सार्वजनिक निर्माणका काम दुई सिफ्टमा गर्ने सरकारको तयारी

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माण कार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई सिफ्टमा काम गर्नु पर्ने शर्त थपिने जानकारी दिएका छन् ।
बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय योजना आयोगसँगको छलफलमा उनले दिनमा एक सिफ्ट मात्र काम गरेर पूँजीगत खर्च बढाउन नसकिने र पूँजीगत खर्च भएन भने आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने भएकाले दुई सिफ्टमा काम गर्नु पर्नेमा जोड दिए । उनले भने, “विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन, रात्रि सिफ्टमा बत्ती बालेर भए पनि काम गर्नुपर्यो, हामीले पनि बेलाबेला नसुतेरै अनुगमन गर्नुपर्यो ।”
निर्माण कम्पनीलाई उसको कार्य क्षमताभन्दा बढी संख्यामा ठेक्का दिएर पनि आयोजनाहरू अलपत्र परेको भन्दै उनले अब यससम्बन्धी कानुनमा सुधार ल्याउनु पर्ने धारणा राखे । मन्त्री शर्माले आयोजना बन्नै नसक्ने गरी न्यून कबोल गरेर ठेक्का हात पार्ने तर काम नगरेर आयोजना लथालिंग पार्ने परिपाटीको न्त्य गरिने बताए ।
बैठकमा मन्त्री शर्माले हाल बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारीसमेत दिए । अर्थ मन्त्रालयका अनुसार धागो उद्योग, कपडा उद्योग, रबर उद्योग, चुरोट कारखानालगायतका बन्द अवस्थाका उद्योग नयाँ ढाँचा बनाएर सञ्चालन गरिने छ ।
यस्तै श्रम सहकारीमार्फत १० करोडसम्मको सार्वजनिक निर्माणको कार्य गर्न पाउने कार्यविधि चाँडै टुंगो लगाएर काम शुरु गरिने उनले बताए । यसबाट देशमा थप पाँच लाख रोजगारी सिर्जना हुने बताइएको छ । उपभोक्ता समितिबाट गर्नुभन्दा श्रम सहकारीबाट यस्तो काम गर्नु संस्थागत हुने र वास्तविक श्रमिकहरु लाभान्वित हुने मन्त्री शर्माको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले निर्माण व्यवसायीको वास्तविक क्षमता जाँचेर मात्र ठेक्का दिने प्रणाली बसाल्नु पर्नेमा जोड दिए । सीमित निर्माण व्यवसायीको हातमा मात्र ७० प्रतिशत आयोजना सुम्पने प्रचलनको अन्त्य नगरेसम्म विकासले गति नलिने उनको धारणा छ ।
उपाध्यक्ष डा पौडेलले मुलुकको राजस्वमा योगदान गर्न नसक्ने सार्वजनिक संस्थानको औचित्यमा प्रश्न उठाए । बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पूँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरु तत्काल सञ्चालन गर्ने गरी काम अघि बढाउनु पर्नेमा जोड दिए ।

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
रूसमाथि इयूको पछिल्लो प्रतिबन्धको प्याकेज रोक्ने हङ्गेरीको चेतावनी
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति
प्रतिक्रिया