चाड पर्वका बेला किसानलाई धान भित्र्याउने चटारो
सुदूरपश्चिम । बडादसैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यतिबेला किसानलाई खेतमा पाकेर पहेँलपुर भएको धान बाली काटेर भित्र्याउने चटारो बढेको छ । मुख्य चाड बडादसैँ मनाउँदै धान बाली पनि भित्र्याउन थालिएको किसानले बताएका छन् ।
धनगढी उपमहानगरपालिका–१३ का किसान नारायण चौधरीले खेतमा पाकेर झुलिसकेको धान बाली वर्षा भएमा बिग्रिने डरले हतारहतारमा धान भित्र्याउनुपरेको बाध्यता सुनाउछन्। “दसैँ पनि खुशीका साथ मनाइँदै छ”, उनले भने, “दिनदिनै बदली भएर देखिने खराब मौसमका कारण धान बाली पनि भित्र्याउनै पर्ने बाध्यता देखिएको छ ।”
अधिकांश किसान यति बेला धान काट्ने र काटेको धानलाई थ्रेसिङ गर्ने काममा व्यस्त देखिन्छन् । कोरोनाको जोखिम नहटिसकेको भए पनि मास्क र स्यानिटाइजर प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेको भने देखिँदैन ।
यद्यपि कोरोनाबाट जोगिन एकआपसमा भौतिक दूरी कायम गरेर बाली भित्र्याउने गरिएको र कतिपयले खोप पनि पाइसकेकाले अब कोरोनाको त्यति डर नहुने कतिपय किसानको तर्क पनि छ । धनगढीकै अर्का किसान डबल खातीले भने, “स्वास्थ्य सुरक्षालाई ध्यान दिई भीडभाड नहुने गरी धान काटिरहेकाले कोरोनाको त्यति डर छैन ।”
किसानको मुख्य आम्दानी स्रोतका रूपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् । अधिकांश क्षेत्रफलको जग्गामा असार दोस्रो हप्तासम्म रोपिएको धान पाकेर बाला झुलिसकेको छ । प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका सात जिल्लामा आपूर्ति हुने गरेको छ ।

कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ । सबैभन्दा बढी तराइको जिल्ला कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धान खेती हुने गरेको छ ।
यस्तै पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा यो खेती हुने गरेको छ । बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन हुन्छ ।
पछिल्ला वर्षमा धान बालीको उत्पादन र उत्पादकत्व बढ्दै गएको जनाइएको छ । यस वर्ष बालीका लागि अनुकूल वर्षा भएकाले धान बालीको उत्पादन वृद्धि हुने आकलन गरिएको छ । यद्यपि धानबालीमा प्रयोग गर्नुपर्ने रासायनिक मलको अभावका साथै केही क्षेत्रमा फड्के र गबारो किराको समस्या देखिएको कृषकको भनाइ छ ।
खेत खनजोत गर्ने, बाली काट्ने र झार्ने जस्ता काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषकलाई धान खेती गर्न पहिलेको जस्तो असजिलो छैन । आधुनिक कृषि औजारको प्रयोगले खेती गर्दा समयको बचत हुनुका साथै परिश्रमसमेत कम गर्नुपर्ने हुँदा पहिलेको भन्दा निकै सहज भएको छ ।
“कृषिको काममा आधुनिक कृषि मेसिनको प्रयोग बढ्दा निकै सहज भएको छ”, स्थानीय किसान गोपीबहादुर चौधरीले भने, “समयमै मलखाद, बिउबीजन, सिँचाइको सुविधा नहुने समस्या हुँदा भने खेती गर्न समस्या झेल्नुपरेको छ ।”
रासायनिक मलखाद अभाव हुने समस्या रहे पनि यसको जथाभावी प्रयोगले भने माटो बिग्रिँदै गएको किसानको अनुभव छ । बाली लगाउँदा गोबर (कम्पोष्ट) मलको प्रयोग घट्दै जाँदा यसको विकल्पमा प्रयोग गर्ने गरिएको रासायनिक मलले माटो बिग्रिन थालेको अर्का किसान खातीको अनुभव छ ।
बडादसैँ र तिहार जस्ता पर्वमा नयाँ धानको चामल पिँधेर बनाइने पिठोबाट न्वागी, माणा, सिरौला, ढिक्री जस्ता स्थानीय खानाका परिकार पकाएर खाने प्रचलन रहेकाले पनि किसानलाई धान काट्नै पर्ने चटारो पनि देखिएको हो ।
धान, गहुँलगायत बाली काट्नुअघि नयाँ बाला काटेर आआफ्नो घरको दैलोमा र कूलदेवताको मन्दिरमा गोबरले टाँसेर पूजा गर्ने प्रचलन पनि सुदूरपश्चिम प्रदेशमा छ ।
गाईको गोबरले घरको दैलोमा टाँस्ने कामलाई ‘देलीबालो’ लगाउने भनिन्छ । देलीबालो लगाउँदा कूलदेवता खुशी हुने, अन्न उत्पादन बढ्ने र भण्डारण गरिएको बाली सुरक्षित हुने जनविश्वास छ ।

















जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया