बुधबार, फागुन ७, २०८१

जनकपुर बम काण्डका योजनाकारको सजाय घटाइयो, टकलालाई उन्मुक्ति दिन चलखेल !

मेरोन्यूज २०७८ असोज १८ गते १२:५०

काठमाडौँ । विं.सं. २०६९ साल वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी शक्तिशाली बम विष्फोट भयो । घटनामा ५ जनाको मृत्यु भएका थिए भने ३३ जना घाइते भएका थिए । सोही बम काण्डमा जेल जीवन व्यतित गरिरहेका मुख्य योजनाकार पूर्व राज्यमन्त्री संजय साह (टकला)को जन्म कैदको फैसला उल्टाएको छ ।

Advertisement
IMEnabil

जिल्ला अदालत धनुषाले साहलाई सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालतले ७ वर्षमा सीमित गर्ने फैसला गरेको हो । जिल्ला अदालतको फैसलाविरुद्ध अभियुक्त साहले उच्च अदालत जनकपुरमा गरेको रिटमाथि सुनुवाई सुरु गर्दै आइतबार साँझ न्यायाधीशद्वय धीरबहादुर चन्द र मेश ढकालको संयुक्त इजलासले यस्तो फैसला सुनाएको जनाइएको छ ।

ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दा चलिरहेको साहलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले गरेको जन्मकैदको फैसलालाई ७ वर्षमात्रै सजाय हुने फैसला अदालतले सुनाएको हो । साहमाथि रहेको अर्को मुद्दा कर्तव्य ज्यानमा षड्यन्त्र गरेर घटना गराएको अभियोगमा कसुरदार ठहर गरिएको छ ।

साहको अपराधिक शृङ्खला

२०६९ साल वैशाख १८ गते भएको बम काण्डका मुख्य योजनाकारका रुपमा रहेका साहले बम काण्ड मात्रै नभई अन्य विभिन्न अपराधिक गतिविधिसमेत गरेका थिए । १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चौकमा मिथिला राज्य संघर्ष समितिले पूर्व निर्धारित कार्यक्रमअनुसार सडकमा धर्ना दिई विरोध प्रदर्शन गरिरहेका थियो ।

जिल्ला अदालत धनुषामा रहेको मुद्दाको मिसिलअनुसार, धर्ना कार्यक्रममा रहेका जीवनाथ चौधरीको हत्या गर्ने योजनाअनुसार साहले बम विस्फोट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । चौधरी त्यतिबेला जिल्ला विकास समिति धनुषाका लेखापाल थिए र उनको सञ्जयकुमार साहसँग चर्को दुस्मनी थियो ।

घटनाको अनुसन्धानको दायराबाट टाढै रहेका मुकेशकुमार चौधरी करिव तीन वर्षपछि २०७० साल फागुन १९ गते हतियार सहित पक्राउ परे । उनले बयानका क्रममा रामानन्द चोकमा भएको विस्फोटमा आफ्नो संलग्नता स्वीकार गरे ।

मुकेश चौधरी र सञ्जय साह बीच पटक–पटक फोन सम्पर्क भएको प्रहरी प्रतिवेदनबाट खुलेको थियो । त्यतिबेला तराई टिभीबाट चौधरी र योजनाकार भनिएका साहबीचको टेलिफोन वार्ता नै प्रसारण भएको थियो ।

जिल्ला अदालतले यिनै तथ्यका आधारमा साहलाई दोषी ठहर गरेको हो । साहमाथि बम विस्फोट गराउन मुकेश चौधरी लगायतलाई ५ लाख रुपैयाँ लगायतको रकम दिएको आरोप थियो ।

शान्तिपूर्वक धर्नामा बसेका बेला अचानक शक्तिशाली बम विष्फोटन भएको थियो । विष्फोटनमा परि जनकपुर नगरपालिका १० बस्ने झगरुलाल दास कथबनिया(४०), जनकपुर ८ बस्ने विमल शरण (४०), महोत्तरी बथनाहा ९ तथा हाल जनकपुर बस्ने रंजु देवी झा(४०), जनकपुर ८ बस्ने सुरेश उपाध्याय(४५) र दिपेन्द्र दास(३५) गरी कुल पाँच जनाको ज्यान गएको थियो ।

विष्फोटमा परेर करिब ४० जना घाइते भएका थिए। उक्त बम काण्डमा अन्य विभिन्न अभियूक्तहरुसँगसँगै संजय साहलाई पनि प्रमुख अभियूक्त बनाइएको थियो ।

त्यस्तै ३ जेठ २०६० मा धनुषाको सखुवा महेन्द्रनगरमा हातहतियार देखाई स्थानीय व्यक्तिहरुलाई लुटपाट गर्न खोजेको भन्दै रामजीवनप्रसाद गुप्ताले दिएको जाहेरी पछि संजय साहलाई जिल्ला प्रशासन कार्यालय धनुषाले सजाय र जरिवाना गरेको थियो ।

गुप्ताको जाहेरीमा संजय कुमार साह, उमाशंकर अरगरिया, संतोष कुमार साह, शम्भु यादव, विनोद यादव, रामबाबु भनिने विन्देश्वर साह, राज कुमार पुर्वे, श्याम शर्मा, धर्मेन्द्र पाठक, अनिल भनिने निर्मल कुमार सिंह, ओम प्रकाश यादवलाई प्रतिवादी बनाई हातहतियार तथा खरखजाना र सार्वजनिक अपराधको मुद्दा चलाइएको थियो ।

प्रहरी प्रतिवेदन अनुसार हातहतियार र खुकुरी समेत बोकी हो हल्ला गरी हिँडेको अवस्थामा खान तलासी गर्दा संजय साहको साथबाट खुकुरी थान १, कक भएको नाइन एमएम ११ राउण्ड लेखेको नम्बर १७४० लेखेको पेस्तोल थान १ गोली लोड भएको अवस्था बरामद गरिएको तत्कालीन प्रहरी निरीक्षक मोहन कुमार शेर्पाको प्रतिवेदनमा उल्लेख छ ।

सोही मुद्दामा धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रेवतीराज काफ्लेले ३० अषाढ २०६१ मा संजय साहलाई १ वर्ष ९ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो ।

उक्त फैसलाका विरुद्ध पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गर्दा न्यायाधिशद्वय गिरीराज पौडयाल र भोला प्रसाद खरेलको संयुक्त इजलासले ३० जेठ २०६३ मा जिल्ला प्रशासन कार्यालय धनुषाको फैसलालाई सदर गर्दै सफाइ पाउनु पर्ने पुनरावेदकको निवेदन निरर्थक भएको फैसला गरेको थियो ।

त्यसपछि सोही निर्णय विरुद्ध सर्वोच्च अदालतमा २०६८ सालमा फैसला बाझिएको थियो । सर्वोच्च अदालतका स्थायी न्यायाधिश अवधेष कुमार यादवले पुनरावेदन अदालतको फैसलालाई सदर गरेको थियो भने अस्थायी न्यायाधिश कमल नरायण साहले प्रतिवादी संजय साह निर्दोष रहेको भनी पुनरावेदन अदालतको निर्णय विपरित राय बझाएको थियो । पछि सर्बोच्चले पनि पुनरावेदन अदालतको फैसलालाई नै सदर गरेको थियो ।

प्रतिक्रिया