शुक्रबार, पुष १८, २०८२

सरकारलाई १८ करोड रुपैयाँ नतिर्ने सराफको ‘ट्याक्स हेभन’ मुलुकमा अवैध लगानी

मेरोन्यूज २०७८ असोज १८ गते १४:५४

काठमाडौँ । क्यासिनो रोयल्टी बापत रकम नतिर्ने नेपालका दुई ठूला ‘पाँच तारे’ होटलमा सञ्चालक राधेश्याम सराफ र उनका परिवारले शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिश भर्जिन आइल्याण्ड (ट्याक्स हेभन)मा कम्पनी खोलेर कारोबार गरेको पाइएको छ ।

सराफले नेपालमा बुझाउनु पर्ने रकम भने बुझाएका छैनन् । तर, उनीसहित उनका परिवारले आइसीआइजेको ‘प्यान्डोरा पेपर्स’का गोप्य कागजातले अफशोर कारोबार गरी शंकास्पद कारोबार गरेको खुलासा गरेको छ । उनले क्यासिनो रोयल्टी बापत १८ करोड ११ लाख ८३ हजार २१९ रुपैया बक्यौता भने बुझाएका छैनन् ।

उनी ब्रिटिश भर्जिन आइल्याण्डमा सन् २००० मा स्थापना भएको पिग्नोलो लिमिटेडका लाभार्थी मालिक भएको खुलेको छ । सराफले आफू बस्ने ठेगाना हङकङ उल्लेख गरेका छन् । यो कम्पनी बैंकसँग सम्बन्धित व्यापार गर्ने, बीमा वा पुनर्बीमा कम्पनीसम्बन्धी व्यापार गर्ने, म्युचुअल फण्ड सम्बन्धी व्यवसाय गर्नेलगायत काम गर्ने गरी दर्ता भएको देखिन्छ । तर, सराफले भने क्यासिनो रोयल्टी बापत ११ करोड ८७ लाख ५० हजार साँवा र ब्याज ६ करोड २४ लाख ३३ हजार २१९ गरी जम्मा १८ करोड ११ लाख ८३ हजार २१९ रुपैया बक्यौता बुझाएका छैनन् ।

महालेखा नियन्त्रण कार्यालयअन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहशिलको कार्यालयले सूचना सार्वजनिक गर्दै सराफले क्यासिनो रोयल्टि बापत रकम नबुझाएको खुलाएको हो ।

राधेश्याम उनका छोरा उमेश सराफ र श्रीमती रत्ना सराफले मध्य अमेरिकी मुलुक बेलिजमा सन् २००६ मा द डेभिटा ट्रष्ट नामक कम्पनी खोलेको पाइएको छ । यी तीनै जना यो कम्पनीका लाभार्थी मालिक हुन् ।

उनका अर्का छोरा अरुण सराफले बलिजमै द भरुनिसा ट्रष्ट कम्पनी खोलेका छन् । यो कम्पनी पनि सन् २००६ मै अरुणले पूर्ण एकल स्वामित्वमा खोलेको देखिन्छ । उनका अलावा यो कम्पनीका लाभार्थी मालिक राधेश्याम र उनकी श्रीमती रत्ना छन् ।

द डेभिटा ट्रष्ट र द भरुनिसा ट्रष्टमा राधेश्यामका छोराहरूको लगानी रहेको देखिने कागजातलाई काठमाडौँस्थित भारतीय दूतावासले ‘कागजातहरूमा भएको विवरण तथा सामग्रीको कुनै जिम्मेवारी नलिने’ भन्दै प्रमाणीकरण गरिदिएको फेला परेको छ ।

सराफ नेपालमा पनि होटलका नाममा सरकारी जग्गालाई अनियमित रूपमा कम्पनीको नाममा दर्ता गर्ने, नेपाली स्रोतमाथि अनियमित दोहन गर्ने र गैरकानूनी ढंगले सरकारको शेयर हत्याउने भनेर परिचित छन् ।

मुख्यगरी बौद्धस्थित तारागाउँ रिजेन्सी होटल परियोजना निर्माण गर्ने क्रममा दोब्बरभन्दा बढी लागत देखाएर अनियमितता गरेको आरोप सराफमाथि छ । यो विषयमा संघीय संसद, महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयले समेत अध्ययन गरेर अनियमितता भएको प्रतिवेदन तयार पारेका छन् ।

प्रतिक्रिया