घुमघाम
दशैँको विदामा घान्द्रुक घुम्न जाने होइन त ?

काठमाडौँ । हिन्दु धर्मालम्बीहरुको महान चाड दसैँ सुरु भएको छ । यो पर्वमा धेरै मानिसहरु घर पुगेका हुन्छन् । दसैँ मनाउन परिवारका सबै जना जम्मा भएका हुन्छन् ।
तर, विभिन्न कारणले दसैँ मनाउन नपाउने, दशै परिवारसागै घुमघाम गरेर मनाउने रहर बनाएकाहरुलाई काहाँ घुम्न जाने भनेर दुविधा परिरहेको हुनसक्छ । अव दुविधा पाल्नै पदैन ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म धेरै स्थानहरु रमणीय तथा घुम्न लायक ठाउँहरु छन ।
पूर्वमा इलामको चिया बगान कन्यामदेखि पश्चिममा खप्तडसम्म घुम्न लायक ठाउँ चर्चित छन् । कास्की जिल्लाको पोखरा नेपालकै सबैभन्दा बढी पर्यटक पुग्ने स्थानमध्ये एक हो । यहाँ फेवाताल, बेगनास ताल, ताल बाराही, साराङकोट, चमेरो गुफालगायत विभिन्न स्थानहरु घुम्न लायक ठाउँहरु छन् ।
कास्की जिल्लाकै अर्को घुम्न लायक ठाउँ हो– घान्द्रुक । घान्दु्रक गाउँ पोखराबाट उत्तरी क्षेत्रमा पर्दछ । अन्नपूर्ण पद यात्रा मार्गमा पर्ने यो ठाउँ विदेशी पर्यटकका लागि परिचित भइसकेको छ ।

घान्दु्रक, आफ्नै किसिमको संस्कृतिक, भौगोलिक, पौराणिक दृष्टिले अति सुन्दर मानिन्छ । यहाँ हेर्न र घुम्न लायक धेरै ठाउँहरु रहेका छन् । जसमा तौजीवराह, पोज नेबवराह, कोट डाँडा, गुम्बा, ङयोवराह ताल आदि रहेका छन् । जैविक विविधताले भरिपूर्ण घान्द्रुकमा सुनाखरी, जंगली फूलहरू, गुराँसका विभिन्न प्रजाति फूल्ने मौसम आफैमा मनमोहक छ ।
यहाँबाट विभिन्न हिम शृङ्खला, सूर्योदय हेर्न पाइन्छ । सुन्दर ग्रामीण बस्ती, फरक संस्कृति, मनोरम भूगोलको काखमा बस्न पाउनु सबैका लागि आनन्ददायी महसुस हुन्छ । घान्द्रुकको प्रकृतिसँग जति रमाए पनि मन अघाउँदैन । स्वदेशीसँगै धेरै विदेशी पर्यटकहरुका लागि घुम्ने र रमाइलो गर्ने मुख्य केन्द्र बन्दै गएको छ ।
होमस्टेबाट बिहानै निस्कँदा चराका आवजसँगै माछापुछ्रे, हिमचुली, अन्नपूर्ण हिमाल अवलोकन गर्न समेत यहीवाट पाइन्छ । नजिकै हिमालको काखमा बसेको अनुभव गराउने घान्द्रुक आफैमा लोभ लाग्दो छ । ढुंगाले छाएका घरहरु घान्द्रुकबासीको परम्परागत पहिचान हो । ढुंगा छापेर बनाइएका बाटो र सिँढीहरुले यहाँको शोभा बढाएको छ ।
कसरी जान ?
काठमाडौँबाट घान्द्रुक जाँदा मुग्लिन, आबुखैरनी हुँदै दमौली हुँदा कास्की जिल्लाको पोखरामा पुग्न सकिन्छ । काठमाडौँदेखि करिब २०१ किलोमिटर हिँडेपछि पोखरा पुगेसँगै केही समय त्यहाँको मनोरम दृष्य अवलोकन गरी आराम गर्न सकिन्छ । त्यहाँबाट पुनः २४ किलोमिटर उत्तरपश्चिम हिँडेपछि घान्द्रुक पुगिन्छ ।
यस्तै, नेपालको पश्चिमी क्षेत्रबाट घान्द्रुक आउन चाहने मानिसहरूले रुपन्देहीबाट नै सिद्धबाबा केराबारी हुँदै पोखरा पुग्न सकिन्छ । त्यहाँबाट उत्तर पश्चिमतर्फ २४ किलोमिटरको यात्रा तय गरेपछि घान्द्रुक प्रवेश गरिन्छ ।
बस्ने सुविधा
अहिले घान्द्रुकमा साना ठूला गरी झण्डै सय होटल छन । होटलहरु आकर्षण ढंगले सजाइएका छन् । सबै होटल शहर बजारका सुविधा सम्पन्न होटलभन्दा कम छैनन् । यी होटलहरुमा विभिन्न प्रकारका नेपालीदेखि विदेशी खानाको स्वाद पाइन्छ ।
कति लाग्छ खर्च ?
घान्द्रुक हिमाली क्षेत्र हो । जहाँ वर्षभरि चिसो हुने गर्छ । त्यहाँ घुम्न जाँदा न्यानो कपडा अनिवार्य हुने छ । यहाँ ५ दिन घुम्न जानका लागि १० हजारदेखि १५ हजार रुपैयाँसम्म लाग्ने गर्दछ । (एकदिन होमस्टेमा बसेर साँझ बिहानको खाना र खाजाको खर्च ८ सय रुपैयाँ लाग्दछ ।)
प्रतिक्रिया