प्रधानमन्त्री सुदूरपश्चिम जाँदैं, यस्ता छन् कार्यतालिका
सुदूरपश्चिमको बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षण पछि देउवा आज धनगढीमै बास बस्ने

काठमाडौं । वेमौसमी वर्षापछिको वाढी पहिरोले आक्रान्त सुदूरपश्चिमको बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि प्रधानमन्त्री शेरवहादुर देउवा आज सुदूरपश्चिम जाने भएका छन् । अहिले केही बेरमा उनी काठमाडौंबाट सुर्खेत हुँदै डोटी जाने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीसँगको टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेतात्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर हुनेछन्।
डोटीमा बाढीपहिरोबाट हुन गएको क्षतिको निरीक्षणपछि टोलीले आजै बझाङ हुँदै बैतडीको ढुंगाड सम्म जाने गरी कार्यक्रम तय गरेको छ ।
त्यहाँबाट प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका र जोगबुढा नगरपालिका हुँदै टोली कञ्चनपुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यसपछि भने प्रधानमन्त्रीको टोली आज धनगढीमै बास बस्ने कार्यतालिका छ।
शुक्रबार प्रधानमन्त्री देउवाले कैलारी गाउँपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाको दक्षिणी भेगको निरीक्षण गर्ने छन् । त्यसपछि मात्रै प्रधानमन्त्री काठमाडौं फर्किने गरी कार्यक्रम बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया