मंगलबार, फागुन ६, २०८१

सुदूरपश्चिम प्रदेशका ६ जिल्ला सम्पर्कविहीन

मेरोन्यूज २०७८ कार्तिक २ गते १४:३२

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ ।

Advertisement
IMEnabil

सञ्चार सम्पर्क विच्छेद हुँदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण संकलन गर्न नसकिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले जानकारी दिए ।

विद्युत् प्राधिकरणका अनुसार वर्षासँगै आएको हावाहुरीले पहाडी जिल्लाका विभिन्न स्थानमा विद्युत् पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ । नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख नामाकर न्यौपानेले पहाडी जिल्लामा विद्युत् नभएकाले नेपाल टेलिकमको टेलिफोन सेवा पनि पूर्ण रुपमा अवरुद्ध भएको जानकारी दिए ।

यसैगरी सौर्य ऊर्जामा आधारित बझाङका टेलिफोन टावरमा राखिएको सोलारमा चार्ज नहुँदा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । लगातारको वर्षाले जिल्लामा बाढी पहिरोको जोखिम रहेको र केही भइहाले पनि अत्यावश्यक कामका लागि खबर गर्न नेटवर्क नहुँदा सास्ती भएको खप्तडछान्ना गाउँपालिका ४ का ईश्वर रोकायाले बताए ।

नेपाल टेलिकम जिल्ला शाखाका निमित्त प्रमुख बमबहादुर सिंहले टेलिफोनका टावरमा विद्युत् सेवा नपुगेको र सोलार प्यानलबाट चार्ज नहुँदा लामो समय पानी परेको र बादल लागेको दिन नेटवर्क अवरुद्ध हुने गरेको बताए । सौर्य ऊर्जाको भरमा सञ्चालित बझाङका एफएम रेडियोको प्रसारण पनि अवरुद्ध भएको छ ।

जिल्लामा रहेका ९ वटै एफएम रेडियोको रिले स्टेशनमा सौर्य ऊर्जा जडान गरिएको छ । रिले स्टेशनमा घाम नलाग्दा ब्याट्री चार्ज हुन नपाएकाले सोमबार साँझबाट सबै रेडियोको नियमित प्रसारण अवरुद्ध हुँदा सूचना प्रवाहमा समस्या भएको जयपृथ्वी एफएमका अध्यक्ष प्रताप ओलीले जानकारी दिए ।

आइतबार साँझदेखि जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका काम ठप्प भएका छन् । प्रादेशिक विद्युत् प्राधिकरण अत्तरियाका अनुसार राष्ट्रिय प्रसारण लाइन पुगेका ६ पहाडी जिल्लामा विद्युत् अवरुद्ध भएको छ ।

हावाहुरी तथा अविरल वर्षाले अत्तरिया चमेलिया प्रसारण लाइनमा समस्या देखिदा विद्युत् सेवा अवरुद्ध भएको हो ।

प्रतिक्रिया