बिहीबार, जेठ १, २०८२

डोटीमा बाढीबाट १६ जनाको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक ४ गते १६:४२

काठमाडौँ । वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आजसम्ममा डोटीमा १६ जनाको मृत्यु भएको छ ।

जिल्लाको जोरायल गाउँपालिकामा बाढीपहिरोमा परी घाइते भएका १५ वर्षीय पुष्कर कामीको उपचारका क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कामीको मृत्यु भएसँगै जिल्लामा बाढीपहिराबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । मंगलबार र बुधबार मात्रै जिल्लामा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १४ पुगेको थियो ।

आज एक जनाको उपचारका क्रममा मृत्यु भएको र सायल गाउँपालिका ४ मा घर भत्किएर पुरिएका एक जनाको शव भेटिएपछि मृत्यु हुनेको संख्या १६ पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टका अनुसार डोटीमा मात्रै बाढीपहिरोका कारण १६ जनाको ज्यान गइसकेको छ । यसैगरी बाढीपहिरोका कारण १२ जना घाइते तथा ३५ चौपायाको मृत्यु, २५ घाइते र २० बेपत्ता भएका छन् ।

विस्थापित घरधुरी संख्या ११०, विस्थापित नागरिक ५ सय जना तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया