई छ ।
प्रतिक्रिया