कांग्रेस महाधिवेशन : १३ जिल्लाको वडा अधिवेशन अन्योलमा
पार्टी मुख्य सचिव भन्छन् : तिहारअघि नै अधिवेशन हुन्छ

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील विवादका कारण वडा अधिवेशन नभएका १३ जिल्लाको अधिवेशन तिहारअघि गर्ने जनाएको छ । ती जिल्लामा गत भदौँ २५ गते कांग्रेस निवार्चन समितिले नयाँ संशोधित निवार्चन कार्य तालिका सार्वजनिक गरेको थियो । २० जिल्लामा वडा अधिवेशन गर्न बाँकी रहँदा निर्वाचन समितिले तालिका संशोधन गरेको हो ।
उक्त संशोधित कार्य तालिकाअनुसार असोज ५ गतेदेखि वडा अधिवेशन गर्नु पर्ने थियो । सोही बमोजिम ७ जिल्लाले असोज ५ गतेदेखि ९ गतेसम्म वडा अधिवेशन गरे । तर, बाँकी १३ जिल्लामा कार्य तालिका संशोधन भएको डेढ महिना बित्न लाग्दासमेत तल्लो तहको अधिवेशन हुन नसकेको हो ।
पार्टीका मुख्य सचिव कृष्ण पौडेलले १३ जिल्लामध्ये रौतहटबाहेक सबैमा क्रियाशील विवाद समाधान भएकाले पालिका तहसम्मको अधिवेशन तिहारअघि गर्ने तयारी रहेको बताए । उनले भने, ‘रौतहटको क्रियाशील विवाद पनि छिटै टुंगो लाग्छ ।’
प्रदेश २ का ८ जिल्लामध्ये रौतहटमा क्रियाशील सदस्य विवाद समाधान भएको छैन । जसले तिहारअघि हुनेमा कांग्रेस नेताहरुमा आशंका देखिएको छ । १३ जिल्लामा डोल्पा, रसुवा, बाँके, सुर्खेत, कैलाली, पर्सा बारा, रौतहट, सलार्ही, सप्तरी, महोत्तरी र सिराह रहेका छन् । यी जिल्लामध्ये सबैभन्दा बढी प्रदेश २ का जिल्लाहरूमा फर्जी क्रियाशीलको विवाद बढी छ ।
क्रियाशील विवाद समाधान समितिले दशैँ तिहारको बीचमा १३ जिल्लामा पालिका तहसम्मको अधिवेशन सक्ने काम गरिरहेको दाबी गर्दै आएको छ । निर्वाचन समितिले पनि १३ जिल्लामा एकसाथ जिल्ला निर्वाचन अधिकृत तोक्ने निर्णय गर्दै क्रियाशील सदस्यहरूको अन्तिम सूची पर्खेर बसेको समिति सदस्य गोपालकृष्ण घिमिरे जानकारी दिए ।
दशैँअघि २१ हिमाली जिल्लामा जिल्ला तहको अधिवेशन सम्पन्न गर्ने भनेकोमा जम्मा १२ जिल्लामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय कार्य समितिको बैठक बसेर अधिवेशनको मिति सम्बन्धमा निर्णय गर्ने तयारी गरेका छन् ।
पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले बाँकी रहेको जिल्लामा वडा तहकै अधिवेशन हुन नसकेका जिल्लाहरूको बारेमा निर्णय गर्न केही दिनभित्र बैठक बसेर थप कहिले हुने भनेर निचोडमा पुग्ने बताए । ५७ जिल्लामा वडा र नगरपालिका अधिवेशन सकिएको छ ।
प्रतिक्रिया