मंगलबार, फागुन ६, २०८१

पुस्तक अंश

कतारका बन्दी गृहमा नेपालीहरू भेट्दा…

मोहम्मद रमजान अली मियाँ २०७८ कार्तिक १३ गते १२:०४

सन् २००७, अप्रिलतिरको कुरा हो ।

Advertisement
IMEnabil

म त्यतिबेला दोहास्थित नेपाली राजदूतावासमा कार्यरत थिएँ । बिहान सबेरै एकजना सेवाग्राही मेरो अफिस कोठामा हस्याङफस्याङ गर्दै भित्र छिरे । उनी थिए– स्याङ्जा राङ्खोलाका रन्जान मियाँ ।

मियाँलाई एकजना कतारी स्पोन्सरले साउदी पु¥याई त्यहाँको भेडीगोठमा भेडाबाख्रा चराउन लगाइदिएछन् । सयौँ भेडा र उँटको रेखदेख गर्ने काममा उनी एक्लै परेछन् र निकै आत्तिएछन् । पाँच महिना एकदमै कष्टले काटेछन् । छैटौँ महिनामा कफिलले पैसा पठाउन कतार लिएर आएपछि तलब दिन खोज्दा तलब छाडेर उनी त्यहँबाट भागेर राजदूतावास आई रुँदै उनले सबै समस्या मलाई बताए ।

मैले कफिललाई फोन गरेर नम्र भाषमा हार्दिकताका साथ समस्या समाधानका लागि आग्रह गरेँ । उनले भने, “तलब दिन लागेकै त हो नि । तर, रन्जान आफैँ भागे ।”

कफिलले उनकै पैसामा टिकट काटेर रन्जानलाई नेपाल पठाइदिन राजी भए । राजदूतावासमा आएर उनले टिकट उपलब्ध गराए र उनको बक्यौता तलब पनि दिए । भोलिपल्ट उनले ‘एक्जिट पर्मिट’ (खुरुज) पनि बनाइदिए । कर्मचारीको बोलीवचन र व्यवहारमा हार्दिकता मिसियो भने अप्ठ्यारोमा परेकाहरुको सजिलै उद्धार गर्न सकिन्छ भन्ने एउटा उदाहरण हो यो ।

०००
भेडीगोठमा काम गर्न पक्कै पनि दुःख हुन्छ । झन् मध्यपूर्वमा त महिनौँसम्म पनि काम गरेको ठाउमा मालिक आउँदैनन् । प्रचण्ड गर्मीमा बस्ने घर पनि टहरोजस्तो हुन्छ । कम्तीमा कतारमा फिल्डमा काम गर्दा राति आएर बस्ने ठाउँमा एसी त हुन्छ । मरुभूमिमा त त्यो पनि हुँदैन । त्यस्तो ठाउमा सात–आठ सय रियाल मासिक तलबमा काम गर्छन् नेपालीहरु । तर, त्यही काम नेपालमा गर्न लगाउदा ५० हजार रुपैयाँ दिए पनि गर्दैनन् ।

कतारमा सन् २००७ तिर म विभिन्न समयमा दोहास्थित दोहा अन्तर्राष्ट्रिय विमानस्थल जाने गर्दथेँ । त्यतिबेला अहिलेको हमद अन्तर्राष्ट्रिय विमानस्थलको नाम दोहा अन्तर्राष्ट्रिय विमानस्थल थियो । यो विमानस्थल मतारकदीम र टोयोटा सिग्नलको बीच भागमा अवस्थित छ । कम्पनीले समयमा लिन नआउँदा कैयौँ श्रमिकहरु विमानस्थलमा लामो समयसम्म कुर्दै बसेको देखिन्थ्यो यस विमानस्थलमा । कोहीकोही त हप्तौँसम्म विमानस्थलको आगमन कक्षमा बास बस्न बाध्य भएका हुन्थे । यसका थुप्रै कारणहरु होलान् । तर, प्रमुख कारण भनेको भिसा पठाउने र मान्छे पठाउने बीचको लेनदेन नमिल्नु नै हुने गर्दथ्यो ।

कतारका नेपालीहरुको समस्या समाधान गर्ने प्रयासमा म दोहास्थित नेपाली राजदूतावासमा कार्यरत रहेदेखि नै क्रियाशील हुँदै आएको छु । खाडी देशहरुमा घरेलु श्रमिकको स्पोन्सरले एक देशबाट अर्को देशमा कामदार लैजान पाउँछ । कामदारको ‘रिइन्ट्री भिसा’ हुन्छ जुन उसले साथमा लिएर जान्छ । कतारी मालिकले आफ्नो कामदारलाई सबै प्रक्रिया पूरा गरेपछि आफ्नो छिमेकी मुलुकमा रहेको घर–जग्गामा लगेर काम गराउन पाउँछ ।

मानिसको ठेगाना परिवर्तन हुने बित्तिक्कै समस्याको आरम्भ हुन्छ । मैले देखेका धेरै समस्यामध्ये एउटा समस्या यो पनि हो । विशेषगरी मजरा तथा भेडीगोठहरुमा काम गर्ने श्रमिकहरुमा र घरेलु कामदारहरुले यो समस्या भोग्नुपरेको देखेको छु । तसर्थ, आफ्नो अवस्थाबारे श्रमिकले सर्वप्रथम आफ्नो परिवार र त्यसपछि सम्बन्धित आफ्नो नियोगलाई समयमै जानकारी गराए यस्तो झन्झट बेहोर्नु पर्दैन ।

अर्को कुरा कतारमा नेपाली श्रमिकको मुख्य समस्या भनेकै काममा दक्षताको अभाव हो । नेपाली श्रमिक दक्ष छन् भन्ने कुरामा कतारीहरुलाई पूर्ण विश्वास छैन । स्वदेशमै दिइने अभिमुखीकरण तालिमले खासै परिवर्तन ल्याउन सकेको छैन । नेपालका रोजगारदाता कम्पनीहरुबीच पनि आपसमै राम्रो सम्बन्ध छैन । धेरै पैसा खर्च गरेर र ठूलो सपना बुनेर कतार पुगेको श्रमिकको सपना त्यतिबेला चकनाचुर हुन्छ जतिबेला मेनपावर कम्पनी र पठाउने एजेण्टले गरेका वाचामा आकाश जमिनको फरक देखिन्छ । अन्ततः अनगिन्ती समस्याले उसलाई फुत्किनै नसक्ने गरी घेर्छ ।

कतार भित्रिने अधिकांश नेपालीहरुमा विगत लामो समयदेखि धेरै कमी–कमजोरीहरु छन् भन्ने कुरा बेलाबखतमा उठिरहेका हुन्छन् । जीवनशैली, बानी र व्यवहारमा पनि समस्या छन् । कतार पुगेका नेपालीहरु न आधारभूत कानुन र रहनसहनबारे नै जानकारी राख्छन् न त आफ्नो काममा दक्षता । विगतमा अनाधिकृत रुपमा नेपालबाट श्रमिक पठाउने कार्यमा कतिसम्म लापरबाही गरिन्थ्यो भने स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण व्यक्तिलाई पनि योग्य देखाएर नक्कली कागजातका आधारमा पठाइन्थ्यो ।

तिनै व्यक्तिलाई तीन महिनापछि नेपाल फर्काएर मेडिकल सेन्टरमाथि उजुरी हाल्न लगाइन्थ्यो । सामान्य कानुनी जानकारीको अभावमा नेपालबाट बैदेशिक रोजगारका निम्ति भाङदेखि गाँजासम्म, मादक पदार्थ बनाउने मर्चादेखि विभिन्न प्रतिबन्धित औषधि पनि साथमा लगिरहेका भेटिन्थे । कसैको भरिया बनेर प्रतिबन्धित बस्तु बोकेर जाँदा कतारको बन्दिगृहको पाहुना बनेका दर्जनौँ घटना अझै पनि मेरो अगाडि छन् ।

