बहुआयामिक कृषि उपजमा सापकोटा परिवारका ३० वर्ष

गलकोट । बागलुङ नगरपालिका–४ ढोडेनीका त्रिलोचन सापकोटाको दैनिकी निकै व्यस्त छ । उनको दैनिकीको काम र व्यस्ततालाई आकलन गर्ने हो भने लामो सूची नै तयार हुन्छ ।
बिहान ५ः०० बजे उठेर गाई, भैँसीको स्याहारसुसार, दूध दोएर खोलापारि सहकारीको संकलन केन्द्रमा पठाउने । घरमा पालिएका माछा, टर्की तथा हाँसलाई दानापानी हालेर उनी सोझै घाँस काट्न भिरमा पुग्छन् । घर नजिकैको खरबारीबाट घाँसको भारीसहित घरमा आएका सापकोटालाई खाना खाने समय व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्छ ।
अठचालीस वर्षीय सापकोटालाई कृषिमा आउन बुवाको प्रेरणा र परिवारको साथ छ । खाना खाएपछि उनी टनेलमा तरकारीको स्याहारसुसारमा लाग्छन् । उनले दैनिकरूपमा उत्पादन भएका माछा, तरकारी, दूधलगायत कृषि उपज सहकारीको दूध संकलन गर्न पुगेको सवारीमा बागलुङ बजार पुग्छन् । सामान्यतया कृषकले तरकारी खेतीमात्रै अथवा पशुपालनमात्रै गर्दै आए पनि उनले कृषि उपजमा बहुआयामिक हिसाबले काम गरेका छन् ।
तीस वर्षदेखि कृषि पेशामा सक्रिय उनले कृषिका अनेक पाटामा अनुभव सँगालेका छन् । उनको कालीगण्डकी पशुपालन तथा कृषि फार्म नौ रोपनी क्षेत्रफलमा फैलिएको छ । उनको फार्ममा अहिले १५० टर्की, ६० हाँस, पोखरीमा १० हजार माछा, पाँच गाई, दूई भैँसी र आठ प्लाष्टिक टनेलमा तरकारी छ ।
“सानैदेखि कृषिमा लगाव थियो, वैदेशिक रोजगारीमा ध्यान गएन, बुवाले गरेको परम्परागत कृषिखेतीलाई विस्तारै आधुनिकतामा ढाले, प्रविधियुक्त कृषि प्रणाली अपनाउँदै आएँ”, कृषक सापकोटाले भने, “ विसं २०७२ देखि यसलाई कृषि तथा पशुपक्षी फार्मका रूपमा विकास गरेँ, अहिले वार्षिक रु १४/१५ लाखको कृषि उपजलाई बजारीकरण गर्दै आएको छु, कारोबारको ४० प्रतिशत खुद नाफा हुन्छ होला, जे होस् सन्तुष्टि छ, परिवारको यसमा ठूलो साथ छ ।”
फार्म सञ्चालनका लागि साढे तीन रोपनी जग्गा आफ्नै छ । अन्य जग्गा वार्षिक ८० हजार भाडा तिरेर कृषि गर्दै आएको उनले बताए । उनले टनेल बाहेकको पाँच रोपनी जग्गामा काउली बन्दाका बिरुवा लगाएका छन् ।
गत असार र साउनमा मात्रै डेढ लाखको गोलभेँडा बिक्री गरेको उनले बताए । बाह्रै महिना मौसमी, बेमौसमी तरकारी तथा फलफूल उत्पादन गर्दै आएको उनको भनाइ छ । “अहिले मसँग दुई हाइटेक टनेल र अन्य फलामे टनेल छन्, त्यसमा थोपा सिँचाइ र मल्चिङ प्रविधिको प्रयोग छ”, उनले भने, “आधुनिक प्रविधिसँगै कृषि उत्पादनमा वृद्धि भएको उहाँको अनुभव छ ।”
उनले एक जनालाई रोजगारी दिएका छन् भने श्रीमती चित्रकुमारी र छोरा सागरले सघाउँदै आएकी छन् । धवलागिरि बहुमुखी क्याम्पसमा अध्ययन गरिरहेका सागरले क्याम्पसको अध्ययन समयपछि कृषि फार्मलाई समय दिने गरेको बताए ।
सापकोटा परिवारले सहकारीमार्फत दूध बिक्री मात्रै गर्दैन् । अन्य किसानलाई समेत दूध उत्पादनमा प्रेरित गर्दै सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको नेतृत्वसमेत गर्दै आएका छन् । सहकारीले अहिले दैनिक २०० लिटर दूध बजार पठाउने गरेको छ ।
सापकोटाले अहिले ३० लिटर दूध दैनिक बजार पठाउने गरेको बताए । तीन वर्षअघिदेखि पाल्न थालेको टर्की, हाँस तथा माछाले पनि उत्पादन दिइराखेका छन् । फार्मबाट माछा प्रतिकिलो ४००, टर्कीको तयारी मासु एक हजार र हाँस जिउँदो प्रतिकिलो ५०० मा बिक्री हुने गरेको छ । रासस
प्रतिक्रिया