पौडेलले भने– न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप गर्दैन

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने बताएका छन् ।
मंगलबार सिंहदरवारमा भएको काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा वरिष्ठ नेता पौडेलले न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट गरे ।
उनले न्यायालयमा असहज परिस्थिति बनेको भन्दै न्यायालयको आन्तरिक मामिलामा प्रतिक्रिया दिन नमिल्ने उल्लेख गरे ।
‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिति बनेको छ,’ पौडेलले भने, ‘न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन ।’
कांग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीशको बारेमा पार्टीलाई चिन्ता रहेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्दा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आफ्ना जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लागेसँगै न्यायालयमा अहिले प्रधानन्यायाधीश राणाको बारेमा चर्को बहस चलिरहेको छ ।
सर्वोच्च अदालतका न्यायधीशहरुले समेत प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गरिरहेका छन ।
प्रतिक्रिया