अनि त्यस्ता व्यक्तिहरु विमानस्थलमै पक्राउ परेका दर्जनौँ घटनाहरु आज पनि सुन्न र पढ्न पाइन्छ । अर्काको पासपोर्टमा आफ्नो फोटो टाँसेर नक्कली राहदानी बनाइएका सयौँ कहानीहरु सुन्ने कानहरु आज पनि कतारमा भेटिन्छन् । समस्याको सुरmवात यस्तैयस्तै कुराहरुबाट भइदिन्छ ।

मलाई सबैभन्दा के कुरामा दुःख लाग्यो भने ती निर्दोष नेपालीहरुलाई सरोकारवालाहरुले यी विषयहरुका बारेमा किन प्रारम्भिक जानकारी दिदैनन् ? नेपालका कुरियर कम्पनीहरुले खाडीमा के पठाउन हुन्छ, के हुँदैन भन्ने कुराको जानकारी सेवाग्राहीलाई दिन आवश्यक छ । कतिले अश्लील क्रियाकलापका सिडी बोकेर गइरहेका हुन्छन् । नेपालको अध्यागमन र सुरक्षा निकायले के हेरिरहेको हुन्छ होला ? व्यक्तिगत मेलमिलापमा यस्ता काम नभएका होलान् त ? यस्तैयस्तै कार्यले गर्दा नेपाली श्रमिकहरु आफ्नो गन्तव्यमा पुग्नुअघि नै जटिल समस्यामा पर्ने गर्छन् ।

यो समस्या सरकारको होइन ? म्यानपावर एजेन्सीको होइन ? बैदेशिक रोजगारसँग जोडिएका विभिन्न निकायहरुको होइन ? भनेको काम गर्न नसक्नु, भाषाको कमजोरी, सम्बन्धित ठाउको आधारभूत कानुनबारे जानकारी नहुनु, जथाभावी मदिरा सेवन, बाटो काट्ने तरिकाको जानकारी नहुनुजस्ता अनेक समस्याले नेपाली श्रमिकलाई बारम्बार पिरोल्ने गरेको छ । बाटो काट्ने सामान्य तरिका थाहा नभएकै कारण र सवारी दुर्घटनामा परेर विदेशमा धेरै नेपालीहरुको मृत्यु भएको छ । कम्पनीले दिएको सुरक्षा सामग्री प्रयोग नगरेकै कारणले पनि कतिपय दुर्घटनामा नेपालीले अनाहकमा ज्यान गुमाउनुपरेको छ ।

०००
समस्या मात्र होइन रमाइला सम्भावना पनि छन् कतारमा । लमजुङका ज्याउल मियाँ कपाल काट्ने काममा कतार गएका रहेछन् । कपाल काट्ने क्रममा कतारी सुल्तानको टाउकोको मसाज गरिदिएछन् । ती कतारीलाई उनको काम साह्रै मन परेछ । अहिले त्यही कारण उनी कहिले बेलायतमा हुन्छन्, कहिले इटालीमा, कहिले अमेरिकामा हुन्छन् । यो थियो सीपको कमाल र उपलब्धि ।

कतारमा झन्डै दुई सय पचासको हाराहारीमा नेपाली इन्जिनियरहरु कार्यरत छन् । केही अपवाद छाड्ने हो भने उनीहरु किन सफल हुन सकेका छैनन् ? किनभने डिग्री भए पनि कतिपयमा कामको अनुभव हु“दैन । कामको अनुभव भए पनि प्राविधिक दक्षताको अभाव हुन्छ । प्राविधिक शिक्षाको समस्या विद्यमान छ ।

