मंगलबार, फागुन ६, २०८१

१० बुँदेले फेरि एमालेभित्र नयाँ तरंग, चुलियो असन्तुष्टि

ओलीलाई भीम रावल र घनश्याम भुसालको जवाफ : १० बुँदे सहमति एकतारे नभई पार्टी एकताका लागि बजाइएको ११ तारे विगुल

मेरोन्यूज २०७८ कार्तिक ४ गते १०:२३

काठमाडौं । एमालेभित्रको एकता जोगाउन गरिएको १० बुँदे सहमतिप्रति अध्यक्ष केपी ओलीले नै अव पनि एकतारे नबजाईराख्न भनेपछि भीम रावल र घनश्याम भुसालले ओलीलाई जवाफ फर्काएका छन् ।

Advertisement
IMEnabil

अध्यक्ष ओलीले बुधबार बागमती प्रदेश आयोजक समितिको बैठकलाई सम्वोधन गदै पार्टीभित्र अनेकता होइन, एकता आवश्यक रहेको भन्दै अव पनि १० बुँदेको एकतारे नबजाउन भनेपछि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले असन्तुष्टि जनाएका हुन् ।

नेकपा एमालेभित्रको एकताका लागि माधव नेपाल समुहलाई एमालेभित्रै समेटन कार्यदल गठन गरि १० बुादे सहमति गरिएको थियो । त्यसलाई एमालेले सस्थागत समेत गरिसकेको छ । तर ओलीले अव त्यस्तो १० बुँदेको एकतारे मात्र नबजाईरहन भनेपछि फेरि एमालेमा असन्तुष्टि बढेको हो ।

उपाध्यक्ष रावलले पार्टीमा गरिएको १० बुँदे समझदारी पार्टी एकता बचाएर देशहितका लागि बजाइएको विगुल भएको बताएका छन्।

उनले ओलीलाई जवाफ फर्काउादै १० बुँदे सहमति एकतारे नभई पार्टी एकताका लागि बजाइएको ११ तारे विगुल भएको बताएका हुन् ।

‘१० बुँदे सहमति एकतारे होइन, पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ,’ सामाजिक सन्जालमा ट्वीट गर्दै रावलले भनेका छन्।

अध्यक्ष ओलीले माधव नेपाल पार्टीमै बस्छन् भनेर त्यसबेला १० बुँदे गरिएको तर माधव नेपाल नै नरहेपछि त्यसको अव अर्थ नहुने आसयको अभिब्यक्ति दिएका थिए । अध्यक्ष ओलीले गरेको टिप्पणीको भिडिओ राख्दै उपमहासचिव घनश्याम भुसालले पनि असन्तुष्टि ओकलेका छन् ।

ओलीको अभिब्यक्ति भद्दा भौतिकवाद भन्दै भुसालले एउटा संस्कृतको श्लोक पनि राखेका छन् – यावत् जीवेत् सुखम् जीवेत्। ऋणं कृत्वा घृतं पिबेत्।भस्मिभूतस्य देहस्य पुनरागमनं कुतः।

आचार्य चार्वाकको यो श्लोकको अर्थ हुन्छ- जति जिउँछौ सुखसँग जिउने गर। ऋण गरेर भए पनि घिउ पिउने गर। चितामा भष्म हुने यो शरीर हो, पुनर्जन्म कसरी हुन्छ ?

ओलीले के भनेका थिए ?

हिजो कताको के को यो १० बुँदे केजाति केजाति यो एकतारे बजाएर … गोविन्द दश बुँदे, दश बुँदे, दश बुँदे‘ यो पनि धेरै गरिरहनु आवश्यक छैन।

एकठाउँ मिलेर एकतावद्ध भएर अगाडि बढौं न खुरूक्क। अब कति बजाउने १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ, ट्यान्ड्याङ, माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो।

अब के दश बुँदे, दश बुँदेरु हाम्रो पार्टी, हामीले बनाएको पार्टी। अरू साथीहरूले बाटो बिराउनुभयो होला। फर्केर आउने काम गर्ने सिद्दियो नि त।

हामीले भनेका छौं- माधव नेपालको कुरो बेग्लै हो। माधव नेपालसँग झुक्किएर गएका साथीहरू, बाटो बिराएका पनि फर्क भनिराखेका छौं हामी। कुनै भेदभाव गर्दैनौं, आऊ काम गरौं।

योग्यताअनुसार प्रदेश कमिटी र योग्यताअनुसार केन्द्रमा बस्ने र योग्यताअनुसार जहाँ राख्न मिल्छ त्यहाँ राख्ने कुनै आग्रह छैन। तर माधव नेपाललाई नो इन्ट्री।

के थियो १० बुँदेमा ?

गत असारमा एमालेभित्रको विवाद समाधानका लागि कार्यदल बनाएर एमालेले १० बुँदे सहमति भएको थियो । त्यस सहमतिलाई एमालेले सस्थागत रुपमा स्वीकार गरेको छ । यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता नेताहरुले जनाएका थिए । त्यसपछि माधव नेपालले एमाले विभाजन गरेर गएपनि भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, रघुजी पन्त, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतका नेताहरु एमालेभित्रै रहेका थिए ।

स्थायी समितिमा आवाज उठाइने


रावल, भुसाललगायत नेताले अध्यक्ष ओलीकै तर्फबाट १० बुादे सहमतिप्रति आएको धारणाका विषयमा आजको स्थायी कमिटि बैठकमा आवाज उठाउने तयारी भएको छ । ओलीले रावल, भुसाल लगायतलाई पेलेरै जाने नीति बनाएपछि उनीहरुले पनि आज अपरान्ह ३ बजे बस्न लागेको स्थायी कमिटि बैठकमा आवाज उठाउन लागेका हुन् ।

उनीहरुले विधान महाधिवेशनमा हलवाट समुह नेता छान्नुपर्नेमा सिधै माथी अध्यक्षको गोजीबाट नाम निकालेर समुह नेता छान्दा समेत चुप लागेर बसेपनि अहिले अध्यक्षले नै १० बुादे सहमति प्रति नकारात्मक धारणा सार्वजनिक गरेपछि बैठकमै आवाज उठाउन लागेका हुन् । अष्टलक्ष्मी शाक्यले त कात्तिक ६ मा गर्न लागेको वडा अधिवेशन र ९ कात्तिकमा गर्न लागेको पालिका अधिवेशनप्रति नै पनि असन्तुष्टि पोखेकी थिइन् । हतारिएर अधिवेशन गर्न खोजिएको भन्दै शाक्यले ओलीकै सामुन्ने असन्तुष्टि ब्यक्त गरेकी थिइन् ।


ओलीले रावल, शाक्य पक्षका नेताहरुलाई वडाबाटै कमजोर बनाउने रणनीति अनुसार पेलेर जाने नीति लिएको भन्दै यो पक्ष असन्तुष्ट छ ।

प्रतिक्रिया