हामीकहाँ परिमाण त छ तर चाहे जस्तो गुणस्तर छैन । त्यसैले नेपालले फिलिपिन्सले जस्तै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्छ । अहिलेको समयको माग हो यो । यस विषयमा सम्बन्धित सबै निकायको ध्यान जान आवश्यक छ । पर्याप्त सीपको कमी, स्थानीय कानुन र स्थलगत विषयको जानकारीको कमी नै कतारवासी नेपालीको प्रगतिको मार्गमा बाधक बनेर उभिएको छ ।
०००

सन् २०१३ मा घटेको घटना यस्तो थियोः–

बाग्लुङका टेकन अधिकारीले राति निकै मदिरा पिएछन् । बिहान ट्रेलर (गाडी) लिएर कतै जानुपर्ने रहेछ । बिहान गाडी लिएर जाँदा पनि नसैमा रहेछन् । अत्यधिक गति भएका कारण गाडी अनियन्त्रित भएको थियो । बिहान पाँच बजेतिर स्कुल बससहितका केही गाडी लाइन लागिरहेका रहेछन् । उनले त्यहीँको एउटा गाडीलाई ठक्कर दिएछन् । त्यसपछि एउटा गाडीले अर्कोलाई हान्यो, अर्कोले अर्कोलाई हान्यो । यसरी पाँचवटा गाडी पूर्णरुपमा ध्वस्त भए । त्यसमा उनी आफ पनि घाइते भए । तीनजना ड्राइभर त पेटभन्दा तलको भाग नचल्ने गरी सख्त घाइते हुन पुगेछन् ।

सबैलाई तत्कालै अस्पताल लगियो । त्यहाँ चेकजाँच गर्दा टेकनले मादक पदार्थ पिएको प्रमाणित भयो । अदालतमा पनि उनले आफूले पिएको कुरा स्वीकार गरे । उनलाई केही समयका लागि जेल चलान गरियो र ध्वस्त भएका गाडीको केही क्षतिपूर्ति कार्यरत कम्पनी र उनले पनि बेहोर्नुपर्ने भयो । एक–डेढ वर्ष त कामै गर्न सकेनन् । पछि उनी ठीक भए । ठीक भएपछि उनलाई काम गरेर पैसा तिर्न कम्पनीले आग्रह ग¥यो ।

लामो समयसम्म अड्डा–अदालत तथा नेपाली राजदूतावासको चक्कर लगाउँदै अन्त्यमा उनी कतारको राष्ट्रिय मानवअधिकार समितिको कार्यालय आइपुगे जहाँ म कार्यरत थिएँ । सबै कुरा बुझेपछि म र कान्तिपुर कतार व्युरोका प्रमुख सञ्चारकर्मी होम कार्कीले उनलाई फैसला कार्यान्वयन विभागको जिम्मा लगायौँ ।

विभागले उनको कागज जाँच–पड्ताल पछि उनी माथि मुद्दा भएका कारण तत्काल स्वदेश फर्कन नमिल्ने बतायो । मैले अदालतको फैसला कार्यान्वयन प्रमुखसँग कुरा गरेँ । टेकनको समस्या राखे पश्चात उनको मुद्दा फुकुवा भयो । हामीले स्वदेश फर्काउन लगेका टेकन अधिकारी त्यहाँ पुगेपछि उल्टै मुद्दा हाल्छु, क्षतिपूर्ति पाउनुपर्छ भन्न थाले जुनकुरा सम्भव थिएन । उनलाई प्रहरीको जिम्मा लगाएर हामी फर्कियौँ । एक–डेढ महिनापछि उनी नेपाल फर्किएछन् ।

त्यो एकदमै जटिल दुर्घटना थियो । ठूलो धनजनको क्षति भएको थियो । नेपालीलाई हेर्ने दृष्टिकोण नरम भएकाले उनले त्यति कठोर सजाय भोग्नुपरेन ।

समस्यामा नेपाली
विगतमा झैं हाल पनि म बेलाबखत विभिन्न बन्दीगृहहरुमा पुग्छु । नेपालीहरुको टिठलाग्दो अनुहार देखेर मेरो मन भतभति पोल्छ । ससाना कसूरमा बन्दीगृहमा परेका नेपालीले टुलुटुलु हेर्दा म आफैलाई नरमाइलो महसुस हुन्छ । कुराकानीको क्रममा त्यस्ता व्यक्तिहरु नरमाइला कुरा गर्छन् । अनि छातीभरि पीडा बोकेर म त्यहाँबाट फर्कन्छु ।

कतारको बन्दीगृहमा कोही आफ्नो कसुरको सजाय भोगिरहेका छन् त कोही फसाइएकाले वा अर्काको लहैलहैमा लागेकाले कैदीको जीवन व्यतीत गरिरहेका छन् । विगतका दिनहरुको कुरा गर्ने हो भने बन्दीगृहभित्रका अधिकांश नेपाली सहाराविहीन हुन्थे ।

कतारमा जघन्य अपराध गरेर थुनामा परेका नेपाली भने मैले कमै मात्रामा भेटेको छु । हुन त हत्या अभियोगमा परेका नेपाली पनि छन् कतारी जेलमा । स्याङ्जाका कुशल कार्की आफ्नै नेपाली साथी ईर्साद अन्सारीलाई रडले हिर्काएर मारेको अभियोगमा कतारी जेलमा छन् भने एक कतारी नागरिक उमैर मोहम्मद उमैर अल नुअ‍ैमी अल रमदानीको हत्या गरेको ठहरिँदै औरही–१, महोत्तरीका अनिल चौधरीलाई केही समयअघि स्थानीय अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो ।

विभिन्न कारणले कतिपय नेपाली कतारको बन्दीगृहमा परेका हुन् । विभिन्न समयमा झैझगडा गर्ने, उपद्रो मच्चाउने, जुवातास खेल्ने–खेलाउने र कानुनद्वारा प्रतिवन्धित कार्यमा संलग्न रहेको कारण धेरै नेपालीले कतारबाट डिपोर्ट हुनु परेको छ । विगतमा कतारको जेलमा रहेका नेपालीको एउटै गुनासो हुने गर्दथ्यो, “अरm सबैका राजदूतावासका प्रतिनिधि आ–आफ्ना नागरिकलाई भेट्न, उनीहरुको कानुनी लडाइँ लड्ने प्रबन्ध मिलाउन आउँछन् । तर, हाम्रो राजदूतावासबाट भेट्नसमेत कोही आउँदैनन् ।”

त्यस्तै उनीहरुको अर्को गुनासो हुने गर्दथ्यो, “हाम्रो पी आर ओ (मन्दुब) गैर–नेपाली छ । हामीले बोलेको केही बुझ्दैन । मन्दुब भनेको हामीलाई जोड्ने माध्यम (दोभाषे) हो । त्यस्तो व्यक्ति नेपाली हुनुपर्छ । हाम्रो भावना बुझ्ने हुनुपर्छ । हाम्रो दुःख बुझ्ने हुनुपर्छ । हाम्रो सहयोगी हुनुपर्छ ।”

नेपाली मन्दुब नहुनु र विदेशी मन्दुब हुनु यो कतार र सिङ्गो खाडीका नेपालीहरुले वर्षाैंदेखि भोग्दै आएको विकराल समस्या हो र यसका लागि अरु कोही नभएर हाम्रै राज्य र सम्बन्धित निकायहरु जिम्मेवार छन् । नेपालीसँग जोडिएका समस्या सहज रुपमा समाधान गर्ने विकल्प भनेको कुनै कारणले मुद्दा–मामिलामा परेका नेपालीको मन्दुब अरबी, अङ्ग्रेजी र नेपाली भाषामा दक्ष व्यक्ति हुनु हो । तर यसमा पनि समस्या छ । कतार वा खाडी राष्ट्रमा नेपाली मन्दुब नै पाइदैनन् जो तीनवटै भाषाका जानकार होऊन् । नेपाली नियोगले नेपाली मन्दुबका लागि कतारमा समय–समयमा विज्ञापन गरिरहन्छ । विज्ञापन गरे पनि कतारमा नेपाली मन्दुब पाउन त्यति सहज छैन । यसका विभिन्न कारण छन् ।

यो समस्याको अर्को समाधान भनेको नेपालमै मन्दुबका लागि विज्ञापन गर्नु हो । राज्यको लगानीमा नेपालमा धेरै मदरसाहरु चलिरहेका छन् । राज्यले आफैँ उत्पादन गर्न सक्दैन त यस्ता मन्दुबहरु ? कतारलाई अहिले पनि हजारौँ नेपाली मन्दुबको आवश्यकता छ । नेपालले आवश्यक मात्रामा मन्दुब उत्पादन गर्न सकेको भए त्यसको प्रत्यक्ष लाभ राज्यले पाउँथ्यो ।

छिमेकी मुलुकले अरबी भाषामा विशेष जोड दिएका कारण कतारका विभिन्न उच्च निकाय, मन्त्रालय तथा बहुराष्ट्रिय कम्पनीहरुमा उनीहरुकै देशका नागरिक मन्दुबको हैसियतमा कार्यरत रही राज्यलाई टेवा पुर्‍याइरहेका छन् । हामीले पनि अरबी भाषाको विकास र प्रवद्र्धन एवम् उपयोगितालाई मध्यनजर गर्न सक्ने हो भने कतारका उच्च तहमा मन्दुबहरु पठाएर ठूलै लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको छ । कुनै पनि निकाय वा कम्पनीमा मन्दुबको ठूलै र प्रभावकारी भूमिका हुने गर्दछ ।

विगतमा कतारको बन्दीगृहमा रहेका नेपालीहरुले यसप्रकारका समस्याहरु भोग्दै आए पनि अहिले आएर राजदूतावासका प्रतिनिधिहरुले बन्दीगृह निरीक्षणको कार्यलाई व्यवस्थित गर्दै निरन्तर रुपमा बन्दीगृह अवलोकन गरिदिनाले नेपालीहरुले ठूलै राहत पाएको बताउँछन् । मन्दुब भनेको दोभाषे व्यक्ति भए पनि यसको भूमिका एउटा मध्यस्तकर्ता र सहजकर्ताको जस्तै हुने गदर्छ । दैनिक कम्पनी सञ्चालन गर्न कम्पनीलाई व्यवस्थित गर्र्न मन्दुबको भूमिका महङ्खवपूर्ण रहन्छ ।

बैङ्क कार्डदेखि हुकुमी र स्पोन्सरसिप कार्ड मन्दुबकै हातमा हुन्छ । एक प्रकारले पूरै कम्पनी नै उसको अधीनमा हुन्छ भन्दा फरक नपर्ला । तर यसमा हाम्रो सरोकारवाला निकायको ध्यान किन नगएको होला ? त्यहाँको भाषा र कतारलाई बुझ्ने नेपालीको उच्च माग छ । तर हामी त्यो आवश्यकता पूर्ति गर्नै सकिरहेका छैनौँ । राज्यले नेपालमा रहेका मदरसाहरुमा अरबी भाषा पठन–पाठनलाई विशेष प्राथमिकतामा राख्दै यहाँबाट जनशक्ति उत्पादन गर्न सकेमा यसबाट ठूलै लाभ लिनसक्ने देखेको छु मैले कतारमा । विश्वका दर्जनौ देशहरुमा अरबी भाषा बोल्ने गरिन्छ । तर, अधिकांश कतार भित्रिएका नेपालीहरुमा भाषाको ज्ञान र जानकारी कम भएको हुँदा समस्यामा पर्ने गरेको मैले देखेको छु, भोगेको छु । तसर्थ राज्य यस विषयमा गम्भीर हुनुपर्छ ।

घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको मियाँको पुस्तक ‘मैले देखेको कतार’ यसै कात्तिक १५ गते मंगलबारदेखि सार्वजनिक हुँदैछ ।

प्रतिक्रिया